भरतपुर महानगरपालिकाको वडा नम्बर २९ डुम्रेकी सिर्जना चेपाङ कक्षा ८ उत्तीर्ण भएको तीन वर्ष भयो। गएको वैशाखमा उनको बिहे भयो।
स्कुल पढ्दा उनी बिहान साढे २ घन्टा उकालो बाटो हिँडेर उनी चौकीडाँडास्थित आधारभूत विद्यालयमा पढ्न पुग्थिन्। कक्षा ८ सम्ममात्रै पढाइ हुने भएकाले सिर्जनाले उपल्लो कक्षा पढ्न पाइनन्। अनि १९ वर्षको कलिलो उमेरमा उनको बिहे भयो।
सिर्जनाकी बहिनी सुस्मिताले भने कक्षा ९ मा पढ्ने अवसर पाएकी छन्। यही आर्थिक वर्षदेखि चौकिडाँडास्थित विद्यालयमा कक्षा ९ को पढाइ सुरू हुन थालेको छ।
‘८ कक्षा पास हुुनेबितिक्कै ९ कक्षा पढ्ने अवसर पाएँ। यसअघि मेरो गाउँका दिदी, दाइ सबैले ८ कक्षा पास भएर पढाइ छाड्थे। मेरी दिदीले चाहेर पनि माध्यमिक तह पढ्न पाइनन्,’ सुस्मिताले भनिन्, ‘मैले पनि दिदीले जसरी पढाइ छोड्नुपर्ने दिन आउन लाग्यो भनेर पीर लाग्थ्यो। आफ्नै पालामा मावि तह सुरू भयो। पढ्न पाउँदा खुसीको सीमा छैन।’
साविकको कविलास गाविसलाई भरतपुर महानगरपालिकामा गाभेर वडा नम्बर २९ बनाइएको थियो। महानगरपालिकाको क्षेत्र भएर पनि यो वडाको पहाडी भूभाग धेरै विषयमा पछाडि परेको छ। वडाकै एकमात्र माध्यामिक विद्यालय कविलास मावि नारायणगढ–मुग्लिन सडकमा पर्ने जुगेडीमा छ। भौगोलिक र आर्थिक कठिनाइका कारण सबै बालबालिका पढ्नका लागि यहाँ आउन सहज छैन। त्यसैले पायक पर्ने विद्यालयको अन्तिम कक्षा नै उनीहरूको पढाइको अन्तिम गन्तव्य बन्ने गरेको थियो।
भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्रप्रसाद पौडेलले पहाडी भेगमा माध्यमिक विद्यालयको आवश्यकता खड्किएपछि यसै वर्षदेखि कक्षा ९ को पढाइ सुरू गरिएको बताए। यहाँ अहिले कक्षा ९ मा ३३ जना विद्यार्थीहरू पढ्दैछन्।
‘कक्षा ९ सुरू नगरेको भए उनीहरूमध्ये अधिकांश बालबालिकाले पढाइ छाड्ने थिए। वर्षौंदेखिको यो समस्या समाधान गर्न महानगरपालिकाले यस वर्षदेखि शिक्षकको व्यवस्था गरेर पढाइ सुरू गरेको छ। यसै वर्षदेखि विद्यालय भवन निर्माण हुँदैछ,’ पौडेलले भने, ‘विद्यार्थीको संख्या र आवश्यकताअनुसार कक्षा थप गर्दै लैजाने लक्ष्य राखेका छौं।’
नयाँ भवन निर्माण गर्नका लागि ४८ लाख रुपैयाँ विनियोजन भएको पौडेलले बताए। यो बजेटबाट ४ कोठाको एक तल्ले भवन बन्दैछ।
पहाडी क्षेत्रका विद्यालयमा शिक्षक पठाउनसमेत मुस्किल हुने गरेको छ। यो समस्या समाधान गर्न महानगरपालिकाले यस आर्थिक वर्षको बजेटमा भरतपुर–२९ को पहाडी क्षेत्रका विद्यालयमा पढाउने शिक्षकलाई तलबबाहेक थप दुई हजार रुपैयाँ भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले चार महिनाअघि खानेपानी आयोजनाको उद्घाटन गर्न आउँदा गाउँमा माध्यमिक विद्यालयको आवश्यकता देखेपछि तत्कालै ९ कक्षाको पढाइ सुरू गर्ने निर्णयमा पुगेको बताइन्।
‘हामीलाई भरतपुरबाट गाडीमा आउँदा त यती कष्टपूर्ण यात्रा गर्नुपर्छ। घण्टौं हिँडेर बालबालिका कसरी पढ्न आएका होलान् भन्ने लाग्यो,’ उनले भनिन्, ‘यति धेरै दुःख गर्छु भन्दा पनि ८ कक्षा भन्दा बढी पढ्न नपाउने अवस्था रहेछ। त्यसैले यहाँका बालबालिकालाई आवश्यकताअनुसार कक्षा थप गर्दै जाने लक्ष्य राखेका छौं।’
तत्कालका लागि तीन जना शिक्षकको दरबन्दी थप गरिएको उनले बताइन्।
‘अभिभावकले बालबालिकालाई विद्यालय पठाउनपर्यो।शिक्षकले गुणस्तरीय शिक्षा दिनु गराउनुपर्यो,’ मेयर दाहालले भनिन्, ‘आवश्यकताअनुसार शिक्षक र भौतिक पूर्वाधारमा थप हामी गर्दै लैजान्छौं।’
विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ ढुंगानाले यसअघि कक्षा ८ उत्तीर्ण भएका २० जना भन्दा बढीले हरेक वर्ष पढाइ छाड्न बाध्य हुने गरेको बताए।
‘यस वर्षबाट माध्यमिक तहको पढाई सुरू भएको छ। कक्षा ८ बाटै पढाइ छाड्नुपर्ने बाध्यता हटेको छ। तर पढ्नका लागि निकै टाढाबाट आउन बाध्य बालबालिकाका लागि आवासीय सुविधा उपलब्ध गराउन पाए अझै सहज हुन्थ्यो,’ उनले भने, ‘कक्षा ६ भन्दा माथिका बालबालिकाका लागि दिवा खाजा हटाइएको छ। आर्थिक दृष्टिले विपन्न समुदायका बालबालिकामात्रै पढ्ने विद्यालय भएकाले सबैलाई दिवा खाजाको व्यवस्था गर्न पाए अझै सहज हुनेथियो।’
यहाँका अभिभावकले महानगरपालिका समक्ष कक्षा १२ सम्मको पढाइ सञ्चालन गर्नुपर्ने माग गरेका छन्। वडाध्यक्ष सूर्यबहादुर गुरूङले पूर्वाधार विकास र शिक्षालाई सँगसँगै अघि बढाउनुपर्ने बताए।
‘महानगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक चौकीडाँडासम्म पुग्ने सडकलाई स्तरीय बनाउनुपर्यो। अनि गाउँमा कक्षा १२ सम्म पढाउन सकियो भने यो समुदायको विकास हुन्छ,’ वडाध्यक्ष गुरुङले भने, ‘विद्यालयको अभावमा पढाइ छाड्नुपर्ने अवस्था अब आउन दिन हुँदैन।’
राष्ट्रिय मावि चौकीडाँडामा कक्षा ४ मा पढिरहेकी सिर्जना चेपाङको कक्षा १२ सम्म पढ्ने इच्छा छ।
‘गाउँमै कक्षा १२ सम्म पढाइ भयो भने त पढ्न पाइएला। भएन भने बुबा, आमाले पर लगेर पढाउन सक्नुहुन्न,’ उनले भनिन्, ‘पढ्न पाइयो भने राम्रो जागरि पाइन्छ। अरूलाई पनि पढाउन पाइन्छ।’