दुर्गम एउटा गाउँको विद्यालयमा वर्षौंको प्रयासमा दुई वटा स-सानाका पक्की भवन बनेका थिए, एउटा पाँच कोठाको र अर्को चार कोठाको। यी दुई भवनमध्ये एउटा कक्षा चलाउन नपाई पहिरोले पुरियो। अर्कोमा आंशिक क्षति भयो।
‘पाँच मिटर अग्लो पर्खाल लगाइएको थियो। पुरानो भवनको आँगनमा पहिरो गएपछि चार कोठाको नयाँ भवन पुरियो। पर्खालले थामेन,’ प्रधानाध्यापक हर्कबहादुर धामीले भने।
पहिरोले विद्यालय भवन र परिसरमा क्षति पुर्याएपछि पठनपाठनमा समस्या उत्पन्न भएको छ। पाँच कोठे नयाँ भवनको एउटा कोठामा प्रशासन कार्यालय थियो, एउटामा बालविकास कक्षा थियो। अन्य तीन वटा कोठा टाढाका विद्यार्थीहरूले छात्रावासका रूपमा प्रयोग गरेका थिए।
पुरानो १४ कोठे भवनमा कक्षा २ देखि १२ सम्मका विद्यार्थीहरू पढ्दैछन्।
लेन्टर (छानो) माथि थपिएका कोठामा बस्न विद्यार्थीहरू डराउँछन्। भूकम्पले लेन्टरमाथिका सिमेन्ट खम्बा टुटेका छन्। तिनलाई काठका खम्बा लगाएर सहारा दिइएको छ।
छानाको जस्तापाता धेरै पुरानो छ। हावाहुरीले क्षति पुर्याएपछि जताततै चुहिने भएको छ। यति जीर्ण भवनमा बसेर पढ्न विद्यार्थीहरू डराउने गरेका छन्। शिक्षकहरू पनि डराउँछन्। भवन यति जीर्ण भइसक्दा पनि अर्को विकल्प छैन।
कक्षा ८ मा पढ्ने एक विद्यार्थीले भने, ‘पुरानो स्कुल (भवन) मा बसेर पढ्न डर लाग्छ। नयाँ स्कुल (भवन) पहिरोले छोपिहाल्यो।’
प्रधानाध्यापक धामीले पहिरोले भएको क्षतिको विवरण संघीय सरकार र प्रदेश सरकारका सम्बद्ध निकायहरूमा पठाएको बताए। हालसम्म कतैबाट कुनै पनि जवाफ आएको छैन।
उनी भन्छन्, ‘जीर्ण भवनमा ठूलो जोखिम मोलेर पठनपाठनको काम भइरहेको छ। हामीलाई तत्काल सुरक्षित वातावरणमा पठनपाठन व्यवस्थाका आग्रह गरेका छौं।’
कक्षा १ देखि १२ सम्म पढाइ हुने उक्त विद्यालयका विद्यार्थीहरू ४२ वर्ष पुरानो जीर्ण भवनमा जोखिम उठाएर पढ्न बाध्य छन्।
कुरा हो सुदूरपश्चिम प्रदेश, बैतडी जिल्लाको सिगास गाउँपालिका–८, भूमिराजमाण्डौमा रहेको लेकलुपुड माध्यमिक विद्यालयको।
यो विद्यालय वडा नम्बर ८ को एकमात्र माध्यमिक विद्यालय हो जहाँ उक्त वडाका पाँच वटा गाउँ र आसपासका अन्य केही गाउँका ३४८ जना विद्यार्थी पढ्छन्। गाउँका विद्यार्थी कक्षा ८ सम्म अन्य विद्यालयमा पढे पनि ९ देखि १२ सम्म पढ्न लेकलुपुड विद्यालयमै पुग्नुपर्छ। वडा नम्बर ८ सँग सीमा जोडिएका वडा नम्बर ७ र ९ मा पनि माध्यमिक विद्यालय छन् तर वडा नम्बर ८ बाट दैनिक हिँडेर आउजाउ गर्ने सकिने दूरीमा छैनन्।
लेकलुपुड माध्यमिक विद्यालयको भवन धेरै वर्षदेखि जीर्ण अवस्थामा छ। विद्यार्थीहरू त्यही भवनमा पढ्छन्। गत वैशाख र जेठमा चलेको हावाहुरीले त्यही जीर्ण भवनको पनि जस्ताको छाना उडाइदियो।
स्थानीय बुढापाकाहरूका अनुसार २०१६ सालमा हालको वडा नम्बर ८ कै बल्दौना भन्ने ठाउँमा स्थापना भएको थियो लेकलुपुड विद्यालय। त्यो बेला ढुंगामाटोले बनेको र ढुंगाकै छानो भएको दुई तले भवन थियो जसमा ६ वटा कोठा थिए।
प्रधानाध्यापक हर्कबहादुर धामीका अनुसार लेक गाउँका, लुपुड गाउँका र आसपासमा बासिन्दाहरूको पहलमा उक्त भवन बनेको थियो। बल्दौनामा बढी चिसो हुने र सबै गाउँका विद्यार्थीहरूलाई पायक नपर्ने भएपछि २०३८ विद्यालय अर्को ठाउँमा सार्न स्थानीयवासीहरू आपसमा सहमत भए।
सबै गाउँका बालबालिकालाई पायक पर्ने ठाउँमा सार्ने सहमतिअनुसार विद्यालय भूमिराजमाण्डौमा सारियो। सबै गाउँलेहरू मिलेर ढुंगामाटाको गारो लगाएर ८ कोठाको एकतले (भइँतले) भवन बनाए। केही वर्ष यसमै पठनपाठन चल्यो।
विद्यार्थी संख्या बढ्दै गएपछि स्थानीय बासिन्दाको चन्दा, श्रमदान र कृषि विकास बैंकको केही ऋणबाट २०४२ सालमा दुई वटा कोठा थपिए। भवनको छानो ढुंगाकै थियो। त्यो हटाएर लेन्टरको छानो हालियो। लेन्टरमाथि तला थपेर चार वटा कोठा बनाइए। यसरी भवनमा १४ वटा कोठा भए। सरकारले विद्यालयमा २०२३ सालमा एक शिक्षकको दरबन्दी दिएको थियो। विद्यार्थी संख्या बढ्दै गएपछि कक्षा थपिँदै गयो। शिक्षक पनि थपिए। २०४६ मा कक्षा १० सम्म पढाइ हुने माध्यमिक विद्यालय भयो, २०६६ मा १२ कक्षासम्म पुग्यो।
प्रधानाध्यापक धामीले भने, ‘विद्यालयमा कक्षा थपिँदै गएपछि विद्यार्थीको संख्या पनि बढ्दै गयो तर त्यसअनुसार कक्षा कोठा भएनन्। सरकारी निकायमा कुरा राख्यौँ तर भवन बनेन।’
उनका अनुसार तत्कालीन जिल्ला शिक्षा कार्यालयले विद्यालय भएको पुरानो ठाउँ बल्दौनामा छात्रावासका लागि चार कोठाको दुई तले भवन बनाइदिएको थियो। केही समय छात्रावासका रूपमा प्रयोग भयो तर टाढा भयो भनेर विद्यार्थीहरू बस्न मानेनन्।
रित्तो रहेको उक्त भवन पनि जीर्ण भएको छ।
जिल्ला शिक्षा कार्यालयले नै हाल विद्यालय रहेको भूमिराजमाण्डौमा आधुनिक शौचालयसहित दुई कोठे भवन बनाइदिएको थियो। त्यो भवन हाल विद्यार्थीका लागि खाजा घरका रूपमा प्रयोग भएको छ। विद्यार्थी संख्या बढ्दै गयो तर समुदायको सक्रियतामा बनेको १४ कोठे भवन जीर्ण हुँदै गयो। प्रधानाध्यापक धामीका अनुसार भवन अभावमा पठनपाठनमा समस्या भयो। निरन्तरको प्रयासपछि आर्थिक वर्ष २०७७/७८ मा संघीय सरकारले ७२ लाख रुपैयाँ दियो। त्यसबाट पाँच कोठाको भवन बन्यो। त्यसले पनि पुगेन। संघीय सरकारले लगत्तै अर्को वर्ष फेरि ७२ लाख रुपैयाँ दियो। त्यसबाट अलिक ठूला चार वटा कोठा भएको भवन बन्यो।
भवनमा झ्यालढोका र फर्निचर राख्न बाँकी थियो। चुहिने भएको पुरानो भवनमा पढ्ने केही कक्षा नयाँ भवनमा सर्ने भए। दुई वर्षमा ९ वटा कोठा थपिएपछि लेकलुपुड विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरू खुसी भए।
दुर्भाग्य के भयो भने उनीहरूको त्यो खुसी धेरै दिन रहेन। गत असार ९ र साउन १० गतेको भारी वर्षाका कारणले आएको पहिरोले चार कोठे नयाँ भवन पुरियो। पाँच कोठे भवनमा पनि आंशिक क्षति भयो।
नयाँ दुई वटा भवन पुरानो भवनको तल्लो भागका बनेका थिए।
भिरालो जमिनको माथिपट्टि पानी रसाउने ठाउँ थियो। नयाँ भवनको सुरक्षाका लागि भित्तापट्टि पर्खाल पनि लगाइएको थियो।
विद्यालयमा जनशक्ति र उपकरणमा पनि अभाव छ। हाल यहाँ साढे ३४८ विद्यार्थी छन्। कक्षा ११ मा भर्ना चालु छ। उच्च मावि (कक्षा ११ र १२) मा दुई, माविमा पाँच, निमाविमा चार, प्राविमा तीन, बालविकास एक गरी १५ जना शिक्षकको दरबन्दी छ।
यीबाहेक प्राथमिक शिक्षक थप दुई जन छन्। लेखापाल एक जना, कम्युटर अपरेटर एक जना र कार्यालय सहयोगी दुई जना गरी चार जना कर्मचारी छन्। यी ६ जनाले संघीय सरकार र गाउँपालिकाको अनुदान तथा विद्यालयको आन्तरिक स्रोतबाट पारिश्रमिक पाउने गरेका थिए।
प्रधानाध्यापक धामीले सरकारी दरबन्दीबाहिरका शिक्षक–कर्मचारीका लागि अनुदान रोकिएको बताए।
‘विद्यालयको आयस्रोत छैन। कक्षा ११ र १२ मा शिक्षकको अभावका कारण पारिश्रमिक थोरै थपेर माध्यमिक शिक्षकलाई कक्षा दिएका छौँ,’ उनले भने, ‘सरकारी दरबन्दी बाहिरका शिक्षक र कर्मचारीका लागि ११ र १२ कक्षाका विद्यार्थीहरूबाट थोरै शुल्क उठाउने गरेका छौं।’
उनका अनुसार सहयोग शुल्क भनेर विद्यालयले मासिक ३३० रूपैँया लिने गरेको छ। कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन संकायमा पढाइ हुने गरेको छ।
जनशक्ति र भौतिक सुविधा दुबैको अभावका कारण शैक्षिक गुणस्तरमा पनि असर परेको उनले बताए। सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले विद्यालयको भवन पहिरोमा पुरिएपछि समस्या समाधान गर्न सम्बद्ध निकायसँग सहयोगको आग्रह गरेको बताए।
‘विद्यालयमा क्षति भएको विवरण गाउँसभाबाट पारित गरेर संघीय सरकार र प्रदेश सरकार समक्ष फाइल पठाएका छौं’ उनले भने, ‘हाललाई टहरा बनाउन गाउँपालिकाले जस्तापाता दिन सक्छ। भवन निर्माणका लागि गाउँपालिकासँग बजेट छैन।’
सुदूरपश्चिमका सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले भवन मर्मत गर्न र सुरक्षित ठाउँमा पठनपाठनका लागि सरकारले सहयोग गर्ने बताए।
लेकलुपुड माध्यमिक विद्यालयको समस्या समाधान गर्न सुदूरपश्चिम प्रदेश सभामा पनि आवाज उठेको छ। सभामा बोल्दै सांसद जानकी ऐर (बम) ले विद्यालयको भवन पुरिएपछि पठनपाठनमामा समस्या भएकाले प्रदेश सरकारले समाधान गर्न पहल गर्नुपर्ने बताइन्।