कैलालीका ७५ वर्षीय चिंगुवा डगौराले तत्कालीन गाउँ विकास समिति (गाविस) बाट सिफारिस पाएको साढे दुई दशकपछि बल्ल नागरिकता पाएका छन्।
उनले २०५५ सालमै गाविस कार्यालयबाट सिफारिस लिएका थिए। त्यसको २५ वर्षपछि ७५ वर्षको उमेरमा उनलाई बुधबार कैलालीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) युवराज कटेलले नागरिकता प्रमाणपत्र हस्तान्तरण गरे।
नागरिकता प्रमाणपत्र पाएपछि चिंगुवा औधी खुसी भए। उनले बेलुका बट्टाइको मासु खाएर रमाइलो गर्ने बताए।
नागरिकता पाएपछि उनीले दंग पर्दै भने, ‘नागरिकता बनल्, मजा लागल्, आज घरमे बटइको मासु खाइब् (नागरिकता बन्यो, खुसी लाग्यो। आज घरमा बटईको मासु खाने हो)।’
चिंगुवाले नागरिकता प्रमाणपत्र लिन निकै ठूलो प्रयास गर्नुपर्यो। उनले प्रजिअ, गाउँपालिकाका अध्यक्ष, गाउँका भलमन्सा (थारू टोलका परम्परागत नेता) र छिमेकीको सहयोगमा नागकिरता प्रमाणपत्र पाएका हुन्। यसका लागि उनलाई निरन्तर पाँच महिना धाउनुपर्यो।
नागरिकता प्रमाणपत्र नहुँदा उनले सरकारले दिने सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) पाएका थिएनन्। अब भत्ता पाउने भएकाले आफूलाई धेरै खुसी लागेको उनी बताउँछन्।
वृद्धभत्ताको अधिकार माग्न जाँदा हो उनले वर्षौंदेखि आफूले बोकेको कागज नागरिकता होइन रहेछ भनेर थाहा पाएको।
पाँचवर्षअघिको कुरा हो, गाउँटोलमा ज्येष्ठ नागरिकहरूलाई सरकारले भत्ता दिन्छ भन्ने चिंगुवाले थाहा पाए। उनले यस्तो भत्ता कसरी पाइन्छ भनेर छिमेकीहरूलाई सोधे।
उनकी छिमेकी पवित्री चौधरीले वृद्धभत्ता नागरिकता प्रमाणपत्र लिएर वडा कार्यालय जान सल्लाह दिइन्।
चिंगुवा जतन गरेर बाकसमा राखेको एउटा लिखत बोकेर वडा कार्यालय पुगे। कर्मचारीले नागरिकताको प्रमाणपत्र मागे। चिंगुवाले त्यही कागज दिए जो उनले २०५५ साल भदौ ३ गते तत्कालीन गाविसले कार्यालयबाट पाएका थिए।
वडा सचिवले यो त नागरिकता होइन भनेपछि चिंगुवा झस्के। खास चिंगुवा सिफारिसको कागजलाई नै नागरिकता ठानेर बसेका रहेछन्।
वडाका कर्मचारीले जिल्ला प्रशासन कार्यालय जानू भने। उनी गए तर जिल्ला प्रशासन कार्यालयले २५ वर्षअघिको सिफारिसलाई सामान्य प्रमाणमात्रै मान्यो र चिँगुवाको तीन पुस्ते खोज्यो।
गाउँ छोड्दा उनी करिब २० वर्षका थिए।
चिँगुवाका अनुसार उनका आमाबाबु खेती गर्थे। बुबाले चार हल गोरु र दुई हल राँगा पालेका थिए। उमेर बढ्दै गएपछि चिगुवा बाहिरफेर मजदुरी गर्न जान थाले।
त्यतिबेलै तिर गाउँका एक जना अगुवाले बसन्ता गाउँमा बिहे गरिदिऊँला, उतै हिँड भनेपछि उनी आफ्नो गाउँ छोडेर करिब ३० किलोमिटर टाढाको बसन्ता गाउँ पुगेका थिए।
त्यहाँ रानी नामकी महिलासँग उनको बिहे भयो। रानीको बिहे सानै उमेरमा भएको थियो। तीन छोराछोरी जन्मेपछि अचानक उनका श्रीमान् बितेका थिए। तिनै रानीसँग चिंगुवाको बिहे भएको थियो।
चिंगुवा रानीसँग उनकै घरमा बसे। आफ्नो घरतिर के हुँदैछ भन्ने थाहा पाएनन्।
यस्तैमा धेरै वर्ष बित्यो। चिंगुवाको नागरिकता प्रमाणपत्र थिएन। उनी धेरै वर्षपछि एक दिन नागरिकता प्रमाणपत्र बनाउन आफ्नो गाउँ जोशीपुर गए।
२०५५ साल भदौ ३ गते, उनी गाविस कार्यालय पुगेर नागरिकता बनाउन आएको भने। त्यस बेलाका गाविस अध्यक्ष टीकाराम महतोले चिंगुवाका बुबा भगरथ डगौराको नाम उल्लेख गरी जोशीपुर गाविस–२ ठेगानामा वंशजका आधारमा नागरिकता दिन जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरिदिए।
चिंगुवाले त्यही सिफरिसपत्रलाई नागरिकता प्रमाणपत्र ठाने अनि हिफाजत गरेर राखे। सिफारिसमा उनको जन्म भएको वर्ष २००५ साल लेखिएको छ।
चिंगुवाको विवाह दर्ता पनि थिएन। छोरीकी छोरीको जन्मदर्ता गराउन चिगुवाको नागरिकता प्रमाणपत्र चाहियो। यसैका लागि उनले कागजपत्र जुटाउन सुरु गरेका थिए।
२०५५ सालको सिफारिसको आधारमा उनी जोशीपुर गाउँपालिका पुगे। त्यहाँ उनका काकातिरका भाइभतिजहरू थिए। उनीहरूले चिंगुवालाई आफ्ना बुबाका भाइ हुन् भनेर सनाखत गरिदिनु पर्थ्यो तर गरिदिएनन्।चिंगुवा आफू सानो हुँदा बाजेको २० बिघा जमिन रहेको, आफ्ना बाबुआमाले खेती गरेको सम्झन्छन् तर उनले आफन्तबाट सनाखत पाएनन्।
उनले भने, ‘जमिनको अंश लाग्छ भनेर भाइभतिजाले मलाई आफ्नो वंशजको मान्छे मानेनन्।’
चिंगुवा अहिले पनि कैलारी गाउँपालिकाको बसन्तामै बस्छन्। गाउँका भलमन्सा जियाराम चौधरी र छिमेकी पवित्रीले जिल्ला प्रशासन कार्यालयसम्म आउजाउ गर्न मद्दत गरे।
चिगुवालाई नागरिकता प्रमाणपत्र हस्तान्तरण गरेपछि प्रजिअ कट्टेलले खुसी प्रकट गरे। नागरिकता प्रमापत्र दिनु राज्यको दायित्व भएको बताए।
उनले चिंगुवाको गुनासो सुनेपछि जोशीपुरमा रहेका भतिजाहरू झिकाएर सोधपुछ गरिएको बताए। अंश दिनुपर्छ भनेर वंश स्वीकार्न इन्कार गरेको चिंगुवाको आरोपपछि उनीहरूसँग सोधपुछ गरिएको थियो।
तैपनि भतिजाहरूले चिंगुवालाई काका मानेनन्।
जिल्ला प्रशासन कार्यालयले हालको ठेगानामा फेला परेका चिंगुवालाई कैलारी गाउँपालिकाका प्रमुख राजसमझ चौधरीको सनाखतका आधारमा नागरिकता प्रमाणपत्र दिएको हो।
‘उहाँ (चिंगुवा) ले पहिले नै नागरिकता पाउनुपर्ने हो, उहाँ नेपाली नागरिक नै हो। उहाँको जन्मघर जोशीपुर हो। हाल उहाँ कैलारी गाउँपालिकको छोड्की बसन्तामा बस्नुहुन्छ,’ कैलारी गाउँपालिकाका अध्यक्ष चौधरीले भने, ‘ढिलै भए पनि उहाँलाई नागरिकता दिलाउन सफल भएका छौँ।’
नागरिकता प्रमाणपत्र दिन चाहँदा चाहँदै पनि लामो समय लागेको प्रजिअ कटेलले बताए।
उनले भने, ‘खोज्दै जाँदा उहाँ जोशीपुरकै नागरिक हुनुहुन्छ, दाजुभाइ सबै बितिसके, भतिजाहरू छन् भन्ने थाहा भयो। भतिजाहरूले चिन्दैनौं भने तर त्यो गलत देखियो।’
प्रजिअ कटेलका अनुसार सबै प्रक्रिया पूरा भएपछि कानूनबमोजिम चिंगुवाले नागरिकता प्रमाणपत्र पाएका हुन्।
यो पनि हेर्नुहोस् :
२० वर्षसम्म नागरिकता ठानेको कागज मात्र रहेछ सिफारिस