गत असोज ३ गते संविधान दिवसको अवसरमा सरकारले सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालनमा ल्यायो। तर एक महिना नबित्दै अहिले यो सेवा बन्द हुने स्थितिमा पुगेको छ।
राजधानीमा बढ्दो सवारी जामलाई मध्यनजर गर्दै भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म ४५ मिनेटमा पुग्ने गरी द्रुत बस सेवा सञ्चालनमा ल्याइएको थियो। जसका लागि सडकका दायाँ-बायाँ रातो लेन पोतेर डेडिकेटेड लेन पनि बनाइएको थियो। तर उक्त लेनमा अन्य सवारी साधन पनि गुडेपछि द्रुत बस सेवा प्रभावकारी ढंगबाट सञ्चालनमा आउन सकेन।
यातायात व्यवस्था विभागको सहकार्यमा नेपाल यातायात व्यवसायी महासंघले सुरूमा २५ वटा बसबाट यो सेवा सञ्चालन गरेको थियो।
यी बस गुड्नका लागि समय तोकिएको थियो। कार्यालय समयमा बढी जाम हुने भएकाले सर्वसाधारणलाई सहजता पुर्याउने उद्देश्यले बिहान ९ बजेदेखि ११ बजे र अपराह्न ४ बजेदेखि ६ बजेसम्म चल्ने गरी यो सेवा सञ्चालनमा ल्याइएको थियो र यी बसहरू गुड्ने समयमा डेडिकेटेड लेनमा अत्यावश्यक सवारीबाहेक अन्य सवारीलाई निषेध गरिएको थियो। तर उक्त नियमको पालना नभएपछि अहिले व्यवसायीहरू द्रुत बस सेवा सञ्चालनबाट पछि हटेका हुन्।
यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँर भन्छन्, 'द्रुत बस सेवाका लागि छुट्याइएको डेडिकेटेड लेनमा अरू गाडीहरू गुडिरहेका छन्। यो तरिकाबाट द्रुत बस सञ्चालन गर्न सकिँदैन। स्पष्ट कुरा यही हो।'
उनले हिजो सरकारसँग भएको सहमति अनुसार सेवा सञ्चालन नभएको उल्लेख गर्दै यही मोडालिटीमा सेवालाई निरन्तरता दिन नसकिने जनाए।
एक महिना नबित्दै सेवा बन्द हुने अवस्थामा पुगेपछि सरकार तर्फबाट पनि यसबारे व्यापक छलफल भइरहेको छ। यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूले द्रुत बस सेवालाई थप प्रभावकारी ढंगबाट सञ्चालनमा ल्याउनका लागि यही साता मन्त्रिस्तरीय छलफल हुने जानकारी दिए।
अहिले पनि द्रुत बस सेवा बन्द नभएको जिकिर गर्दै उनी भन्छन्, 'हिजो पनि मन्त्रीज्यू र सरोकारवाला निकायबीच यो विषयमा छलफल भएको छ। यो हप्ताभित्र सेवालाई थप व्यवस्थित गर्ने गरी टुंगोमा पुर्याउँछौं।'
उनले द्रुत बस सेवा प्रभावकारी नहुनुमा सर्वसाधारणबाट नियमको पालना नहुनु पनि रहेको जनाए। द्रुत बसका लागि छुट्याइएको डेडिकेटेड लेनमा अन्य सवारी प्रवेश गर्दा सेवा कार्यान्वयनमा चुनौती देखिएको उनले बताए।
'डेडिकेटेड लेन भनेर छुट्याएको छ तर त्यसमा मोटरसाइकल पनि छिरेकै छ, अन्य सवारी पनि छिरेकै छ। फेरि कारबाही गर्यो भने पनि जनता नै मर्कामा पर्ने हो। कारबाही पनि कतिलाई गर्नु? त्यसैले एउटा त्यो कुरामा हामीले सोच्नुपर्ने देखियो,' पनेरू भन्छन्, 'अर्को व्यवहारिक समस्या भनेको हामीले अहिले सुरूमा २५ वटा बसबाट सेवा सुरू गरेका छौं। त्यसलाई थपेर सय पनि पुर्याउँला तर के ती बसले डेडिकेटेड लेन ओगट्छ त? अरू बाटो जाम हुने तर त्यो लेन खुला हुने भयो भने पनि समस्या हुन्छ। त्यसैले यी कुराहरूको विकल्पबारे सोच्दैछौं।'
कार्यान्वयनको सुरूआत समस्या देखिए पनि सेवा भने बन्द नहुने पनेरूको दाबी छ।
'हाम्रो विकल्पमा बन्द भन्ने कुरा छैन। सेवालाई कसरी व्यवस्थित गरेर सञ्चालन गर्ने भन्ने मात्र हो,' उनले भने।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्याको हल गर्दै तिहार बिदा सकिएलगत्तै पुन: सञ्चालनमा आउने दाबी गरेका छन्।
‘दसैंदेखि तिहारसम्म राजधानीका सडकहरूमा जाम हुँदैन, यही बेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको हो,’ मन्त्री ज्वालाले भने, ‘तिहारको बिदा सकिएकै दिनदेखि पूर्ण क्षमतामा द्रुत बस सञ्चालन हुनेछ।’