शनिबार बिहान हामी पुग्दा क्षेत्रपुरमा रहेको रातो घर सुनसान थियो। घरको माथिल्लो तल्लामा हामीलाई पर्खिरहेकी थिइन्, ९० वर्षीया गौरीदेवी प्रधान।
आज नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला जन्मिएको दिन हो।
यो रातो घर विपीले असाध्यै मन पराउने घर हो। चितवन आउँदा, पूर्वी वा पश्चिम नेपालतर्फ जाँदा विपी जिल्लाका धेरै कार्यकर्ताका घर छाडेर सधैं यही घरमा बस्थे।यहीँ बसेर नेताहरूसँग गोप्य छलफल गर्थे, पञ्चायतविरुद्ध रणनीति बनाउँथे।
बिपी कोइरालाले चितवनमा बिताएका पलहरुको विषयमा जान्न हामीले गौरीदेवीसँग समय लिएका थियौं।
कपिलवस्तुको तौलिहवामा जन्मिएकी गौरीदेवी प्रधानको विवाह २००६ सालमा बन्दिपुरका श्यामकृष्ण प्रधानसँग भएको थियो। त्यसअघि नै विपीसँग श्यामकृष्णको राम्रो सम्बन्ध थियो।
२०१० सालतिरबाट चितवनमा बस्ती बस्न थाल्यो। पहाडी क्षेत्रबाट बसाइँ सरेर चितवन आउने क्रम सुरू भयो। ठोरीबाट सामान ल्याएर बन्दिपुरमा व्यापार गर्ने परिवारहरू नारायणी नदीको नजिकै बस्न थालेका थिए।
त्यही मेसोमा २०१४ सालमा श्यामकृष्णको परिवार पनि चितवन झर्यो। प्रधान परिवारले सुरूमा अहिलेको भृकुटी चोक नजिकै घर बनाएको थियो।
श्यामकृष्णको २०६९ पुस २६ गते निधन भयो। उनलाई नेपाली कांग्रेसले प्रजातन्त्रका सेनानीको सम्मान दिएको छ। पार्टीका लागि अहोरात्र खटेपनि श्यामकृष्णले कहिल्यै पद मागेनन्। श्यामकृष्णले २००७ सालको क्रान्तिमा तनहुँमा भूपु सेनाहरूलाई एकीकृत गर्ने काम गरेका थिए। दमौली चौकी आक्रमण गर्ने नेतृत्व श्यामकृष्णले नै गरेका थिए। कांग्रेसले जनसरकार बनाउँदा उनलाई तनहुँको गृहमन्त्री बनाएको थियो।
गौरीदेवी भने नेपाल महिला संघ चितवनको संस्थापक सभापति बनिन्। तनहुँमा महिलाहरूलाई जागरूक बनाएर संघको संगठन बिस्तार गरिन्। क्रान्तिकारी स्वभावकी उनी पार्टीका हरेक गतिविधिमा सहभागी बन्थिन्।
जेठा छोरा सुभाष प्रधानले नेविसंघ र कान्छा छोरा सुवोध प्रधानले तरूण दलमा सकृय राजनीति गरेका थिए। सुभाष अमृत साइन्स कलेजको पहिलो स्ववियु सभापति हुन्। सुवोध अहिले नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय महासचिव हुन्।
‘हामी पुरै परिवार राजनीतिमा थियौं। पार्टीका लागि आर्थिक, नैतिक धेरै सहयोग गर्यौं। तर अहिलेका कांग्रेसमा हाम्रो योगदानको कुनै मूल्यांकन छैन। त्यसैले घर सुनसान छ,’ गौरीदेवीले भनिन्, ‘म वृद्ध भएँ। छोराहरू पार्टीका लागि केही गर्छु भन्थे। तर उनीहरू अघि बढ्न पाएनन्।’
श्यामकृष्णले २०२३ सालमा क्षेत्रपुर अर्को घर बनाए। यो घरको माथिल्लो तल्लाको एउटा कोठा विपी कोइरालालाई छुट्याइएको थियो।अहिले पनि त्यस्तै त्यो कोठा उस्तै छ।
गौरीदेवीकाअनुसार यो कोठामा आजसम्म विपी कोइरालाबाहेक अरू सुतेका छैनन्। एउटा पलङ, टेबल र दराज रहेको कोठामा विपीले धेरै दिन/रात बिताएको गौरीदेवी सम्झन्छिन्। गौरीदेवीकाअनुसार विपी कोइराला चितवन आउँदा यो रातो घरको आँगन कार्यकर्ताले भरिन्थ्यो। सानो तिनो आमसभा आँगनमै हुन्थ्यो। घरभित्र नेताहरूको गोप्य बैठक हुन्थे। पञ्चायतविरूद्ध रणनीति बन्थे, पर्चाहरू तयार हुन्थे।
‘विपी बाबु कहिले खुसुक्क आइपुग्नुहुन्थ्यो। सुरक्षाका कारणले होला त्यसो गर्नुभएको। जानकारी गराएर आउँदा सबैलाई थाहा हुन्थ्यो। प्रहरीहरू गेट बाहिर ठूलो संख्यामा हुन्थे तर घरभित्र पस्न सक्दैनथे। विपी यहाँ बसेर के गर्दैछन् भन्ने कुरा उनीहरुलाई खुब चासोको विषय हुन्थ्यो,’ उनले भनिन्, ‘यही कारण देखाएर प्रशासन हामीलाई दुःख दिन खोज्थ्यो। तर हामी कहिल्यै डराएनौं। विपी बाबु हाम्रो घरमा आउन कहिल्यै छाड्नुभएन।’
विपीले आफ्ना भाई गिरिजाप्रसादलाई पनि पनि चितवन आउँदा यही घरमा बस्न भनेका रहेछन्। उनी पनि यहीँ बस्न थाले। पार्टीका नेताहरू कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलाई पनि मन पर्ने घर थियो यो। पछि अहिलेका पार्टी सभापति शेरबहादुर देउवा, राष्ट्रपति रामचन्द्र पौडेल पनि आएर बस्न थाले। तर उनीहरू आउँदा कहिल्यै पनि विपी बसेको कोठामा बसेनन्। उनीहरूका लागि प्रधान परिवारले छुट्टै कोठाको व्यवस्था मिलाउँथ्यो।
‘विपीसँग कहिलेकाहीँ शेरबहादुर देउवा पनि आउँथे। उनी त भर्खरको केटा थिए। सुभाषसँग जिस्किन्थे। विपी बाबु सामान्य खाना रूचाउनुहुन्थ्यो। दाल, भात, तरकारी, दही, दूध भए पुग्थ्यो। अरू नेताहरुलाई धेरै कुरा चाहिन्थ्यो,’ गौरीले सुनाइन्, ‘कोही लगातार चुरोट खान्थे। कोही ढोकैबाट मलाई त रक्सी पनि चाहिन्छ है भन्थे।’
गौरीकी कान्छी छोरी नम्रताले विपीको कपडामा आइरन दलिदिन्थन्। ‘खान कम खाने, कपडा चाहि राम्रो लगाएर चिटिक्क परेर हिँड्ने स्वभाव उहाँको थियो,’ उनले सुनाइन्।
विपी चितवन आउँदा होस् वा चितवनको बाटो भएर अन्यत्र जाँदा गाडीमा तेल हाल्ने जिम्मा श्यामकृष्ण कै थियो। श्यामकृष्ण गाडीका सौखिन थिए। उनको ३१ नम्बरको ल्याण्ड रोबर गाडी थियो। लाइसेन्स नम्बर ५ भएका उनी विपीलाई लिन आफ्नो गाडी लिएर विमानस्थल पुग्थे। कार्यक्रम, सभा, सम्मेलन सकिएपछि विपी सिधै प्रधान निवासमा पुग्थे।
‘बुबाले विपी कोइरालालाई राखेर चलाउनुभएको त्यो गाडी धेरै पटक झडपमा पर्यो। अहिलेका जस्तो गाडी भएको भए कहाँ बाँकी रहन्थ्यो र। त्यो गाडीले विपीलाई जोगाएर घरसम्म पुर्याउँथ्यो,’ छोरा सुबोध सम्झन्छन्।
२०३६ सालमा जनमत संग्रह गराउन सिडिओ बनेर चितवन आएका सूर्यबहादुर सेनले पनि त्यसताका विपी कोइराला क्षेत्रपुरस्थित श्यामकृष्ण प्रधानको घरमा बस्ने गरेको बताए।
‘त्यतिखेर प्रशासनले विपीको रणनीति के छ भनेर बुझ्न खोज्नु सामान्य विषय थियो। तर विपीको व्यक्तित्वका कारण प्रशासन पनि झट्ट कारबाहीमा जान हच्किन्थ्यो,’ केही वर्षअघिको भेटमा सेनले यो कुरा सुनाएका थिए।
विपी बिरामी परेपछि भने उनी आउन सकेनन्।
‘विपी अझै लामो समय बाँचेको भए देशमा धेरै कुरा राम्रो हुन्थ्यो। १०–२० वर्ष बाँचेको भए त कायपलटै हुन्थ्यो जस्तो लाग्थ्यो। उहाँ बितेर जानुभयो, अरूले उहाँले जसरी काम गर्न सकेनन्। भएका उद्योगहरू बेचेर सके। युवाहरूलाई देशमा राख्न सकेनन्,’ उनले भनिन्, ‘गिरिजाबाबुबाट पनि केही आशा थियो। तर जनताले सोचेजस्तो गर्न सक्नुभएन।’
शैलाजा आचार्यलाई पार्टीले बेवास्ता गर्दा गिरिजाप्रसाद कोइरालालाई र पार्टी फुटाएको बेलामा शेरबहादुर देउवालाई उनीहरूकै निवासमा पुगेर आमा, बाबुले गाली गर्दा सुवोध साक्षी थिए।
‘हाम्रो बुबा आमा पार्टीलाई राम्रो बनाउन निकै दत्तचित्त भएर लाग्नुभएको थियो। उहाँहरूले सहयोगमात्रै गर्नुभएन, आवश्यक पर्दा नेताहरूलाई बाटो देखाउने काम पनि गर्नुभयो,’ सुवोधले भने।
गौरीदेवीलाई अहिलेको नेपाली कांग्रेसले लय छाडिसकेको जस्तो लागेको छ। नेताहरूले देशको भन्दा आफ्नो चिन्ता बढी गर्दा पार्टी बिग्रिएको उनी बताउँछिन्।
‘अहिलेका नेताहरू देख्दा त मलाई म कांग्रेस हो भन्न पनि लाज लाग्छ। यस्तो पनि हुने रहेछ,’ गौरीदेवी भन्छिन्।
विपीको इतिहाससँग जोडिएको घर, परिवारलाई सबैले बिर्सेकोमा उनलाई दुख लागिरहेको छ।
विपी पुत्र डा.सशांक कोइराला छिमेकी जिल्ला नवलपुरबाट चार पटकसम्म चुनाव लडे। तर यो घरमा पुगेनन्। गौरी आफैं उनको निर्वाचन क्षेत्रमा पुगेर जितको शुभकामना दिइन्। सुशील कोइराला भने २०७० सालमा चितवनबाट चुनाव लड्नेक्रममा यहाँ पनि बसेका थिए।
‘मेरो कान्छो छोराले चलाएको होटल सेन्ट्रल पाल्ममा बस्न जानुभएछ। त्यहाँ गएपछि उहाँलाई होटलमा भन्दा त यही घरमा आएर बस्न मन लागेछ। होटल छोडेर यहीँ आएर बस्नुभयो,’ उनले बताइन्।
पार्टीका नेताहरु शेखर कोइराला, प्रकाशमान सिंह भने चितवन आउँदा अहिले पनि यहाँ पुग्ने गर्छन्।
गौरीदेवीलाई पार्टी विपी कोइरालाले देखाएको बाटोमा हिँडे देशका लागि राम्रो हुन्थ्यो भन्ने लागेको छ।
‘उहाँले आफ्नो स्वार्थ कहिल्यै हेर्नुभएन। सधैं घरविहीनलाई घर, गरिबका लागि खानाको कुरा गर्नुभयो। अहिले मनैदेखि यस्तो सोच्ने कम छन्,’ उनले भनिन्, ‘जनता, कार्यकर्ताको भावना बुझ्ने नेता भए त पार्टीमा योगदान गरेकोमा खुसी लाग्छ।’