बझाङमा भूकम्पपछि जनजीवन प्रभावित बनेको छ। भूकम्पको डर त छँदै छ, त्यसैमाथि घर भत्केका कारण कतिपयहरू थप समस्यामा छन् भने केही घर चर्केकाले स्थानीयहरू पनि फेरि भूकम्प आउने डरले घरभित्र जान डराइरहेका छन्।
बझाङको दुर्गाथली गाउँपालिका- ३ का बिष्णु रोकायाले घर चर्केका कारण हिजो रातिदेखि नै बाहिरै बास भएको बताए।
‘चर्केको घरमा भित्र जान डर छ, अब त बस्न पनि मिल्दैन होला, रातभरि बाहिर बस्यौं, त्रिपाल पनि थिएन। त्यसै खुला आकाशमा बस्यौं,’ उनले भने।
उनका गाउँमा धेरै घरहरू चर्किएका छन्, पुराना घरहरू भत्किएका छन्। स्थानीयहरू सरकारको सहयोगको आशमा बसेका छन्।
जिल्ला प्रशासन कार्यालय बझाङकी सूचना अधिकारी सत्यकुमारी जोशीका अनुसार जिल्लाका सबै ठाउँमा भूकम्पले क्षति गरेको अवस्था छ। केन्द्रबिन्दु नजिकै भएकाले सबै ठाउँ क्षति भएको जोशीले बताइन्। हालसम्म जिल्लामा १८ जना घाइते छन् भने १ जना महिलाको भूकम्पपछि आएको पहिरोमा परेर मृत्यु भएको छ।
केही घाइतेहरूलाई धनगढी ल्याइएको छ। सामान्य घाइतेहरूलाई उपचारपछि सुरक्षित ठाउँमा लगिएको छ।
बुधबार दिउँसोसम्मको विवरणअनुसार बझाङमा ३ सय बढी घर चर्किएका छन्, २१ वटा सरकारी कार्यालयका भवनमा क्षति पुगेको छ।
६४ घर पूर्ण रूपमा भत्किएका छन्। स्थानीयहरू त्रिपाललगायत टहरा बनाएर हिजो रातभरि बाहिर बसेका थिए।
सूचना अधिकारी जोशीका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसिरहेको छ। बैठकपछि पहिलो चरणको राहत वितरणको काम सुरू हुनेछ।
मंगलबार मात्रै बझाङमा दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३, यस्तै ३ बजेर ६ मिनेटमा ६ दशमलव ३, ३ बजेर ४५ मिनेट ४ दशमलव ९, ४ बजेर २८ मिनेटमा ४ दशमलव ९, ४ बजेर ३९ मिनेटमा ४ दशमलव ३ म्याग्निच्युडका भूकम्प गएका छन्।
यस्तै, मंगलबार नै ५ बजेर १९ मिनेटमा ५ म्याग्निच्युड स्केल र ५ बजेर ३८ मिनेटमा पनि ५ म्याग्निच्युडको भूकम्प गएको छ।