येँयाको अन्तिम दिन (नानिचया) महिलाहरूले रथ ताने। करिब बाह्र वर्षयता उनीहरूले रथ तान्दै आएका छन्।
पुरूषहरूको एकाधिकार रहेको रथ तान्ने परम्परामा महिलाहरू कसरी जोडिए?
येँयाको रथ तान्दा प्रयोग हुने डोरीलाई शेष नागको प्रतीकका रूपमा लिइन्छ। पुरातन सोच बोकेका बूढापाकामा डोरी महिलाले छुनै नहुने र नाघ्नै नहुने भन्ने मान्यता थियो। त्यो सोच कसरी तोड्ने भन्ने अन्योलजस्तो थियो।
त्यही अन्योलबीच समाजसेवी मोहनकृष्ण डंगोलले ‘कुमारीको रथ नानिचयाको दिन नानीहरूले नै तान्छ’ भनेर सञ्चार माध्यममा बताइदिए। त्यसपछि समिति नै गठन गरेर महिलाहरूले रथ तान्दै आएका छन्।
यो वर्ष करिब ८ सय महिलाहरूले कुमारी, भैरव र गणेशको रथ ताने। उनीहरूले वसन्तपुरबाट प्याफल, नरदेवी, किलागल, भेडासिंह, इन्द्रचोक हुँदै वसन्तपुरसम्म रथ ताने। त्यसपछि हनुमानढोकामा ठड्याइएको य:सिं ढालेर यो वर्षको जात्रा समापन भयो।