स्वास्थ्यकर्मी, कर्मचारी तथा विद्यार्थीहरूमा सकारात्मक चिन्तन विकास गर्ने उद्देश्यले चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा आध्यात्मिक पुस्तकालय स्थापना गरिएको छ।
ज्ञान र ध्यानमार्फत सकारात्मक चिन्तनको विकास गर्न भरतपुरको कैलाशनगरस्थित कलेजमा आध्यात्मिक पुस्तकालय स्थापना गरिएको बताइएको छ।
कलेजकी प्राध्यापक ममता शर्मा न्यौपानेले पुस्तकालयमा आध्यात्म र जीवनको बारेमा अध्ययन गर्न सकिने जानकारी दिइन्।
'मान्छेमा बढ्दै गएको नकारात्मक चिन्तनका कारण आफ्नो ज्यान लिने घटना बढिरहेका छन्। डाक्टरदेखि मेडिकल विषयमा अध्ययन गर्ने विद्यार्थीले समेत निराशाको बाटो रोज्ने गरेको हामीले देखेका छौं,' न्यौपानेले भनिन्, 'विद्यार्थीमा आध्यात्मिक ज्ञान र ध्यानमार्फत सकारात्मक सोचको विकास गर्दै मेडिकल शिक्षा अध्ययन गर्न थप हौसला मिल्ने विश्वासका साथ आध्यात्मिक पुस्तकालय स्थापना गरेका छौं।'
विगतमा विद्यालयमा नैतिक शिक्षाको पढाइ हुने, संस्कार, रीति, असल चरित्रको विषयमा गुरुले शिष्यलाई ज्ञान दिने चलन रहे पनि पछिल्लो समयमा त्यो हराउँदै गएको उनले बताइन्।
'सबैको ध्यान कसरी धेरै कमाउने, जसरी हुन्छ पैसा संकलन गर्नेतर्फ केन्द्रित भइरहेको छ। विद्यार्थी बाबुआमाको उद्देश्य पूरा गर्न बाध्य भएर पढिरहेको छ। डाक्टर बनेको छ तर राम्रोसँग बिरामीसँग बोल्दैन। बिरामीको कुरा राम्ररी सुन्न सक्दैन। यो अवस्थामा सुधार आवश्यक छ,' न्यौपाने भन्छिन्, 'म त एक–दुई जनाबाहेक डाक्टर हाँसेकै देख्दिनँ। डाक्टर आफैं खुसी छैन भने उसले बिरामीलाई कसरी खुसी बनाउँछ?'
तनावमा रहेका व्यक्तिहरूलाई आध्यात्मले व्यवस्थापन गर्ने उनले बताइन्।
यहाँ अहिले एक सय बढी पुस्तक राखिएका छन्। कलेजको पुस्तकालयमा केही दिनमै पुस्तकको संख्या पाँच सय पुर्याउने न्यौपानेले बताइन्। भरतपुर–१० मा रहेको अस्पतालमा पनि आध्यात्मिक पुस्तकालय राख्ने तयारी भइरहेको उनले बताइन्।
हरेक दिन बिहान साढे ५ बजेदेखि साढे ७ बजेसम्म र साँझ साढे ४ बजेदेखि साढे ६ बजेसम्म पुस्तकालय सञ्चालन भएको प्राध्यापक न्यौपानेले बताइन्। सो समयमा विद्यार्थीरूरुलाई आध्यात्मिक चिन्तनसँगै ध्यान गराइनेछ। यसमा विशेषज्ञहरूले सहजीकरण गर्छन्।
नियमित रूपमा भागवत् गीताको कक्षा पनि सञ्चालन हुने न्यौपानेले बताइन्।
शैक्षिक उपनिर्देशक अरूण कोइरालाका अनुसार कलेजमा १ हजार १९२ जना विद्यार्थी अध्ययनरत छन्। स्नातक तहमा आठ वटा, स्नातकोत्तरतर्फ एमडी र एमएसमा १५ वटा, डिएममा ६ वटा र एमसिएचमा तीन वटा कार्यक्रम सञ्चालनमा छन्।
मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले मेडिकल शिक्षा लिने विद्यार्थीको मनोविज्ञान बुझेर उनीहरूलाई आध्यात्मिक ज्ञान र ध्यानमा केन्द्रित गर्न सके पढाइमा पनि सफलता मिल्ने बताए। उच्च शिक्षा अध्ययनपछि कार्य क्षेत्रमा जाँदै गर्दा सकारात्मक सोचको विकास हुँदा राम्रो सेवा दिन सक्ने उनको भनाइ छ।
उक्त अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डा.सिपी सेढाईं डिप्रेसनको समस्या बढ्दो क्रममा रहेको बताउँछन्।
'मेडिकल पढाइ गाह्रो हुन्छ। कहिल्यै फेल नभएका, सधैं उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई पनि यो पढाइ सक्न गाह्रो पर्छ। एक्कासि फेल हुँदा उनीहरू डिप्रेसनमा जाने गरेको देखिएको छ,' डा. सेढाईंले भने, 'भौतिकवादले तनाव निम्त्याउन सक्छ तर आध्यात्मले बाँच्ने प्रेरणा दिन्छ। कम्प्युटरमा डिलिट गरेका कुरा रिसाइकल बिनमा गएर बस्छन्। त्यसलाई फेरि फर्काउन सकिन्छ। त्यो काम आध्यात्मले गर्न सक्छ।'
उनले सबैले राम्रो ठान्ने पेसामा आवद्ध व्यक्ति, प्रतिष्ठित उद्योगी, व्यापारी, राजनीतिज्ञहरू समेतले निराशाको बाटो रोज्नु दुःखद भएको बताए।
'मानसिक समस्या विभिन्न किसिमका हुन्छन्। नसोचेको घटनाबाट, समाचारबाट, दुर्व्यसनीलगायतका धेरै कारणले मान्छेमा मानसिक समस्या देखा पर्छ। अहिले त महँगी पनि तनावको कारण बन्न थालेको छ। मनोरोग भएका कोहीलाई तत्कालै उपचार, औषधि नै चाहिन्छ। कोही राम्रो काउन्सिलिङले निको हुन्छन्,' उनले भने, 'दुर्घटना रोक्न पनि आध्यात्मिक पुस्तकालय पनि सहयोगी बन्न सक्छ।'
जिल्ला प्रहरी कार्यालयले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/०८० मा चितवनमा २२४ जनाले आत्महत्या गरेका थिए। १४६ पुरुष, ६१ महिला, ६ बालक, ११ बालिकाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।
त्यस अघिको वर्ष २१४ जनाले आत्महत्या गरेका थिए। यस वर्षको हालसम्म ८ पुरूष, ६ महिला, २ बालक र २ बालिकासहित १८ जनाले आत्महत्या गरेको उनले बताए।