उनीहरू दुवै जनाको एउटा सपना छ – विदेश जाने।
वैदेशिक रोजगारीमा जाने प्रयास पनि गरे। तर अन्तर्वार्तामा रोकिए। वैदेशिक रोजगारीमा पठाउने कम्पनीले अस्वीकार गर्यो।
यसपछि कुनै युरोपेली देश जाने प्रयास गरे। कन्सल्ट्यान्ट कम्पनीहरूमा धाए। तिनले पनि प्रक्रिया अघि बढाइदिन मानेनन्।
यसरी अस्वीकृत हुनुको मुख्य कारण हो उनीहरूको लैंगिक तथा यौनिक पहिचान।
उनीहरू हुन् संयोग केसी र सरिता रूचाल। दुवै जना लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्ति हुन्।
संयोग पारलैंगिक पुरूष हुन्, सरिता बाइसेक्सुअल (द्विलिंगी) महिला। प्रेमी–प्रेमिका उनीहरू सँगै बस्छन्।
संयोगको घर गुल्मी हो। जन्मिँदा उनको लैंगिक पहिचान महिला थियो। हुर्किँदै जाँदा उनलाई आफू पुरूषजस्तो भएको महसुस हुँदै गयो। १८ वर्ष उमेरका भइसक्दा उनले आफूलाई छोरी मान्नै सकेनन्। आफूलाई छोरो घोषणा गरे।
'अठार वर्षको हुँदा म केटाको हुलियामा हिँड्न थालेँ। म महिला होइन, पुरूष हुँ भनेँ; पुरूष पहिचानमै खुलेँ,' संयोगले भने।
उनको यो निर्णयमा बुबाको साथ थियो। त्यसैले जसले जे भने पनि उनलाई केही फरक पर्दैन थियो।
'मैले बुबाको साथ पाएको थिएँ,' उनले भने, 'बुबाले मेरो छोरो हो, जिन्दगी उसको हो, खुसी उसको हो, जसरी खुसी हुन्छ त्यसरी नै बाँच्छ भन्नुभयो।'
उनलाई सम्झना भएसम्म ६ कक्षामा पढ्दा उनले पहिलोपटक आफूलाई केटाजस्तो महसुस गरेका थिए। उनी कक्षामा केटाहरूसँग खेल्न र उनीहरू सँगै बस्न रूचाउँथे। उनको यस्तो स्वभाव कक्षामा सहपाठीहरूका लागि अचम्म हुन्थ्यो। अपमानजनक शब्दहरू भन्दै खासखुस गर्थे। संयोग दुःखी हुन्थे। केटाजस्तो हुन मन लाग्नुको कारण थाहा नपाएर चिन्तामा पर्थे। कुनै रोग पो लागेको हो कि भन्ने ठान्थे।
'कुनै रोग लागेको होला जस्तो लाग्यो। साथीहरू र छरछिमेकीले हिजडा भनेपछि मानसिक रूपमा विचलित पनि भएँ,' त्यो समय सम्झिँदै उनले भने।
संयोग आमाबुबाका एक्ला सन्तान थिए। सानो उमेरमा छिमेकका दिदीहरूले उनलाई छोरीको मेकअप (शृंगार) गरिदिन्थे। त्यसो गरेको उनलाई राम्रो लाग्दैन थियो। जसोतसो फुत्किन्थे। किन यस्तो भएको होला भनेर आफैंलाई प्रश्न गर्थे। जवाफ थिएन। चिन्तामा पर्थे।
'शरीर छोरीको जस्तो भए पनि म त छोरो नै हुँ जस्तो लाग्थ्यो। मनमा कुरा खेलिरहन्थे। म त निद्रा लाग्ने औषधि खानुपर्ने अवस्थामा पुगेँ,' उनले भने, 'घरबाट चाहिँ मैले सधैं माया पाएँ।'
यस्तै उदासीमा एक दिन उनी मोबाइलमा इन्टरनेट चलाउँदै थिए। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबारे जानकारी पाउने एउटा सामग्री भेटे। उत्साहित भएर थप सामग्री खोजे। यही सिलसिलामा सामाजिक सञ्जालमा आफूजस्तै एक जना साथी भेटे। उनीसँग कुरा भयो। उनले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबारे अलिक बढी थाहा पाएका रहेछन्। तिनै साथीमार्फत उनले आफू पारलैंगिक पुरूष (ट्रान्सम्यान) भएको बुझे।
'म छोरो नै भएकोमा विश्वस्त भएपछि मनको द्वन्द्व शान्त भयो। आत्मबल पनि दह्रो हुँदै गयो,' उनले भने।
सरितासँग उनको भेट तीन वर्षअघि भएको थियो। नीलहीरा समाज (ब्लु-डाइमन्ड सोसाइटी) ले काठमाडौंमा एउटा कार्यक्रम गरेको थियो। त्यसमा काठमाडौंबाहिरका व्यक्ति पनि निम्त्याइएका थिए। त्यही अवसरमा सरिता र संयोगको भेट भयो। उनीहरू साथी भए।
पाल्पामा जन्मेकी सरिता आफूलाई बाइसेक्सुअल (द्विलिंगी) महिला भन्छिन्। बाइसेक्सुअल व्यक्तिको शरीर महिला वा पुरूष जे भए पनि अर्को महिला वा पुरूष दुवैसँग भावनात्मक तथा यौनिक रूपमा आकर्षित हुन्छन्।
सुरूमा सरितालाई पनि आफ्नो स्वभाव अनौठो लाग्थ्यो। उनका एक आफन्त पारलैंगिक महिला थिए। सरिताले तिनै आफन्तमार्फत लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबारे जानकारी पाइन्।
'मैले उहाँ (पारलैंगिक महिला आफन्त) बाट धेरै कुरा थाहा पाएँ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई भेट्न पाएँ,' उनले भनिन्।
उमेरसँगै यौन चाहना बढ्दै जाँदा उनी महिलासँग पनि आकर्षित हुन थालेकी हुन्। वैदेशिक रोजगारीका सिलसिलामा बुबा बितेपछि उनी आफन्तको घरमा हुर्किन्। दिदीले काठमाडौंमा जागिर पाएपछि भने दिदीसँगै बस्न थालिन्।
आफ्नो लैंगिक पहिचानबारे विश्वस्त भएपछि सरिता लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको हकअधिकारका लागि काम गर्ने संस्थाका कार्यक्रमहरूमा उपस्थित हुन थालिन्। यही क्रममा संयोग र सरिताको भेट भएको थियो।
उनीहरूबीच बिस्तारै मनका कुरा आदानप्रदान हुन थाल्यो। यसबीच संयोगका बुबा बिते। उनी काठमाडौं आए।
'काठमाडौंमा हामी एकअर्काको सहारा भयौं अनि सँगै बस्न थाल्यौं,' संयोगले भने, 'सरितालाई भेटेपछि संसारभरिको खुसी पाएजस्तो भएको छ। मेरो भावना बुझ्छिन्, दुःखसुखमा साथ दिन्छिन्। उनीबिना संसार नै छैन जस्तो लाग्छ।'
सरिताले थपिन्, 'संयोग मलाई राम्ररी बुझ्छन्। मेरो भावनाको ख्याल गर्छन्। बुबा बितेपछि उनी निराश थिए। मेरो साथ पाएपछि खुसी छन्।'
उनीहरू सँगै बसेको एक वर्ष भयो। सरिताकी दिदीलाई यो सम्बन्धबारे थाहा छ। दिदीकै सल्लाहमा संयोग र आफू सँगै बसेको सरिताले बताइन्।
संयोग 'पठाओ' कम्पनीमा काम गर्छन्, सरिता एउटा क्याफेमा। कक्षा १० सम्मको पढाइ पूरा गरेकी सरिता अझै पढ्न चाहन्छिन्। तर जागिर गर्नुपर्ने भएकाले समय मिलाउन मुस्किल छ।
संयोग र सरितालाई उनीहरूका आसपासका मान्छेले श्रीमान–श्रीमती नै मान्छन्। खासमा ती मान्छेलाई उनीहरू लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति हुन् भन्ने थाहा छैन। कतिपयले शारीरिक रूपमा दुवै महिला हुन् भन्ने पनि ठानेका छन्।
'यस्ता व्यक्तिले कहिलेकाहीँ लैंगिक पहिचान र यौन सम्बन्धका बारेमा प्रश्न गर्छन्। कसैले उपहास र अपमान पनि गर्न खोज्छन्,' सरिताले भनिन्।
संयोगले भने १२ कक्षासम्म पढेका छन्। उनको नागरिकतामा लैंगिक पहिचान महिला लेखिएको छ। उनी पारलैंगिक पुरूषको पहिचानयुक्त नागरिकता प्रमाणपत्र बनाउन चाहन्छन्। प्रयास पनि गरेका हुन्। सफल भएन।
पारलैंगिक महिला वा पारलैंगिक पुरूष हुँ भनेर सोहीअनुसारको लैंगिक पहिचान माग्ने व्यक्तिसँग जिल्ला प्रशासन कार्यालयले मेडिकल रिर्पोट माग्छ। चिकित्सकले शरीर हेरेर रिपोर्ट दिन्छ।
'शरीर महिलाको जस्तो भए पनि मेरो मन पुरूषको हो। प्रशासनले यस्तो कुरा बुझ्दैन,' संयोग भन्छन्, 'सर्जरी गराउँदा गाह्रो हुन्छ। पैसाको खर्च त छँदैछ। पारलैंगिक पुरूष हुँ भनेपछि शरीर पनि परिवर्तन गर्नुपर्छ भन्ने छैन। मैले सर्जरी नगराउने विचार गरेँ। मरो मन र स्वभाव पुरूषको जस्तो छ भनेपछि म पुरूष नै हुँ।'
वैदेशिक रोजगारीमा जाने उनीहरूको सपना लैंगिक पहिचानकै कारण विफल भइरहेको छ।
संयोगका अनुसार नागरिकता प्रमाणपत्रमा महिलाको नाम, हाउभाउ र स्वभाव पुरूषको जस्तो, यही कारण उनलाई अन्तर्वार्तामा असफल भएको नतिजा सुनायो।
'जीवन त जसोतसो चलेकै छ। तर विदेश जाने प्रयास गर्दा लैंगिक पहिचानका कारण अस्वीकृत भएकोमा दुःख लागेको छ,' उनीहरू भन्छन्, 'हाम्रो सम्बन्धमा खुसी छौं। अब विदेश जान पाए जीवन सहज हुन्थ्यो भन्ने लागेको छ। त्यसैले विदेश जाने सपना देखेर बसेका छौं।'