उन्नाइस वर्षअघि आफन्तको हत्या गरेर फरार भएका व्यक्ति गेरू वस्त्र धारण गरेको साधुको भेषमा पक्राउ परेका छन्।
२०६१ मंसिर १४ गते राती भरतपुरमा हत्या गरेर फरार भएका ४३ वर्षीय तोयानाथ चापागाईंलाई प्रहरीले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बाट पक्राउ गरेको हो।
बर्दघाट बजारदेखि केही पर बाढीपीडित भन्ने ठाउँबाट तोयानाथ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पंडितले बताए।
तोयानाथले भरतपुर–७ कृष्णपुर घर भएकी मनकुमारी वाग्लेको हत्या गरेको जाहेरी प्रहरीमा थियो। मनकुमारी तोयानाथकी सौतेनी आमाकी आमा हुन्। मृतक मनकुमारीकी बुहारी सुमित्रा वाग्लेले प्रहरीमा दिएको किटानी जाहेरीअनुसार तोयानाथ बेला–बेलामा उनीहरूको घरमा गइरहन्थे। तोयानाथले घरमा एक नाबालक मात्रै रहेको मौका छोपेर सौतेनी हजुरआमा नाता पर्ने ६५ वर्षीया मनकुमारीको हत्या गरी कानमा लगाएको सुनको मारवाडी लिएर भागेका थिए।
सुमित्राले घटनाको भोलिपल्ट प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।
सुमित्रा मंसिर १३ गते छोरीलाई लिएर माइती पदमपुर गएपछि घरमा सासू मनकुमारी र सात वर्षीय छोरा सुवास मात्रै थिए। १४ गते साँझ साविकको मेघौली गाविस–३ जीतपुर (हालको भरतपुर महानगरपालिका–२८) घर भएका कृष्ण नामले चिनिने २५ वर्षीय तोयानाथ साइकल चढेर मनकुमारीको घरमा आइपुगे। उनले बेलुकी खाना खाएर सुतेकी मनकुमारीलाई ढुंगा र बाँसको लौरोले टाउकोमा हानी हत्या गरेको सुमित्राले दिएको जाहेरीमा उल्लेख छ।
तोयानाथ मंसिर ९ गते पनि मनकुमारीको घरमा गएका थिए। सुमित्राका सात वर्षीय छोरा सुवासले हजुरआमाको हत्या भएको दिन घर आएका व्यक्ति ९ गते आएका व्यक्ति नै रहेको भनेपछि प्रहरीले खोजतलास सुरू गरेको थियो। तर लामो समयसम्म उनी पक्राउ पर्न सकेका थिएनन्।
'शिव मन्दिर नजिकै साधुको भेषमा बसिरहेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो,' डिएसपी पंडितले भने, 'उनी साधुको भेषमा हिँडेको सूचनाको आधारमा खोजी भइरहेको थियो।'
बाबु र सौतेनी आमाले आफू र आफ्नो आमालाई हेला गरेको तुस पालेर बसेका तोयानाथले सौतेनी आमाकी आमा मनकुमारीले पनि राम्रो व्यवहार नगरेपछि हत्या गरेर भागेको हुनसक्ने अनुमान प्रहरीको छ। डिएसपी पंडितले तोयानाथले मदिरा सेवन गरेर मनकुमारीको हत्या गरेको स्वीकार गरेको बताए।
बुहारी सुमित्राले दिएको जाहेरीमा भने तोयानाथले घरमा आउँदा पैसा माग्ने गरेको तर पैसा छैन भनेर नदिने गरेको उल्लेख छ।
बागमती प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), इलाका प्रहरी कार्यालय बर्दघाटको सहयोगमा सोमबार अपराह्न तोयानाथलाई पक्राउ गरिएको डिएसपी पंडितले बताए।
तोयानाथको खोजीमा महत्वपूर्ण भूमिका खेलेका एक प्रहरी अधिकारीका अनुसार तोयानाथ प्रहरीबाट जोगिन लामो समयदेखि साधुको भेषमा नेपाल र भारतका मन्दिर तथा सहर पुगेका थिए।
'उनी साधुको भेषमा भारतको बृन्दावन, मथुरा, नेपालको त्रिवेणी, सिद्धबाबा, दाउन्ने लगायत स्थानका मन्दिरहरूमा बस्ने गरेका रहेछन्। कहिले पुजारी, कहिले माग्ने बनेर प्रहरीबाट जोगिँदै हिँडेका रहेछन्,' ती अधिकारीले भने, 'हामी यो कुरा थाहा पाएर केही दिनअघि दाउन्ने पुग्दा उनी भेटिएनन्। सिद्धबाबा मन्दिरतिर गएको बेला परेछ। पछि नियमित निगरानी गरेपछि उनलाई साधुकै भेषमा नियन्त्रणमा लिन सफल भयौं।'
ती अधिकारीका अनुसार तोयानाथ साधुको भेषमा हिँडे पनि त्यो अनुसारको काम गरेका थिएनन्।
'साधुजस्तो देखिएर पैसा माग्ने, होटलमा बसेर रक्सी खाने गर्दा रहेछन्,' उनले भने, 'हत्या गरेर भागेपछि केही महिना बर्दघाटमा होटलमा भाँडा माझ्ने कामसमेत गरेका उनी पछि प्रहरीले समात्ने डरले जोगीको भेष बनाएर हिँड्न थालेका रहेछन्।'
पक्राउ परे लगत्तै अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरू गरिएको डिएसपी पंडितले बताए।
'अभियुक्त पहिचान भएको तर पक्राउ पर्न नसकेको अवस्था थियो। अनुसन्धान प्रक्रिया पूरा गरेर अदालत पेस गर्छौं,' उनले भने।
पंडितले बागमती प्रदेश प्रहरीले प्राप्त गरेको विशेष सूचनाको आधारमा सूत्रहरू परिचालन गर्दै जाँदा धेरै निगरानीपछि तोयानाथलाई पक्राउ गर्न सफल भएको बताए।
बागमती प्रदेश प्रहरी कार्यालयले गत साउन १३ गते मकवानपुर जिल्ला प्रहरी कार्यालय मकवानपुरसँगको समन्वयमा हेटौंडा–११ की पाँच वर्षे बालिकालाई जबरजस्ती करणी गरी कर्तव्यपश्चात मारेर राप्ती नदीमा फालेर फरार भएका एक व्यक्तिलाई २० वर्षपछि पक्राउ गरेको थियो।
बागमती प्रदेश प्रहरीले गत साउनमै जिल्ला प्रहरी कार्यालय धादिङसँग समन्वय गरेर ६ वर्षअघिको कर्तव्य ज्यानसम्बन्धी घटनामा एक जनालाई पक्राउ गरेको थियो। २०७४ असोज १२ गते साँझ धादिङको धुनीवेशी नगरपालिका–९ टायल घरस्थित अँधेरीखोलामा मोरङको विराटनगर महानगरपालिका–५ की ३२ वर्षीया ललिता कुमारी रामको हत्या गरेको अभियोग लागेका सप्तरीको बोदेबसाइन नगरपालिका–८ काचनका ३५ वर्षीय अरूणकुमार मिजार पक्राउ परेका थिए।