धनगढीको स्वस्तिक अस्पतालले बिरामीको मृत्यु हुनुमा गल्ती भएको स्वीकार गर्दै आफन्तलाई क्षतिपूर्ति दिनेसहित डाक्टरलाई कारबाही गर्ने तीन बुँदे सहमति गरेको छ।
अपरेसन गर्दा त्रुटि हुँदा सोमबार सो अस्पतालमा उपचारका लागि आएका कञ्चनपुरका एक पुरूषको मृत्यु भएपछि अस्पतालले आफन्तसित तीन बुँदे सहमति गरेको हो।
शनिबार बिहान कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरी पत्थरीको उपचार गराउन धनगढी आएका थिए।
शल्यक्रिया गराउनका लागि चटकपुरमा रहेको स्वस्तिक कार्डियो अस्पतालमा उनी भर्ना भएका थिए। उनको बायाँ किड्नीमा ११ एमएम र ९ एमएम गरी २ वटा पत्थरीको समस्या देखिएको उनका आफन्तले बताए। यस्तै दायाँ किड्नीमा साढे ९ एमएमको पत्थरी थियो। सो अस्पतालमा डाक्टर जोनस तिवारीले शल्यक्रिया गरेका थिए।
त्यस दिन अपरेसन सफल भएको डाक्टरले भनेका थिए। सोही दिन बेलुका ऐजनलालको पेट दुख्न थाल्यो। दुखेको ठाउँमा सुनिएको पनि थियो। मृतक बिरामीका आफन्त रमेश चौधरीका अनुसार त्यसपछि डाक्टरले रगतको आवश्यकता भएको भन्दै व्यवस्था गर्न भनेका थिए।
अपरेसनका क्रममा किड्नीबाट रगत बग्न नरोकिएपछि समस्या आयो। डाक्टरले मिर्गौला झिक्नुपर्ने भने। बिरामी बाँच्ने भए किड्नी झिक्न पनि आफूहरू तयार भएको उनले बताए।
‘रगत धेरै बग्न थालेपछि चिरफार गरेर हेर्नुपर्छ भने, डाक्टर भनेको भगवान हो जसरी पनि बचाउनु होस् हामीले भन्यौं, किड्नी झिकेपछि अपरेसन सफल भयो बाँच्नुहुन्छ, अब केही जोखिम छैन, जोखिमबाट मुक्त भयो डाक्टरले भने, केही समयपछि त बिरामीको मृत्यु भयो,’ उनले भने।
त्यसपछि डाक्टरले किड्नी निकाल्न दोस्रो शल्यक्रिया गरेको उनले बताए। दोस्रो शल्यक्रिया पनि सफल भएको डाक्टरले दाबी गरे पनि बिरामीको सोमबार मृत्यु भयो।
मृतकका आफन्तले डाक्टरको लापरबाहीका कारण घटना भएको आरोप लगाएर आन्दोलन सुरू गरे। उनीहरूले अपरेसनमा संलग्न डाक्टरलाई कारबाहीसहित क्षतिपूर्तिको माग गरेका थिए।
सोमबार दिउँसो उनीहरूले अस्पताल अगाडि प्रदर्शन र सडक पनि बन्द गराएका थिए।
घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने, उपचारमा संलग्न चिकित्सकलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित मृतकका आफन्त, अस्पताल प्रशासन र कैलाली जिल्ला प्रशासनबीच छलफल भएको थियो।
मृतकका भतिज राजकुमार दहितका अनुसार अस्पतालका अध्यक्ष महेश जोशीले बिरामीको पत्थरीको अपरेसन गर्दा त्रुटि हुन पुगेको स्वीकार गरेका छन्।
‘अस्पतालका अध्यक्षले अपरेसन गर्दाखेरि त्रुटि हुँदा नशा काटियो, त्यसपछि रक्तस्राव भयो त्यो रोक्न सकेनौं, त्यसपछि किड्नी झिक्नुपर्याे, किड्नी झिक्दा पनि त्रुटि भयो भनेर यस्तो घटना भएको स्वीकार गर्नुभएको छ,’ उनले भने।
अस्पतालकै कमजोरीका कारण बिरामीले ज्यान गुमाएकाले राहतस्वरूप अस्पतालसँग क्षतिपूर्तिको माग गरेको उनले बताए।
ऐजनलाल गाउँका भलमन्सा थिए। उनी किसान थिए। उनको कमाइले धानको परिवार मृत्युपछि बिचल्ली हुने भएपछि राहत माग गर्नुपरेको आफन्तको भनाइ छ।
‘घरमा पैसा कमाउने व्यक्ति नहुने भएपछि हामीले अस्पतालबाट राहत स्वरूपमा क्षतिपूर्तिको माग राखेका हौं, हामी गरिब किसान हुँ, आन्दोलन गरिरहन, न्यायको लागि लडिरहन पनि सक्दैनौं, धेरै दिन आन्दोलन गरे राहत पनि पाइँदैन भन्ने सुन्यौं, बच्चाको भविष्यका लागि राहत मागेका हौं, पहिलो किस्ता १० र दोस्रो किस्ता १२ गरी तीन दिनभित्र पैसा दिने भन्ने अस्पतालले सहमति गरेको छ,’ उनले भने।
राजकुमारका अनुसार अस्पतालले सोमबार साँझ तीन बुदे सहमतिपछि बल्ल आफन्तले शव बुझेका थिए।
मृतक ऐजनलाल चौधरीका एमबिबिएस अध्ययनरत छोरा ज्योतिप्रकाश चौधरीको पढाइ खर्च अस्पतालले व्यहोर्ने सहमति भएको छ।
मृतकका २ छोरीहरूको विवाह खर्च र लालनपालन अस्पतालले ब्यहोर्ने र उपचारमा लापरबाही गर्ने डाक्टर तिवारीलाई कारबाहीका लागि छानबिन गर्ने सहमति भएको छ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले मृतक आफन्तले गरेको मागअनुसार सहमति भएको बताए।
सोपछि आफन्तले शव बुझेर सोमबार साँझ नै सेती प्रादेशिक अस्पतालमा पोष्ट मार्टम गरिएको राजकुमार दहितले जानकारी दिए।
मंगलबार चौधरीको विधिवत रूपमा अन्त्येष्टि गरिएको उनले जानकारी दिए।
यस्तै, घटनाको छानबिन समिति गठन गरेर प्रतिवेदन तयार पारिने र सो प्रतिवेदनमा उल्लेख भएको कुरा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने अस्पतालले मृतकका आफन्तलाई भनेको छ।