जनावरप्रति उनको रूचि सानैदेखिको हो। नेपालगञ्जस्थित घरमा गाई र बँदेलहरू पालिएका थिए। उनलाई कुकुर पनि निकै प्यारो लाग्थ्यो। घर पालुवा जनावरलाई केही भइहाले उपचारमा आफैं अघि खटिन्थिन्।
२०३२ सालको फागुनमा नेपालगञ्जमा जन्मेकी रचना शाहले प्रविणता प्रमाणपत्र तहसम्मको शिक्षा भारतको लखनउबाट लिएकी थिइन्। उनका बुवा नेपाल सरकारको सिडिओ र अञ्चलाधीशसम्म भएका थिए। शिक्षित परिवारमा जन्मेकी उनले किताबी ज्ञान त राम्रै पाइन्, जनावरलाई माया गर्न पनि घरैबाट सिकिन्।
‘त्यतिखेर बँदेल पाल्ने चलन हुन्थ्यो। म बँदेलहरू हिँडेको, खेलेको देखेर रमाउँथें। तर उसलाई मारेर खाएको मलाई फिटिक्कै मन पर्थेन। मैले मासु खान सकिनँ,’ उनले भनिन्, ‘कुकुरको निकै माया लाग्थ्यो। शरीरमा किर्ना पर्न दिन्थिनँ। पालेका जनावरलाई केही भइहाल्यो भने उपचारका लागि सबैभन्दा पहिले आफैं तम्सिन्थें।’
सानैदेखिको रूचिले उनलाई जनावरको संरक्षणमा स्थापित गराउँदैछ।
शाह अहिले राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाकी प्रमुख छिन्। लामो समयसम्म ललितपुरस्थित सदर चिडियाखानामा बिताएकी उनी सरूवा भएर चितवन आएको ६ महिना भयो।
नेपालका सरकारी तथा गैरसरकारी निकायहरूमा महिला कर्मचारीको संख्या बढ्दो छ। तर कार्यालय प्रमुख भएर काम गर्ने महिलाहरू पुरूषको तुलनामा निकै कम छन्। अझ वन र वन्यजन्तु संरक्षणका लागि काम गर्ने निकायमा त महिला प्रमुख बिरलै हुन्छन्।
चितवन आउनुअघि शाहले एक वर्ष सदर चिडियाखानाको प्रमुख भएर काम गरेकी थिइन्। त्रिचन्द्र क्याम्पसबाट बिएस्सी र त्रिभुवन विश्वविद्यालयबाट जुलोजीमा स्नातकोत्तर गरेपछि उनले सन् २००१ देखि सदर चिडियाखानामा संरक्षण शिक्षा अधिकृत भएर काम सुरू गरिन्। विद्यालयहरूमा पुगेर वन्यजन्तुको संरक्षणसम्बन्धी शिक्षा दिने, चिडियाखाना घुम्न आउनेहरूलाई वन्यजन्तुको महत्त्वबारे कार्यक्रम तयार पार्ने जिम्मेवारी उनको थियो।
उनी सन् २०१७ मा चिडियाखानाको क्युरेटर बनेकी थिइन्। पदसँगै उनको जिम्मेवारी बढ्यो। संरक्षण शिक्षामात्रै नभएर वन्यजन्तुको खानपान, व्यवहार, उपचार, बासस्थान, व्यवस्थापन, अन्तर्राष्ट्रिय चिडियाखानाहरूसँगको समन्वयजस्ता जिम्मेवारी पनि उनको काँधमा आइपुग्यो।
शाहले सदर चिडियाखानामा ल्याइएका दुई वटा चिम्पाञ्जीहरूको व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेकी थिइन्।
‘उनीहरूका लागि इन्क्लोजरको डिजाइन गर्ने, नाम राख्ने, सर्वसाधारणका लागि खुला गर्नेसम्मका काममा भूमिका खेल्ने अवसर पाएँ,’ उनले भनिन्, ‘चम्पा र चिम्पु नामका चिम्पाञ्जीहरू अहिले नेपालीका लागि विल्कुलै नौलो वन्यजन्तु बनिरहेका छन्।’
संरक्षण शिक्षामार्फत् जनावरको इज्जत गर्न, वातावरण संरक्षणका लागि जनावरको महत्त्व जानकारी गराउन लामो समय काम गरेकी उनले सानो क्षेत्रमा रहेको चिडियाखानालाई प्राकृतिक वातावरणमा ढाल्न प्रयास गरिन्।
‘प्राकृतिक वासस्थानबाट चिडियाखानामा ल्याएपछि प्रजनन् नहुने समस्या छ। हाम्रो टिमले उनीहरूलाई प्रजनन् पनि गर्नसक्ने वातावरण बनाउन धेरै प्रयास गर्यौं। प्राकृतिक वातावरण तयार पर्दै गएपछि केही प्रजातिले वर्षौंपछि प्रजनन् गरे,’ शाहले भनिन्, ‘यो हाम्रो लागि ठूलै सफलता थियो।’
लामो समयसम्म चिडियाखानाको साँघुरो घेराभित्र काम गरेकी शाह अहिले देशकै पहिलो राष्ट्रिय निकुञ्ज र धेरै सामुदायिक वनहरूमा काम गर्ने कार्यालयको प्रमुखको जिम्मेवारीमा छिन्।
सन् १९८९ मा स्थापना भएको राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको जैविक विविधता संरक्षण केन्द्रले जैविक विविधता तथा प्राकृतिक स्रोतको संरक्षण, अध्ययन, अनुसन्धान, अनुगमन, समुदायसँग सहकार्यगरी गरिबी निवारण तथा जीवीकोपार्जन, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि काम गर्छ। निकुञ्ज, वन कार्यालय, मध्यवर्ती क्षेत्र, सामुदायिक वनहरूसँग समन्वय गर्दै वन्यजन्तु स्थानान्तरण, वन्यजन्तुको प्रजाति विस्तार, प्रमुख प्रजातिको गणना, समस्याग्रस्त वन्यजन्तुको उद्धार तथा व्यवस्थापनमा यो संस्थाले काम गर्छ।
शाहले बिगतमा सरोकारवालासँग समन्वय गरेर काम गर्ने अनुभवमात्रै रहेकोमा अहिले समुदायसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने अवसर पाएको बताइन्।
‘समुदाय, स्थानीय तह, सरोकारवाला अन्य संस्थाहरुसँग समन्वय गर्दै काम गर्दा चुनौती पनि छन्। यो मेरो लागि अवसर पनि हो,’ उनले भनिन्।
बाघ, गैंडा, हात्ती जस्ता ठूला र अन्य साना जनावरको विषयमा अध्ययन, अनुसन्धान, निकुञ्ज तथा सामुदायिक वनहरूमा वन्यजन्तुका लागि अवश्यक वातावरण तयार गर्ने विषयमा ध्यान बढी दिने गरेको उनले बताइन्।
शाह पहिले चिडियाखानाभित्र चिम्पाञ्जी, भालु, बाँदरहरूसँग कुरा गरेर रमाउँथिन्। अचेल जंगलबाट उद्धार गरेर ल्याइएका राम, देव र पुष्पा नामका गैंडाका केटाकेटीसँग भलाकुसारी गर्न पाउँदा खुसी हुन्छिन्। उनको कार्यालय नै जंगलसँग जोडिएको छ।
‘चिडियाखानामा जनावरलाई नामले बोलाएर गफ गर्थें। अचेल फुर्सतमा जंगलभित्र गएर चराहरूसँग बोल्छु। उनीहरूको चिरबिरले मेरो मनलाई आनन्दित पार्छ,’ शाह भन्छिन्, ‘जनावर, चरा, चुरूङ्गीहरू साथी जस्तो लाग्छन्। हरियाली जंगल देख्दा रमाइलो लाग्छ। कीरा, फट्यांग्रा, पुतली देख्दा पनि मन रमाउँछ।’
उनले नेदरल्याण्डसमा छात्रवृत्तीमा १८ महिना ‘नेचर रिसोर्स म्यानेजमेन्ट’ विषय पढिन्। यो अवधिबाहेक २१ वर्ष राष्ट्रिय प्रकृति संरक्षण कोषमा बिताएकी शाहले कार्य क्षेत्रमा सधैं इज्जत पाएको अनुभव गरेकी छन्।
कतिपयले उनलाई यो काम कत्तिको चुनौतीपूर्ण छ भनेर प्रश्न गर्छन्। तर उनी चुनौती आए पार लगाउने क्षमता आफूसँग रहेको सुनाउँछिन्।
‘कोही भन्नुहुन्छ सबैतिर पुरूषमात्रै छन् तपाई महिलालाई गाह्रो भएको होला। तर म भन्छु आफूसँग क्षमता छ भने डराउन पर्दैन। म आफूलाई काममा पुरूषभन्दा कम ठान्दिनँ,’ शाह भन्छिन्, ‘आफ्नो कामले सबैलाई जित्ने हो। सकेको बल लगाएर काम गर्ने हो। समय लाग्ला तर काममा सफल अवश्य भइन्छ।’
उनलाई महिलाले सत प्रतिशत अधिकार प्राप्तिका लागि काम गर्नुपर्ने बताउँछिन्।
‘आफूले आफूलाई कमजोर किन बनाउने? हामीसँग दक्षता, क्षमता छ भने कुनै कुराले रोक्न सक्दैन,’ शाह भन्छिन्, ‘महिलाले आफूलाई दक्ष प्रमाणित गरेर देखाउन सक्नुपर्छ। समाज त पुरूषप्रति झुकाव राख्छ, जे पनि भन्छ। हामीले कामले जित्नुको विकल्प छैन।’
महिला र पुरुष एकले अर्काको अस्तित्व स्वीकार गर्न सके धेरै समस्याको हल हुने बुझाई उनको छ।
शाहका एक छोरा र एक छोरी छन्। उनी काममा बढी व्यस्त रहने भएकाले छोराछोरीको जिम्मेवारी श्रीमानको काँधमा बढी छ।
‘म बिदामा घर पुग्छु, परिवारलाई धेरै समय दिन सकेकी छैन,’ उनी भन्छिन्, ‘सक्दासम्म संरक्षणमा लागिराख्ने धोको छ। रूचीको विषयमा दिन बिताउन पाउँदा, यस क्षेत्रमा आउन चाहने व्यक्तिहरूलाई प्रेरित गर्न पाउँदा खुसी छु।’
*यसअघि शीर्षक अन्यथा पर्न गएकोमा सच्याइएको छ।- सम्पादक