इसराइलमा हमासको आक्रमणमा परेर निधन भएका कैलालीका विद्यार्थी आशिष चौधरीको कात्तिक १५ गते काजकिरिया गरिँदै छ। तर, परिवारसँग किरिया खर्च छैन।
शवलाई कुर्दाकुर्दै ढिलो आयो। थारु परम्परा अनुसार दाहसंस्कारको १० औं दिनमा पुरूष मान्छेको किरिया गरिन्छ। आशिषका बुवा र मामा जोशीपुर गाउँपालिकाले दिने घोषणा गरेको ४० हजार किरिया खर्च पाइने हो कि होइन बुझ्न गएका थिए।
‘अहिले किरिया गर्न पैसा छैन, किरिया सकिएपछि दिन्छु भनेको खर्च के काम! हामी सोमबार वडाको सिफारिस लगेर पालिका पुगेका थियौं,’ मामा विनोदले भने।
आफन्त, छरछिमेकीलाई पुण्यतिथिमा सहभागी भइदिन निमन्त्रण गरिएको छ। कैलालीको जोशीपुर–५ मैनपोखरीमा एक तले दुई कोठाको सिमेन्ट ब्लकमा जस्तापाताले छाएको आशिषको घरमा शोकको माहोल छ। आमा मञ्जुदेवी र बुवा बेजुलाल घटनाको भोलिपल्ट भारतको बैंगलुरूबाट फर्केका थिए। आशिषकी दिदी पनि माइत आएकी छन्।
दक्षिणी इसराइलमा गत असोज २० गते अर्थात् ७ अक्टोबरमा हमास समूहको आक्रमणमा परी आशिषसहित १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। घटना भएको दिन शनिबार बिहान १० बजेर ३७ मिनेटमा अमृताले राखेको फेसबुकको स्टोरीको आशिषले दिदी लेखेर रुँदै गरेको स्टिकर पठाएका थिए। इसराइलमा आक्रमणको खबर, अर्काेतिर त्यस्तो सन्देश देखेर अमृता झन् डराएकी थिइन्। उनले ७ मिनेटपछि आशिषसँग सम्पर्क गर्न खोजिन्। कल लागेन। आशिषसँगै गएका भजनीका अर्का भाइलाई फोन गरिन्। उनले आक्रमणमा परेर छरिएर बस्नु परेको र सुरक्षित भएको भनेका थिए।
दिनभरि आशिषको कुनै खबर आएन। बेलुका बेपत्ता भनेर कुरा आयो। भोलिपल्ट हमासको आक्रमणमा परेर मारिनेको नाममा भाइ पनि देखिएपछि उनी त्यही अन्तिम सन्देश भएछ भन्दै शोकमा परिन्।
‘मलाई त मेरो भाइ अझै पनि फर्केर आउँछ कि भन्ने लाग्छ,’ अमृताले भनिन्।
स्कुलदेखि कलेज पढ्दासम्म सबै ठाउँमा आशिष अगाडि थिए। अमृताको नजरमा भाइ सानो भए पनि निराश हुँदा सम्झाउने, समस्या परेको बेला भरोसा दिने उनै थिए।
आशिषले गाउँमै १ देखि ८ कक्षासम्मको पढाइ पूरा गरे, कक्षा ९ र १० धनगढीको ऐश्वर्य विद्या निकेतनबाट पास गरे। ११ र १२ मा विज्ञान विषयको पढाइ कैलाली बहुमुखी क्याम्पसबाट पूरा गरेका थिए।
कृषि विज्ञान पढ्न छात्रवृत्तिमा नाम निकिल्योस् भनेर केही समय काठमाडौंमा बसेर आशिषले तयारी गरेका थिए। छात्रवृत्तिमा नाम निस्केन। कृषि विज्ञान विषय अध्ययन गर्न बिना छात्रवृत्तिमा १० लाख रुपैयाँ जति खर्च लागेको उनको परिवारको भनाइ छ।
टीकापुर कृषि विज्ञान क्याम्पसबाट उनले बिएस्सी एजीको आठौं सेमेस्टर सकेर सिक्दै र कमाउँदै कार्यक्रमका लागि इसराइल गएका थिए।
‘मम्मी म गरिहाल्छु, मलाई पढाउँदा लागेको ऋण काम गरेर तिर्छु भन्थ्यो,’ मन्जुले भनिन्।
जोशीपुर बजारमा २२ वर्ष विद्युतीय सामानको सानो पसल चलाउने मन्जु र बेजुलाल छोरालाई पढाउन लागेको ऋण तिर्न नसकेपछि दोकान बेचर भारत गएको छ महिना भएको थियो। आमा मन्जु बैंगलुरूमा झाडुपोछाको काम गर्थिन्। बेजुलाल चाउमिन उद्योगमा काम गर्थे।
उनीहरूले आशिषलाई कृषि विज्ञ बनाउन आफ्नो जग्गा धितोमा राखेर लघुवित्तबाट ऋण लिएका थिए। त्यतिले नपुगेपछि मामाघरमा हजुरबाले समेत जग्गा धितोमा राखेर ऋण निकालेका थिए।
नाना (मामाघरको हजुरबुवा) कन्हैया चौधरीले जति सपना थिए ती ढलेको बताए। अपांगता भएकी हजुरआमा र मामाको सहारा पनि आशिष थिए।
आशिषका बुवा बेजुलालले छोराका पढाइका लागि लिएको ऋणको ब्याज तिर्न नसकेको बताए।
‘जग्गा पनि ब्याज तिर्न नसकेर लिलाममा जाने हो कि! सानैदेखि उसको पढाइका लागि उसैलाई थाहा नहुने गरेर ऋण लिएँ, कति ऋण लागेको छ सोध्दै थियो, दुई शब्द नबोलेर बिलायो,’ बुवा बेजुलालले भने।
‘मेसेजमा छोरा बिदाइ गर्न पाइएन, यही तेरो लागि आशीर्वाद भयो भनेर लेखेको थिएँ,’ बुवा बेजुलालले भने।
कात्तिक ५ गते शव बनेर घर फर्किंदा परिवारमा बज्रपात परेको छ।
‘छोराको सहारामा हामी बसेको हौं, रूख ढलेजस्तो गरेर मेरो छोरा गोली लागेर ढल्यो, कहाँबाट के गर्ने, के गरेर खाने, धेरै अप्ठ्यारो भएको छ,’ आमा मन्जुले रुँदै भनिन्।
इसराइलमा लडाइँ हुन्छ भन्ने थाहा भएको भए उनीहरूले त्यहाँ छोरो पठाउने थिएनन्।
परिवारले सन्तान गुमाएजस्तै देशले १० जना कृषि विज्ञ गुमाउँदा भएको क्षतिको महसुस राज्यले नगरेको मामा विनोद चौधरीको गुनासो छ।
‘दिदी, भिनाजुको खाने भाँडो नै सकिएको छ, नेपालमा बस्दा के गरेर खानुहुन्छ, कहिलेसम्म बैंगलुरू गएर कमाउन सक्नुहोला, राज्यले उहाँलाई रोजगारी दिनुपर्छ,’ उनले भने।
संघीय र प्रदेश सरकारले मृतकका परिवारलाई १० लाख र २ लाख रुपैयाँ दिने भन्ने सुनिएको उनले बताए।
सरकारले दिने पैसाले तत्काल राहत भए पनि नेपालमै काम गर्न सक्ने जागिर दिनुपर्ने उनले बताए।
आशिषको शरीरमा तीन ठाउँमा गोली लागेको थियो। परिवारले शवको प्रकृति हेर्दा बम नलागेको बताए। आशिषलाई गोली हानेर मारिएको परिवारको भनाइ छ। उनको तिघ्रा, पेट पछाडि र गर्दनको पछाडि गोली लागेको आफन्तले शवमा देखेको बताए।
सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विज्ञान संकायमा अध्ययनरत ४९ जना विद्यार्थी इसराइल सरकारसितको सहकार्यमा त्यहाँ गएका थिए। तीमध्ये १० जनाको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो।
हालसम्म बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपानेको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरू इसराइल गएका थिए। उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान शारदा–३ का प्रवेश भण्डारी छन्।
सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कविहीन छन्। इसराइल–हमास द्वन्द्व सुरू भएपछि सरकारले इसराइलमा फसेका २५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो। घाइते केही अझै इसराइलमै उपचाररत छन्।