चीनको सिसापाङ्मा हिमालमा गएको हिमपहिरोमा परेर नेपालका विश्वकीर्तिमानी आरोही तेन्जेन लामा बेपत्ता भएका छन्।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार तिब्बतमा पर्ने सिसापाङ्मा हिमालमा शनिबार दिउँसो ७ हजार ६ सय मिटरमाथि गएको हिमपहिरोमा एक नेपाली र एक अमेरिकी आरोहीको मृत्यु भएको छ।
तेन्जेनसँगै एक जना अमेरिकी आरोही पनि बेपत्ता भएकी छन्।
सेभेन समिट कम्पनीका अनुसार सिसापाङ्मा हिमाल आरोहण गर्न तेन्जेन लामा र एलिट एक्स्पेडिसनका मिङ्मार शेर्पासँगै अमेरिकी दुई जना महिला आरोही अन्ना गुटु र जिना मारी गएका थिए।
सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाले हिमपहिरोमा फसेर चार जना आरोही बेपत्ता भएको पुष्टि गरे।
आरोहणमा संलग्न गाइडहरूसँग स्याटालाइट फोनबाट कुराकानी भएको उल्लेख गर्दै शेर्पाले भने, ‘सबै कुरा त थाहा छैन। तर स्याटालाइट फोनबाट आएको खबरअनुसार हिजो दिउँसोतिर हिमपहिरो गएको रहेछ। दुई जनाको शव भेटिएको भन्ने छ र बाँकी दुई जनाको खोजी कार्य भइरहेको छ।’
उनले घटनाबारे थप बुझ्नका लागि कुराकानी गर्ने प्रयास भइरहे पनि कुनै सम्पर्क हुन नसकेको जनाए।
एलिट एक्स्पेडिसनका निर्देशक मिङ्मा डेभिड शेर्पाले हिमपहिरोमा नेपालीसहित चार जना आरोही बेपत्ता भए पनि शव भेटिएको आधिकारिक पुष्टि नभइसकेको बताए।
‘घटनाबारे विस्तृत सूचना आएको छैन। माथि कुराकानी गर्नै गाह्रो भइरहेको छ। दुई जनाको शव भेटियो भन्ने पनि कुरा आइरहेको छ। हामीले पनि समाचारबाटै थाहा पायौं। बेस क्याम्पको मान्छेले खबर गरेको भन्ने छ तर कसले भन्यो भन्ने थाहा छैन।'
आरोहणका लागि गएका दुई जना अमेरिकी आरोहीहरू सिसापाङ्माको सफल आरोहण गरेर विश्वका ८ हजार मिटर अग्ला १४ वटा शिखर चढ्ने पहिलो अमेरिकी महिलाको कीर्तिमान बनाउन चाहन्थे। उनीहरूले अन्य १३ वटा हिमालको आरोहण गरिसकेका थिए।
हिमपहिरोमा बेपत्ता भएका तेन्जेन लामा विश्व कीर्तिमानी आरोही हुन्। उनले गत साउनमा ९२ दिनमै विश्वका अग्ला १४ शिखरको आरोहण गरेर कीर्तिमान बनाएका थिए। नर्वेजियन पर्वातारोही क्रिस्टिन हरिलासँगै बनाएको यो रेकर्ड यसअघि निर्मल पुर्जा उर्फ 'निम्स दाइ' को नाममा थियो। पुर्जाले ६ महिना ६ दिन लगाएर बनाएको उक्त रेकर्ड तेन्जेनले आधा समयमै भंग गरिदिएका थिए।
हेर्नुस् तेन्जेनबारे सेतोपाटीले गरेको भिडिओ सामग्री: