संविधान दिवसको दिन सरकारबाट बाँकी कैद मिनाह पाएर छुटेका योगबहादुर ढकाल (रिगल) विरूद्धको मुद्दामा सर्वोच्च अदालतले आज निर्णय सुनाउँदैछ।
रिगलको बाँकी कैद मिनाहा विरूद्धको रिटमा बुधबार दुबै तर्फको बहस सकिएपछि कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले आज निर्णय सुनाउन लागेको हो।
चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले सरकारबाट बाँकी कैद माफी पाएका थिए। बाँकी कैद माफी पाएर रिगल संविधान दिवसको दिन छुटेका थिए।
त्यस निर्णयविरूद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
२०७२ असार २८ गते नेपालगञ्ज-८ का २९ वर्षीय चेतन मानन्धरमाथि दिउँसै धम्बोझी चोक नजिकै खुँडा प्रहार भएको थियो। मानन्धरको मृत्यु पछि रिगल फरार थिए।
मानन्धरको हत्या आरोपी रिगल दुई महिनापछि भदौमा अदालतमा गई आत्मसमर्पण गरेका थिए त्यसपछि उनी मुद्दाको किनारा नलाग्दासम्म पूर्पक्षका लागि जेल पठाइएका थिए। त्यसपछि उनी ८ वर्ष कैद सजाय भोगिसकेका थिए।
जिल्ला अदालत बाँकेले २०७६ वैशाखमा मानन्धरको हत्यामा रिगललाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो।
मानन्धरको हत्यामा संलग्न रहेको ठहर गर्दै अदालतले अन्य १२ जनालाई पनि कसुरअनुसार ३ वर्षदेखि १० वर्षसम्मको सजाय तोकेको थियो।
तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले घटनामा संलग्नमध्ये रिगलकै समूहका सोहनसिहं ढकाललाई १० वर्ष जेल सजायको फैसला सुनाएको थियो।
उनकै समूहका माधव नेपाली, बिराज पाठक, हरि वली, मनीष चौलागाईं, प्रितम थापा, यमबहादुर बुढा मगर र केशवबहादुर रोकायालाई जनही ३ वर्षको काराबास सजाय तोकेको थियो।
त्यस्तै प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री, विशाल भनिने छविलाल बस्नेत, नवराज खत्री र मोहनलाल खड्कासहित सबैलाई जन्मकैदको सजाय तोकेको थियो।
झन्डै ५० प्रतिशत सजाय भुक्तान गरेपछि रिगल रिहा भएका हुन्।
उनको रिहाइविरूद्ध प्रतिपक्षसँगै सत्तापक्ष दलका नेताहरू र नागरिक समाजले समेत चर्को विरोध गरेका थिए।