कैलालीकी मनसरा (नाम परिवर्तन) ले कलिलो उमेरमा छोरी गुमाइन्। १५ वर्ष पुगेकी उनकी छोरीले ६ वर्षअघि आत्महत्या गरेकी थिइन्।
आत्महत्याको कारण थियो, विवाह नै गर्भ बस्नु। ९ कक्षामा पढ्ने उनको एक जना ट्रक चालकसँग प्रेम सम्बन्ध थियो। त्यही सम्बन्धका कारण विवाह गर्ने उमेर नै नपुगी उनको गर्भ बस्यो। ट्रक चालक सम्पर्कविहीन भएपछि ती किशोरीले अरू कुनै उपाय देखिनन्, आफ्नै ज्यान लिइन्।
मनसरालाई अचेल छोरीले आफूसँग कुरा गरेको भए, उसको गर्भपतन गराएको भए छोरीले मर्नु पर्दैन थियो कि भन्ने लाग्छ।
नेपालमा गर्भपतन कानुनी कुरा हो। तर धेरै किशोरी र अविवाहित महिलाहरू गर्भपतनको सुविधाबारे जानकारी नहुँदा र यसबारे सचेतना नहुँदा ज्यान गुमाउने गरेका छन्।
‘मेरी फूलजस्ती छोरी बचाउन सकिनँ, पढाइमा राम्री थिई। उसले अञ्जानमा यति ठूलो सजाय आफूलाई दिएर बिदा भई,’ मनसराले भनिन्,‘उसले ज्यान गुमाउनुमा म पनि दोषी छु भन्ने लाग्छ। किशोर अवस्था के गर्ने, कोसँग संगत गर्ने, कसैले गलत गरे के गर्ने, गर्भ नै बसिहाले गोपनीयता अपनाएर सुरक्षित गर्भपतन कसरी गर्ने भन्ने जानकारी दिन सकिनँ।’
मनसराकी छोरीजस्तै विवाहअघि नै गर्भ बसे सामाजिक बहिष्कार हुने डरले अरू किशोरीहरूले पनि गलत बाटो रोज्ने गरेका धेरै घटना छन्।
स्वास्थ्य स्वंयसेविका राधा चौधरी सामाजिक डरका कारण पेटमा गर्भ बसे पनि समयमै सुरक्षित गर्भपतन सेवा लिन नसक्दा धेरै किशोरी समस्यामा परेको बताउँछिन्।
बर्दियाको बाँसगढीकी दिप्ति (नाम परिवर्तन) १७ वर्षकी भइन्। चार महिनाअघि न्याय माग्दै उनी धनगढीको एक सामाजिक संस्थाको शरणमा आइपुगेकी थिइन्। उनको साथमा एक महिनाको बच्चा थियो। एक वर्षअघि उनको धनगढीका एक युवकसँग फेसबुकमा कुराकानी हुँदै प्रेम बस्यो।
युवक दिप्तिलाई भेट्न बाँसगढी पुगे। उनीहरूबीच शारिरीक सम्पर्क भयो। दिप्तिले आफू गर्भवती भएको कुरा एक महिनापछि थाहा पाइन्।
यो कुरा युवकलाई सुनाइन्। युवकले आफूलाई गर्भ फाल्ने औषधी किन्न लाज लागेकोले आफैं किनेर खानू भने। दिप्तिले पनि गाउँकै मेडिकलबाट औषधी किन्ने आँट गरिनन्। समय बित्दै गयो। घरमा आमालाई आफ्नो अवस्थाबारे केही भन्न सकिनन्।
अन्ततः उनी सुत्केरी भइन्। अस्पतालमा जब दिप्तिले बच्चा जन्माइन् तबमात्र परिवारका मान्छेले यो कुरा थाहा पाए।
बिहे नगरेरै बच्चा जन्माएको भन्दै दिप्तिका परिवारलाई गाउँलेहरूले कुरा काटेर हैरान पारे।
दिप्ति सुरक्षित गर्भपतनको सेवा लिन नसकेकोप्रति पछुतोमा छिन्। उनी बच्चालाई बाउको नाम दिन युवकको खोजीमा धनगढी आएकी छिन्। यदि समयमै सुरक्षित गर्भपतन गरेको भए, सामाजिक बहिस्कारसँगै आमाको जिम्मवारी र सँगसँगै युवकको खोजी गर्नुपर्ने थिएन भन्ने उनलाई लाग्छ। युवकले अहिले बच्चा स्वीकार नगर्ने र दिप्तीसँग बिहे पनि नगर्ने भनिरहेका छन्। यो मुद्दा प्रहरीसम्म पुगेको छ।
‘पढाइ छोड्नु पर्यो, परिवारलाई दु:ख दिएँ, बेइज्जत भयो, अब यो बच्चा कसरी हुर्काऊँ, कहाँ जाऊँ,’ दिप्तिले रूँदै भनिन्।
दिप्तिको जस्तै समस्या अन्य किशोरीहरूलाई भोगिरहेका छन्। आगामी दिनमा यस्तो समस्या आउन नदिन ‘प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतन’बारे सिकाउन आवश्यक रहेको स्वास्थ्यकर्मी मीना बिकले बताइन्।
उनका अनुसार सबैभन्दा पहिला स्कुल पढ्ने किशोरीहरूलाई २० वर्ष नपुञ्जेल कुनै पनि हालतमा शारिरीक सम्पर्क नराख्न, कसैले जर्बजस्ती गर्न खोजिरहेको छ भने शिक्षक, शिक्षिका र घरका मान्छेलाई भन्नुपर्छ भन्ने कुरा सिकाउन अति आवश्यक छ। कुनै कारणमा गर्भ बसेहाले पनि ठूलो जोखिमबाट बच्न सुरक्षित गर्भपतनबारे सिकाउनुपर्छ जस्तो उनलाई लाग्छ।
स्वास्थ्यकर्मी हिमा उपाध्यायका अनुसार स्कुलमा किशोर-किशोरीहरूलाई प्रजनन् तथा यौन स्वास्थ्यबारे हरेक हप्ता अनिवार्य पढाउन र बुझाउन आवश्यक छ।
‘बच्चाहरू स्कुलमा बढी हुन्छन्, त्यसैले किशोर अवस्था के गर्ने, के नगर्ने कसरी जोखिमबाट बच्न भन्ने कुरा सिकाउनु पर्यो, अहिलेसम्म यौन तथा प्रजनन् स्वास्थ्यबारे स्कुलमा राम्रोसँग नसिकाउँदा यस्ता समस्या हुन्छन्। घरमा पनि आमाबुवा, दाइ-दिदीले ठूलाले सानालाई सिकाउन पर्छ,’ उनले भनिन्।
‘बिहे नगरेका महिलाले गर्भ बसे मर्नु पर्दैन। कतिपय थाहा नपाएर ज्यानै गुमाएका पनि छन्, अहिले त सुविधा छ नि,’ उनले भनिन्,‘थाहा नपाएकाहरू कतिपय आमा बनेका छन्। पढ्ने उमेरका छोरी आमा बनेपछि उनीहरू झन् समस्या छन्।’
नेपालमा सन् २००२ देखि गर्भपतनले कानुनी मान्यता पाएको छ। अझै पनि सबैका लागि सहज तथा पहूँचयोग्य सेवा नहुँदा र सामाजिक डरका कारण धेरै महिलाले पाएको अधिकार प्रयोग गरिरहेका छैनन्।
सुदूरपश्चिम प्रदेशमा तीन वर्षमा १ हजार ७ सय ६४ जना किशोरीहरूले गर्भपतन सेवा लिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ।
आर्थिक वर्ष २०७७/०७८ मा औषधीद्वारा ४१२ जना किशोरीले गर्भपतन सेवा लिएका छन् भने यस्तै उपकरणबाट १९५ जना किशोरीले सुरक्षित गर्भपतन सेवा लिएका छन्।
यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा औषधीद्वारा ३६४ र उपकरणबाट २८४ किशोरीले गर्भपतन गराएका छन्। आर्थिक वर्ष २०७९/०८० मा औषधीद्वारा गर्भपतन गर्ने किशोरी ३६१ र उपकरणबाट गर्भपतन गर्ने किशोरी १४८ जना थिए।
यो तथ्यांक सुरक्षित गर्भपतन सेवा लिनेको भए पनि असुरक्षित रूपमा जथाभावी गर्भपतन गर्नेहरू पनि धेरै छन्। जसको तथ्यांक हुँदैन।
बजारका क्लिनिकमा जथाभावी औषधी सेवन गरेर जोखिम भएपछि सरकारी अस्पतालमा आउने किशोरीहरू पनि धेरै रहेको सेती प्रादेशिक अस्पतालका डाक्टर जगदीश बिष्टले बताए।