चितवनबाट कोशी स्थानान्तरण गरिएका गैंडाहरूलाई इन्क्लोजर बाहिर छाड्न थालिएको छ।
चितवन राष्ट्रिय निकुञ्जभित्रको कसरा सेक्टरमा रहेका पुष्पा र अञ्जली नामका पोथी गैंडाहरूलाई असोज ९ गते मंगलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको थियो। १० गते बिहान वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतोले पूजा गरेर उनीहरूलाई आरक्षको पथरी पोष्टमा रहेको इन्क्लोजरभित्र पठाएका थिए।
ती गैंडाहरूलाई हरेक दिन बिहान इन्क्लोजरबाट खुला ठाउँमा छाड्न थालिएको राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाकी प्रमुख रचना शाहले बताइन्।
‘बिहान इन्क्लोजरबाट खुला ठाउँमा पठाउने, साँझ फेरि भित्र राख्ने गर्न थालिएको रहेछ,’ शाहले भनिन्, ‘साँझ फलफूल देखाउँदै भित्र राख्ने गरिएको छ। प्राकृतिक बासस्थानमा रहनलाई बानी पार्ने प्रयास हुँदैछ।’
माउबाट छुटेर अलपत्र अवस्थामा भेटिएका यी दुई गैंडालाई केन्द्रले हुर्काएको थियो। केन्द्रका कर्मचारी लालबहादुर महतराले यिनको हेरचाह गर्ने गरेका थिए। महतरा अहिले पनि कोशी वन्यजन्तु आरक्षमै बसेर पुष्पा र अञ्जलीको स्याहार गर्दैछन्।
‘गैंडाको आनीबानी थाहा पाएकाले उसलाई केही दिन त्यहीँ राखिएको छ। उताका कर्मचारीले मेसो पाएपछि फर्किन्छ,’ शाहले भनिन्, ‘पुष्पा-अञ्जली इन्क्लोजर बाहिर खुला ठाउँमा पनि समायोजन हुँदैछन्।’
गत वैशाख ३१ गते उनीहरूलाई केन्द्रको परिसरबाट निकुञ्जको कोर क्षेत्र लामिताल नजिकै छाडिएको थियो।
केन्द्रमा अहिले पनि पूजा, राम र देव नामका गैंडाका केटाकेटी हुर्किरहेका छन्। यी तीनवटै केटाकेटीलाई बाघको आक्रमणबाट घाइते भएर उद्धार गरिएको थियो।