करिब चार वर्षअघि नर्सिङ पढ्नका लागि अमेरिका जान खोजेकी रोशनी (नाम परिवर्तन) को भिसा लागेन। छोरीको भिसा नलाग्दा आमा, बाबुसमेत निरास बने। बाबु, आमाको निराशाले भरिएको मलिन अनुहार नियालेकी रोशनीले भारत गएर भने पनि नर्सिङ पढ्ने चाहना राखिन्। परिवारले उनलाई भारतको बैंगलुरू पठायो।
आफ्नै इच्छाले गए पनि कहिल्यै घर नछाडेकी रोशनीलाई केही दिनमै परिवारको यादले सताउन थाल्यो। पढाइमाभन्दा परिवारको तस्बिर बढी मनमा खेलाउन थालेपछि उनको स्वास्थ्य नै खराब हुन थाल्यो।
‘रिंगाटा लाग्ने, तनाव हुने, डर लाग्ने जस्तो समस्या भएपछि कलेजकै अस्पतालमा परीक्षण गराएँ। औषधि खान थालें। यो समस्याले म धेरै समय त्यहाँ रहन सकिनँ। केही महिनामै घर फर्किएँ,’ उनले सुनाइन्।
घर फर्किएपछि उनले आफ्नो रुचीको अर्को पेशा ब्युटिसियन बन्ने चाहनालाई अगाडि बढाउन तालिम लिन थालिन्। तर समाजले उनको रूचीको विषयमाथि धेरै प्रश्न सोध्न थाल्यो।
‘चिनेजति सबैले नपढेर किन मेकअपको तालिम लिएको भनेर प्रश्न गर्न थाले। आफूले चाहेको विषयमा दक्ष हुन खोज्दा आफन्त, समाजले नराम्रो सोच्न थाल्यो,’ रोशनीले भनिन्, ‘परिवारको चाहना पूरा गर्न सकिनँ, आफूले चाहेको पढ्न सकिनँ, चाहेको पेशा पनि अँगाल्न सकिनँ। त्यसपछि म डिप्रेसनमा जान थालें। असल र खराब मान्छे नचिनी संगत गर्न थालें।’
केही महिनाअघि त यस्तो अवस्था आयो कि परिवारले रोशनीलाई नियन्त्रणमा राख्नै सकेन। सामान्य औषधिले काम गर्न छोड्यो।
उनको अवस्था बिग्रिँदै गएपछि परिवारले मनरोग विशेषज्ञसँग सल्लाह मागे। रोशनीलाई उपचारका लागि मानसिक स्वास्थ्य प्रवर्द्धन, उपचार तथा व्यवस्थापनको उद्देश्यले खैरहनी नगरपालिका–११ गैंडाहामा सञ्चालन भइरहेको ब्युटिफुल माइण्ड इन्स्टिच्युट अफ साइक्याट्रीमा लगियो।
‘मैले नमान्दा नमान्दा पनि गाडीमा हालेर यहाँ ल्याइयो। मानसिक समस्याको औषधि दिइयो। तर म आफूलाई मानसिक समस्या भएको मान्न तयार थिइनँ,’ उनले भनिन्, ‘औषधि खान मनै लाग्थेन। मलाई किन जबरजस्ती गरिँदैछ भन्नेमात्रै लागिरह्यो। आफू मानसिक रोगको सिकार भएको रहेछु भन्ने महसुस गर्न मलाई एक महिनाभन्दा बढी समय लाग्यो।’
सोमबार बिहान ब्युटिफुल माइण्ड इन्स्टिच्युटमा हामीसँग भेट हुँदा रोशनीको मुहारमा चमक थियो। उनी मुस्कुराउँदै अतिथिहरूलाई स्वागत गर्दै थिइन्।
‘म आज निकै खुसी छु। सुरूमा ८ वटा कडा डोजका औषधि खाएको म केही दिनदेखि २ वटामात्रै खाए पुग्ने अवस्थामा पुगेकी थिएँ। हिजोदेखि डाक्टरले दुईमध्ये पनि एउटा औषधिको डोज घटाइदिनु भएको छ,’ केही दिनदेखि सोही संस्थामा काम गर्न थालेकी रोशनीले भनिन्, ‘मलाई त अहिले नयाँ जीवन बिताइरहेको अनुभूति भएको छ। अबको केही दिनमा त म चार वर्षभन्दा पहिलेको अवस्थामै फर्कन्छु होला।’
ब्युटिफुल माइण्ड इन्स्टिच्युट अफ साइक्याट्रीका सञ्चालक रहेका वरिष्ठ मनोचिकित्सक डा.गिरिराज भन्तानाका अनुसार नेपालमा कुल जनसंख्याको ३३ प्रतिशत मानिस कुनै न कुनै समयमा, कुनै न कुनै किसिमको मानसिक समस्याबाट गुज्रिने गरेका छन्। जनसंख्याको १५ प्रतिशत मानिस मानसिक समस्याबाट पीडित रहेको र तीमध्ये २ प्रतिशत नेपालीमा जटिल किसिमको मानसिक रोग रहेको अध्ययनबाट देखिएको डा.भन्तनाले बताए।
‘करिब ९० प्रतिशत मानसिक रोगीले आफू बिरामी छु भन्ने स्वीकारै गर्दैनन्। उनीहरूलाई आफू बिरामी रहेको र औषधि खानुपर्छ भन्ने महसुस हुन करिब डेढ महिना लाग्ने गरेको देखिन्छ,’ डा.भन्तना भन्छन्, ‘औषधि खानै नमान्ने, मलाई किन यस्तो ठाउँमा ल्यायौ भनेर कराउने गर्दागर्दै करिब डेढ महिनामा उनीहरूले आफूमा रहेको समस्या थाहा पाउँछन्।’
रोशनी पनि त्यही अवस्थाबाट अघि बढेको उनले बताए।
ब्युटिफुल माइण्ड इन्स्टिच्युट अफ साइक्याट्रीमा एक सय जनालाई राखेर उपचार गर्नसक्ने क्षमता छ। ६ वर्षअघि स्थापना भएको यो संस्थाबाट अहिलेसम्म ४३९ जनाले सेवा लिएका छन्। अहिले यहाँ ४५ जनाले आवासीय रूपमा उपचार लिइरहेका छन्।
‘यहाँ ४५ दिन, ३ महिना र ६ महिनाको तीन प्याकेजमा आवासीय रूपमा उपचार हुन्छ। ४५ दिनमा लाक्षणिक हिसाबले बिरामी ठीक हुन्छन्। ३ महिनाको प्याकेजमा बिरामीले आफूमा भएको रोगको पहिचान गर्न सक्छन्। ६ महिनाको प्याकेजमा बिरामीलाई निको पारेर सीपमूलक तालिमसमेत दिने गरेका छौं,’ डा.भन्तनाले भने, ‘यहाँबाट फर्कंदा कुनै सीप पनि जानेर फर्कन्छन्। त्यसले उनीहरूलाई समाजमा पुनर्स्थापना हुन सघाउँछ।’
आवश्यकताअनुसार कृषि, पशुपालन, इलेक्ट्रिसियन, प्लम्बर, कुक, वेटर, कार्यालय सञ्चालनलगायतका तालिम उपलब्ध गराउने गरिएको उनले बताए।
२ बिघा १ कट्ठा क्षेत्रफलमा रहेको उक्त संस्थामा कृषि, पशुपालनको तालिमका लागि आफ्नै फर्म छ।
यहाँ उपचार पाएर निको भएका ५० जनाभन्दा बढीलाई विभिन्न संस्थामा रोजगारी पाएका छन्। १० जनाले यही संस्थामा रोजगारी पाएका छन्।
उपचारपछि यहीँ रोजगारी पाउनेमध्ये रत्ननगरका ५७ वर्षीय राजेन्द्रप्रसाद भट्टराई पनि हुन्। कोरोना महामारीको समयसम्म उनी रत्ननगर नगरपालिकाको सवारी चालक थिए। अत्यधिक मदिरा सेवनका कारण मानसिक तथा शारीरिक रूपमा समस्या आएपछि उपचारका लागि ब्युटिफुल माइन्डको कार्यालयमा पुगेका उनले निको भएपछि त्यही कार्यालयको सवारी चालकको काम पाएका छन्।
‘जतिखेर पनि रक्सी खान मन लाग्ने। झगडा गरिरहन मन लाग्ने समस्या बढ्दै गएको थियो। एक दिन रक्सी खाएर बाटैमा लडेपछि उपचारका लागि यहाँ आइपुगें। उपचारपछि मेरो स्वास्थ्यमा सुधार आयो। अहिले मलाई रक्सी हेर्न पनि मन लाग्दैन,’ भट्टराईले भने, ‘यो कामले परिवार चलाउन सहयोग पुगेको छ।’
अर्का मनोचिकित्सक प्राध्यापक शैलेन्द्रराज अधिकारीले मानसिक रोगको पहिचान गर्न समय लाग्ने बताए। बिरामीको व्यवहार, लक्षण हेरेर विश्लेषण गरेपछि रोगको पहिचान गर्न सकिने उनले बताए।
‘तर कडा खालको मनरोग लागिसक्दा पनि म बिरामी छु भन्ने थाहा हुँदैन। यो समस्याको पहिचान एमआरआई, सिटिस्क्यान गरेर पनि पत्ता लाग्दैन। बिरामीको व्यवहार र लक्षण हेरेर उपचार गर्दै जाने हो। डिप्रेसन, एन्जाइटी, ओसिटीमा मलाई केही न केही समस्या छ, उपचार चाहिन्छ भन्ने बिरामीलाई थाहा हुन्छ,’ डा.अधिकारीले भने, ‘लामो परामर्शपछि औषधिको नियमित सेवनले ती रोगहरू निको पार्न सकिन्छ।’
वातावरणीय प्रभाव, वंशाणु, शिक्षा, जनचेतनाको कमी, नकारात्मक सोच, आर्थिक अभाव, मानसिक तनाव, लागू औषधि तथा मदिरा सेवन लगायतका कारण मानसिक रोग लाग्ने गरेको उनले बताए।
नेपालमा आर्थिक समस्या, वैदेशिक रोजगारी, पारिवारिक कलह, मोबाइलको अत्यधिक प्रयोगजस्ता कारणले पनि मानसिक रोगी बढिरहेको डा.भन्तानाले बताए।
रोजगारीका लागि अमेरिका, अष्ट्रेलिया, युरोप, जापान गएकाहरू पनि मानसिक रोगको सिकार भएर उपचारका लागि यहाँ आउने गरेका उनले बताए।
‘नेपाली युवाहरू ठूलो उत्साह र अपेक्षाका साथ विदेशिने गर्छन्। तर त्यहाँ पुगेपछि जब उनीहरूको अपेक्षा पूरा हुँदैन अनि मानसिक रोगको सिकार हुन्छन्। त्यहाँ उपचार गर्न आर्थिक रूपले नसक्ने भएपछि यहाँ आउने गरेका छन्। अहिलेसम्म यहाँ ४० जनाभन्दा बढी विदेशबाट फर्किएकाहरूको उपचार भएको छ,’ उनले भने, ‘५ जना त अहिले पनि उपचारमै हुनुहुन्छ।’
समाजमा प्रतिष्ठा कमाएका पेशाकर्मीहरूलाई पनि मानसिक रोगले छाडेको छैन। यो समस्या झेल्नेमा चिकित्सक समेत छन्। अहिलेसम्म यहाँबाट ९ जना चिकित्सक, ३ जना इन्जिनियर, ५ जना बैंकर, ३ जना पत्रकार, ५ जना राजनीतिककर्मी, ५ जना शिक्षकले पनि आवासीय रूपमा उपचार सेवा लिएको संस्थाका सञ्चालक सदस्य कमल शर्मा भुषालले बताए। ९ वर्षीय बालकदेखि १०३ वर्षीय वृद्धलेसमेत यहाँबाट सेवा लिएका छन्।
विश्व स्वास्थ्य संगठनले ६० लाख जनसंख्याका लागि ६ जना मनोचिकित्सकसहितको जनशक्ति उपचारका लागि आवश्यक पर्ने उल्लेख गरेको छ।
नेपालमा अहिले २५० जनामात्रै मनोचिकित्सक छन्। कम जनशक्ति रहेकाले थोरैले धेरैलाई उपचार सेवा दिनुपरेको डा.भन्ताना बताउँछन्।
सरकारी अस्पतालहरूमा मनोचिकित्सकसहितका जनशक्तिको व्यवस्था भए पनि जनशक्तिअनुसारको सेवा नहुँदा बिरामीहरूले निजी अस्पतालमा महँगो शुल्क तिरेर उपचार गर्नुपरेको उनले बताए।
‘निजी स्वास्थ्य संस्थालाई सरकारले कुनै सहयोग गर्दैन। सरकारलाई कर र बैंकको व्याज बुझाउनमै धेरै संघर्ष गर्नुपरेको छ,’ भन्ताना भन्छन्, ‘खर्च बढी हुँदा त्यसको भार बिरामीलाई परिरहेको छ।’
यहाँ आवासीय रूपमा उपचार गर्न मासिक खर्च ५६ हजार रुपैयाँ, खानाका लागि १२ हजार र औषधिका लागि ३ हजार रुपैयाँभन्दा बढी लाग्छ।
‘हामी आर्थिक अवस्था कमजोर रहेका बिरामीलाई पनि यहाँ उपचार गर्न चाहन्छौं। त्यसका लागि सरकारको सहयोग आवश्यक छ। स्वास्थ्य संस्थाका आधारभूत कुराहरूमा सरकारले नीतिगत रूपमा सहयोग गर्यो भने विपन्नले पनि स्तरीय सेवा पाउने थिए,’ उनले भने, ‘सरकारले कुनै सहयोग नगर्दा पनि आर्थिक अवस्था कमजोर भएका बिरामी आएको अवस्थामा सेवा दिने गरेका छौं।’
मानसिक रोगीलाई समाजले निन्दा र घृणा गर्ने गरेकाले त्यो अवस्थाको अन्त्य गर्न जनचेतना अभियानलाई व्यापक बनाउनुपर्ने मानसिक स्वास्थ्य जागरण अभियन्ता शेषनाथ अधिकारी बताउँछन्।
मानसिक रोग पनि अन्य रोगजस्तै हो, यो रोग लागेका लागि हेयको दृष्टिले हेर्न हुँदैन, सुरूमै उपचार पाए निको हुन गाह्रो छैन भनेर समाजलाई बुझाउनुपर्ने उनले बताए।
‘शरीरका अन्य भागमा लागेका रोग निको भएजस्तै मनमा लागेको रोग पनि निको हुन्छ। यसलाई लुकाउनु हुँदैन। उपचारमा अलमल गर्नुहुँदैन भनेर सचेत बनाउनुपर्छ,’ अधिकारी भन्छन्, ‘मानसिक रोगको उपचार गराउने सरकारी अस्पताल स्थापना गर्न सरकारलाई दबाब पनि दिनुपर्छ। बिरामीको संख्या बढ्दै गएकाले अब कम्तीमा एक प्रदेश एक मानसिक रोग अस्पताल चाहिएको छ।’
ब्युटिफुल माइण्ड इन्स्टिच्युट अफ साइक्याट्रीमा आरटिएमएस, टिडिसिएस, वायोफिड–ब्याक, सेक्स थेरापी, इलेक्ट्रो–स्लिप, पोली सोमनोग्राफी, इसिटी लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी सेवा रहेको सञ्चालक भन्तानाले बताए।
‘म सक्षम छु’ भन्ने भावनाको विकास गराउने पेशागत थेरापी, मस्तिष्कलाई आनन्दित पार्दै आत्मविश्वास बढाउन भूमिका खेल्ने संगीत थेरापी दिइने र अपायक, दुर्गम, टाढाका, उपचार लिन नमान्ने, आनाकानी गर्ने, डराउने सेवाग्राहीहरूको सुविधाका लागि उद्धार सेवाको पनि व्यवस्था गरिएको उनले बताए। खैरहनी–४ पर्सा बजारमा पनि यो संस्थाको कार्यालय छ।