वन्यजन्तुमा विभिन्न रोगको संक्रमण देखिने गरे पनि त्यसको विषयमा विस्तृत अध्ययन हुन नसकेको वन्यजन्तु चिकित्सकहरूले बताएका छन्।
टिबी, स्वाइनफ्लू, बर्डफ्लू, पिपिआर, खोरेत नेपालका वन्यजन्तुमा पनि देखिएका रोग हुन्।
महामारीको रूपमा फैलिएका सार्स, कोरोना, इबोलाका भाइरस पनि वन्यजन्तुबाटै फैलिएको पाइन्छ। तर यस्ता रोगको कारण, फैलावट, उपचारजस्ता विषयमा नेपालमा विस्तृत अध्ययन हुन नसकेको चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ वन्यजन्तु चिकित्सक डा.विजयकुमार श्रेष्ठ बताउँछन्।
‘बिरामी भएको अवस्थामा विभिन्न परीक्षण गर्ने, मरेको अवस्थामा पोष्टमर्टम गर्ने गरिन्छ। तर रोगको बारेमा थाहा भइसकेपछि अब त्यसको असर कस्तो पर्नसक्छ, यसलाई फैलन नदिन के गर्नेजस्ता विषयमा काम हुन सकेको छैन,’ डा.श्रेष्ठ भन्छन्, ‘स्रोतको अभावका कारण वन्यजन्तुमा लागेको रोग मान्छेमा पो फैलिरहेको छ कि, मान्छे वा घरपालुवा जनावरबाट वन्यजन्तुमा फैलिएको छ कि भन्ने विषयमा अध्ययन नै हुन सकेको छैन।’
चितवन गाइड एसोसिएसन मेघौली–घडगाई उप–समितिले मेघौलीस्थित होटल बाराही जंगल लजमा नेचर गाइड, सामुदायिक वनका पदाधिकारी, होटल तथा थारु सामुदायिक होमस्टे सञ्चालकहरूसँग गरेको ‘वन्यजन्तुमा लाग्ने रोग र कसरी उपचार तथा उद्धार गर्ने’ विषयमा एक दिने कार्यशालामा डा.श्रेष्ठले समस्या निम्त्याउन सक्ने रोगको विषयमा राष्ट्रिय रूपमै नीति निर्माण गरी बजेट छुट्टाएर अध्ययन हुनुपर्ने बताए।
विश्व स्वास्थ्य संगठनले नै मान्छेमा लाग्ने करिब ६५ प्रतिशत रोग पशुबाट सरिरहेको उल्लेख गरेको जानकारी गराउँदै श्रेष्ठले यो अवस्थामा सुधार ल्याउन मानव, वन्यजन्तु र वातावरण स्वास्थ्यलाई समान रूपले सोच्नुपर्ने बताए।
‘२ दशक यताका ठूला महामारीका कारण धेरै संख्यामा मान्छे मरे। यसमा वन्यजन्तुसँगको सम्बन्धको भूमिका कतै न कतै भेटिने गरेको छ। सार्स, कोरोना, स्वाइनफ्लू, बर्डफ्लू जस्ता रोगको उत्पत्ति वन्यजन्तुबाटै भएको र बिस्तारै मान्छेमा सरेको अध्ययनले देखाएको छ,’ उनी भन्छन्, ‘नेपाल वन्यजन्तुमा धनी देश हो। यस्तो जोखिम यहाँ पनि हुनसक्छ। त्यसैले हामीले व्याक्टेरियाको उत्पत्ति र फैलावटको विषयमा अध्ययन गर्ने प्रणालीको विकास गर्नैपर्छ।’
केही वर्षअघि चितवनमा हात्तीमा टिबी रोगको संक्रमण फैलिएको थियो। हात्तीबाट माउतेमा समेत रोग सरेको भेटिएको थियो। अहिले यो समस्या घटेको छ। वन नजिकको बस्तीमा स्याल, ब्वाँसो, जंगली कुकुर, न्याउरीमुसा लगायतका कारण रेबिज फैलिने जोखिम धेरै रहेको डा.श्रेष्ठले बताए।
स्वाइन फ्लूका कारण मान्छेले पालेका बंगुरहरू मरेको समयमा जंगली सुंगुरहरू मरेको, गाईमा खोरेत रोगको संक्रमण देखिएको बेलामा वन्यजन्तुमा पनि समस्या देखिएको, बाख्रा, भेडामा धेरै देखिएको पिपिआर नामको रोग पनि चित्तल लगायतका वन्यजन्तुमा भेटिएको उनले बताए। यसपालि गाईमा देखिएको लम्पी स्किनको संक्रमण पनि बिस्तारै वन्यजन्तुसम्म पुग्न सक्ने उनी बताउँछन्।
‘यहाँ साइबेरियाबाट उडेर चराहरू आउँछन्। उनीहरूले पनि रोग लिएर आएका हुनसक्छन्। यस विषयमा कुनै अध्ययन नै भएको छैन,’ डा.श्रेष्ठले भने, ‘यहाँ अहिलेसम्म संक्रामक महामारी नै त देखिएको छैन तर रोगका कारण वन्यजन्तु मरिरहेका छन्। बिरामी भएर मरेपछि रोग फैलिएको तथ्य पनि भेटिएको छैन। अध्ययन गर्नुपर्छ भनेर हामीले पटक–पटक भनेका छौं तर हुन सकेको छैन।’
राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका वन्यजन्तु चिकित्सक डा.अमिर षडौलाले पनि वन्यजन्तुमा देखिएका रोगको विस्तृत रूपमा अध्ययन गर्नुपर्ने बताए।
वन्यजन्तुको अवस्था बिग्रिएको अवस्थामा उद्धारका लागि समुदाय, नेचर गाइडहरूको पनि सहयोग आवश्यक पर्ने उनले बताए।
‘नियमित रूपमा जंगल जाने नेचर गाइडहरूलाई वन्यजन्तुको अवस्थाको विषयमा बढी जानकारी हुनुपर्छ। उहाँहरूले बिरामी भएका वन्यजन्तुको बारेमा जति छिटो सम्बन्धित निकायमा खबर पुर्याउनुहुन्छ त्यति छिटो उपचार गर्न सकिन्छ,’ उनले भने।
बाराही जंगल लजका अपरेसन म्यानेजर सुवास गुरूङले वन्यजन्तुप्रतिको उत्तरदायित्व सरकारी निकायले मात्रै नभएर सरोकारवाला सबै निकाय तथा स्थानीयवासीले पनि लिनुपर्ने बताउँछन्।
वन्यजन्तु जोगाउने, विपद्मा पर्दा उद्धार गर्नेजस्ता विषयमा सबै चनाखो भए संरक्षण प्रभावकारी हुने उनले बताए।
चितवन गाइड एसोसिएसन मेघौली–घडगाई उप–समितिका अध्यक्ष मनेष लिम्बू नेपालमा रहेका दुर्लभ वन्यजन्तुको संरक्षणका लागि उनीहरूको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने बताउँछन्।
‘विदेशीहरू यहाँका वन्यजन्तु हेर्न धेरै पैसा खर्च गरेर आउँछन्। यसलाई कायम राख्न वन्यजन्तुलाई जोगाइराख्नुपर्छ। यसमा नेचर गाइडहरूको पनि महत्वपूर्ण भूमिका हुन्छ,’ लिम्बूले भने, ‘त्यसैले हामीले यस विषयमा सरकारी निकायलाई घचघच्याउनेदेखि समुदायलाई सचेत बनाउने कार्यक्रमहरू गर्दै आएका छौं।’
यो संस्थाले गत वर्ष यही समयमा सर्पको संरक्षण र उद्धारको विषयमा गाइडहरूका लागि क्षमता अभिवृद्धिको तालिम दिएको थियो।
यस वर्षको चेतनामूलक कार्यक्रम गर्न बाराही जंगल लज, मेघौली थारु होमस्टे, नेपाल टाइगर ट्रष्ट, राधाकृष्ण सामुदायिक वन, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहा लगायतका संस्थाले सहयोग गरेको नेचर गाइड एसोसिएसन चितवनका सदस्य बद्री अर्यालले जानकारी दिए।