सुनसरीको कोशी नगरपालिकाका गुलावी मुखियालाई ७ वर्षअघि कोशी टप्पु वन्यजन्तु आरक्षका अर्ना चितवन लैजानेक्रममा गरिएका वाचा झलझली याद आइरहेको छ।
त्यतिखेर आरक्ष, सबै मध्यवर्ती क्षेत्रका प्रतिनिधि, संरक्षणसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूसँगको छलफलमा अर्नाको बदलामा कोशीमा चितवनबाट गैंडा पठाउने वाचा गरिएको थियो।
चितवन लगिएका अर्नाहरू सबै मरेर सकिए तैपनि कोशीका बासिन्दाले गैंडा देख्न पाएनन्।
लामो समयको प्रतिक्षापछि कोशी आइपुगेका दुई गैंडाहरू पुष्पा र अञ्जलीलाई स्वागत गर्न पाउँदा मुखिया दंग छन्। चितवन निकुञ्जबाट काठको खोरमा राखेर ट्रकमार्फत् कोशी ल्याइएका यी दुई गैंडाहरूलाई सप्तरीको कञ्चनरूप नगरपालिका–५ पथरीमा बनाइएको इन्क्लोजर (ठूलो खोर) भित्र राखिएको छ।
करिब १५ घण्टा ट्रकको यात्रापछि बुधबार बिहान कोशी टप्पु वन्यजन्तु आरक्षको पथरी पुगेका गैंडा हेर्न स्थानीय बासिन्दाको भीड लागेको थियो।
‘हाम्रो आरक्षबाट अर्ना लैजाने तयारी गर्दा हामीलाई यसको बदलामा के दिनुहुन्छ भनेर सोधेका थियौं। चितवनका वार्डेन साबले उता धेरै गैंडा छन् त्यही दिन्छौं भन्नुभयो,’ मुखियाले भने, ‘गैंडा कहिले आउला भनेर धेरै वर्ष कुर्यौँ। बल्लबल्ल दुई वटा आइपुगेका छन्।’
मुखियाकाअनुसार चितवन निकुञ्जका तत्कालीन प्रमुख वार्डेन रामचन्द्र कँडेलले ५ जोडी गैंडा कोशी पठाउने मौखिक प्रतिबद्धता जनाएका थिए।
‘पाँच जोडी भन्नुभएको थियो। दुई वटा पोथीमात्रै आएका छन्,’ उनले भने, ‘अरू कहिले आउलान् भन्ने प्रतीक्षा छ। उहाँहरूले अर्ना त जोगाउन सक्नुभएन। तर हामी गैंडा जोगाएर देखाउँछौं।’
अर्ना, हात्ती र चराका लागि प्रख्यात कोशी टप्पु आरक्षमा अब गैंडाले रौनक थप्ने उनको विश्वास छ।
सप्तरीको कञ्चनरूप–५ की ६० वर्षीया आशा सरदारले बुधबार जीवनमै पहिलोपटक गैंडा देख्ने अवसर पाइन्। उनले आफ्नो ठाउँमा गैंडा आउने चर्चा केही वर्ष पहिले नै सुनेकी थिइन्। पथरीमा गैंडा राख्न भनेर इन्क्लोजर बनाउन थालेपछि बल्ल उनमा गैंडा आउने आशा पलायो।
‘हामी महिलाहरू घर छाडेर अन्त जाँदैनौं। छोरा मान्छेहरू गैंडाको विषयमा कुरा गर्छन्। गैंडा भयो भने विदेशी आउँछन्, पैसा आउँछ भन्थे,’ उनले भनिन्, ‘कस्तो हुन्छ होला भन्ने लागेको थियो। आज देख्न पाइयो।’
कोशीको नयाँ सदस्य बनेर आइपुगेका गैंडाले अर्ना र हात्तीले जस्तो दुःख नदिओस् भन्ने उनलाई लागेको छ। अर्ना र हात्तीले खेतमा लगाएको बाली खाएर हैरान पार्ने गरेको उनले सुनाइन्।
‘गैंडा अहिले तर खोरमा छ। पछि बाहिर निकाले भने यसले पनि अरूले जस्तै दुःख दिने हो कि भन्ने चिन्ता लाग्छ,’ उनले भनिन्, ‘गैंडा आउँदा खुसी छु। तर यसले हामीलाई दुःख नदेओस्।’
कञ्चनरूप–१ का युवा व्यवसायी मोहमद समसिर शेखले स्थानीयलाई दुःख नदिने गरी गैंडालाई प्राकृतिक स्थानमा छाड्ने वातावरण बनाउनुपर्ने बताए।
‘यी गैंडाले चितवनतिर पनि बस्ती पसेर दुःख दिएको सुनेको थिएँ। यहाँ आएर पनि त्यही गर्ला कि भन्ने चिन्ता स्थानीयवासीलाई हुनु स्वाभाविक हो,’ उनले भने, ‘अहिले दुई वटा आएका छन्। विस्तारै संख्या थपिएला, जंगलमा छाडिएला। फर्किएर बस्तीमा दुःख दिए भने त समस्या हुन्छ।’
उनले वन्यजन्तुले दुःख नदिनेगरी आरक्षमा तारजाली लगाउनुपर्ने बताए।
कोशी टप्पु आरक्षले छुने तीन जिल्लाहरू सुनसरी, सप्तरी र उदयपुरलाई समेट्ने माझी मलाह सञ्जालका अध्यक्ष गुलावी मुखियाले अर्ना र हात्तीले जस्तै दुःख निदेओस्, चितवनमा अर्नाको जस्तो नियति कोशीमा गैंडाले व्यहोर्न नपरोस् भन्नेमा स्थानीयवासी पनि सतर्क रहेको बताए।
‘हरेक महिनाजसो अर्ना मरे भन्ने समाचार सुनिन्थ्यो। आफ्नो ठाउँबाट लगेका अर्ना मरेको सुन्दा दुःख लाग्थ्यो,’ मुखियाले भने, ‘हामीले त्यताबाट पाठ सिक्नुपर्छ। यहाँ ल्याइएका गैंडा जोगाएर देखाउनुपर्छ।’
यसअघि २०७३ सालमा अर्नाको वंश विस्तारका लागि भन्दै कोशी टप्पुबाट १२ वटा र सदर चिडियाखानाबाट ३ वटा अर्नाहरू चितवन निकुञ्जमा लगिएको थियो। तिनीहरूलाई पुरानो पदमपुरमा इन्क्लोजर बनाएर राखियो। तर ती अर्ना बाघले खाएर, बाढीमा बगेर, रोग लागेर मरे।
चितवनबाट स्थानान्तरण गरेर कोशी ल्याइएका पुष्पा र अञ्जली टुहुरा गैंडा हुन्।
टुहुरो अवस्थामा फेला परेपछि यी दुई केटाकेटीलाई उद्धार गरेर राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहामा राखिएको थियो। त्यहाँका कर्मचारीले भैंसीको दूध, पालुवा घाँस खुवाएर उनीहरूलाई हुर्काएका थिए।
पुष्पा २०७६ पुस ५ गते नवलपुरको तमासपुरमा दलदलमा फसेको अवस्थामा भेटिएकी थिई। त्यतिखेर ऊ २ महिनाकी थिई। अञ्जलीको २०७७ सालको चैत १४ गते गैंडा गणनाको क्रममा नवलपुरकै दिव्यपुरी क्षेत्रबाट उद्धार गरिएको हो। त्यतिखेर ऊ १ महिनाकी थिई।
मान्छेको माया, ममतामा हुर्किएका उनीहरूलाई गत वैशाख ३१ गते चितवन राष्ट्रिय निकुञ्जको लामितालमा छाडिएको थियो। तर मान्छेसँग नजिकिने बानी भइसकेका उनीहरू मानव बस्ती खोज्दै तारन्तार राप्ती वारि आउने गर्थे। कहिले कसरास्थित निकुञ्जको हेडक्वाटर क्षेत्रमा, कहिले राप्ती नदी तरेर पटिहानी क्षेत्रमा आउने गर्थे। उनीहरूलाई पुनः जंगलमा पुर्याउन छुट्टै कर्मचारी खटाउनु परेको थियो।
कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले लामो अध्ययनपछि कोशीमा गैंडा ल्याइएकाले सफल हुने विश्वास रहेको बताए। अहिले कंक्रिट पर्खालले घेरेर बनाइएको २५/३० मिटरको इन्क्लोजरमा राखिएका गैंडालाई केही समयमै ठूलो घेरामा सारिने योजना उनले सुनाए।
‘एक महिनाभित्रमा योजना बनाएर मन्त्रालयमा पठाउँछु। त्यसपछि एउटा भाले गैंडा पनि ल्याउने र घाँसे मैदान, घोलसहितको ठूलो घेराभित्र सार्ने योजना छ,’ यादवले भने, ‘त्यहाँभित्र राम्ररी घुलमिल भइसकेपछि प्राकृतिक बासस्थानमा छाड्छौं।’
कोशी टप्पु आरक्षमा करिब ५० प्रतिशत घाँसेमैदान र पर्याप्त पानीको स्रोत रहेकाले गैंडाका लागि उपयुक्त रहेको दाबी उनको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव सरदचन्द्र अधिकारीकाअनुसार चितवनका गैंडाहरूलाई कोशी स्थानान्तरण गर्नुका तीन वटा सकारात्मक प्रभाव छन्। पहिलो कुरा कोशीमा ३–४ सय वर्ष पहिले पनि गैंडा थिए भन्ने इतिहास पाइन्छ। त्यतिखेर गैंडाको बासस्थान यहाँ थियो। हामी अब फेरि यहाँ बासस्थान तयार पारेर गैंडाका लागि उचित हुने वातावरण बनाउँदैछौं। यो महत्वपूर्ण फाइदा हो।
दोस्रो कोशी टप्पु वरिपरिका जनतामा यहाँका अर्ना चितवन पठाउने क्रममा गैंडा ल्याउने विश्वास थियो। त्यो कार्यान्वयनमा आयो।
तेस्रो पर्यटकीय विकास हो। अधिकारी नयाँ प्रजाति थपिएसँगै पर्यटन विकासमा सहयोग पुग्ने र यसले स्थानीय अर्थतन्त्र चलायमान हुने बताउँछन्।
‘दुर्लभ एक सिंगे गैंडा यहाँ पनि छ भनेपछि मान्छेहरू हेर्न आउँछन्। होटल, रेष्टुरेन्ट फस्टाउन सक्छन्। गैंडासँग जोडिएको स्थानीय अर्थतन्त्र चलायमान हुन्छ,’ उनले भने।
गैंडा जोगाउन चुनौती पनि छन्। गैंडाको जीवनमाथि हुने सुरक्षा चुनौती र बासस्थानसँग कतिको घुलमिल हुन्छ भन्ने चिन्ता रहेको उनले बताए। तर मन्त्रालयले बनाएको योजनाअनुसार आरक्ष, सेना, सरोकारवाला संस्था, स्थानीयवासी मिलेर गैंडाको सुरक्षा गर्न सकिने उनले बताए।
‘हामीले जंगली गैंडा ल्याएको भए मान्छेसँग द्वन्द्व हुनसक्थ्यो। मान्छेसँग घुलमिल भएका ल्याएका छौं। यिनले द्वन्द्व बढाउँदैनन् भन्ने विश्वास छ। पछि पनि त्यस्तै ल्याउने प्रयास गर्छौं,’ उनले भने, ‘अहिले दुइटा पोथी ल्याइएको छ, प्राकृतिक सिद्धान्तलाई पनि हेरेर केही समयमै भाले पनि ल्याउने तयारी भइरहेको छ।’
बुधबार गैंडा हस्तान्तरण कार्यक्रममा वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले कोशी टप्पु वन्यजन्तु आरक्षमा तत्कालै एउटा भाले गैंडा पठाउने उद्घोष गरेका छन्।
अहिले चितवन, बर्दिया, पर्सा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमामात्रै पाइने गैंडाको कोशीमा पनि वंश विस्तार गर्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए।