सौराहास्थित हात्ती दौड प्रतियोगिता गरिने चौरको नजिकै राप्ती नदीको किनारमा दुईवटा हात्तीहरू सुतिरहेका छन्। नेपाली, विदेशी अनुहारका केही व्यक्तिहरु ती हात्तीको पैतालामा हँसिया र चक्कु चलाइरहेका देखिए।
अचेल यहाँ हात्तीको स्वास्थ्य परीक्षण तथा उपचार चलिरहेका रहेछ। राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाका पशु चिकित्सक अमिर षडौलाकाअनुसार बुधबार सम्ममा चितवन राष्ट्रिय निकुञ्जका १६ सहित ४४ वटा हात्तीहरूको स्वास्थ्य परीक्षण गरिएको छ। सोमबारबाट सुरू भएको स्वास्थ्य शिविर तिहारसम्मै चल्ने र नसकिए तिहार पछि पनि हुने उनले बताए।
अमेरिकाको कोलोराडोस्थित क्याटी एडम्सन कन्जरभेसन फण्डको आर्थिक तथा प्राविधिक सहयोगमा चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्रले हात्तीहरूको स्वास्थ्य परीक्षण गरेका हुन्।
अमेरिकाको उक्त संस्थाले गत वर्ष पनि हात्तीको स्वास्थ्य परीक्षणमा सहयोग गरेको थियो। वन्यजन्तुको उद्धार तथा उपचारमा लामो समयदेखि सघाउँदै आएको यो संस्थाले सौराहामा रहेको वन्यजन्तु अस्पताल निर्माणमा पनि सहयोग गरेको थियो।
सौराहास्थित हात्ती प्रजनन् केन्द्र र बाघमारा सामुदायिक वन नजिकैको चौरमा गरिएको परीक्षणमा अमेरिकाबाट आएका दुई जना पशु चिकित्सकसहित १५ जना स्वास्थ्य प्राविधिकहरू पनि सहभागी छन्। उनीहरु चितवन निकुञ्ज र जैविक विविधता संरक्षण केन्द्रका पशु चिकित्सक तथा प्राविधिकसँगै स्वास्थ्य परीक्षणमा खट्ने गरेका छन्।
चितवनमाभन्दा पहिले बर्दिया राष्ट्रिय निकुञ्जका हात्तीहरुको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको थियो।
हात्तीको स्वास्थ्य परीक्षण बर्दियाबाट सुरू भएको डा.षडौलाले जानकारी दिए। एक वर्षभन्दा बढी उमेरका सबै हात्तीलाई जुकाको औषधि र ९ देखि ५५ वर्षसम्मका हात्तीको खुट्टाको नङ काट्ने, घाउ सफा गर्नेलगायतका काम गरिएको उनले जानकारी दिए।
चितवनमा ६० वटा सरकारी र ६० वटा निजी हात्तीहरु छन्। सरकारी हात्तीहरुलाई चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ प्रयोग गरिन्छ। निजीमध्ये २९ वटाले पर्यटकहरुलाई जंगल घुमाउने गरेका छन्। युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामार्फत ती हात्तीले बाघमारा र कुमरोज मध्यवर्ती सामुदायिक वनमा पर्यटकलाई घुमाउँछन्। बिगतमा चितवन निकुञ्जभित्र सञ्चालनमा रहेको होटल टाइगर टप्स, टेम्पल टाइगर, सौराहामा रहेको सपना भिलेज, व्यवसायी ओम रिजाललगायतले पालेका हात्तीहरु पनि चितवनमै छन्।
डा.षडौलाले ठूलो वजन र शरीर भएको हात्तीको ढुंगा, माटो, पिच सडकमा हिंड्दा खुट्टा, पैैताला तथा नङमा समस्या हुनेगरेको बताए। हात्तीको नङ पनि मान्छेको जस्तैगरी पलाइरहन्छ। नियमितरूपमा नकाटे बढेको नङले हिँड्नमा असर गर्छ।
‘यसबाहेक बाहिरी तथा भित्री परजीविका कारण पनि हात्तीलाई समस्या हुने गरेको छ। यो स्वास्थ्य शिविरको उद्देश्य हात्तीमा देखिएका सबै समस्याको उपचार गर्नु हो,’ षडौलाले भने, ‘बाहिरबाट देखिने जुका, जुम्रा तथा शरीरभित्र हुने परजीविको नियन्त्रण गर्ने, लामा नङहरु काटिदिने, घाउहरुको उपचार गर्ने गरेका छौं।’
परजीविको संक्रमणका कारण हात्तीको पेट दुख्ने समस्या हुने गरेको उनले बताए।
हात्तीहरूलाई रेविज र टिटानसको भ्याक्सिन दिइएको र क्षयरोग रहेनरहेको पत्ता लगाउन नमूना संकलन गरिएको उनले बताए। विगतमा हात्तीमा क्षयरोगको समस्या बढी थियो। गतवर्ष लिइएको नमूनाले भने थोरै हात्तीमा मात्र क्षयरोग देखिएको थियो।
सरकारी हात्ती जंगलमा पेट्रोलिङ तथा उद्धारमा प्रयोग हुँदा काँडाले कोप्ने, घाउ हुने, पाकेर पिलो बन्ने समस्या देखिएको डा.षडौला बताउँछन्।
‘कतिपय निजी हात्तीहरूले मान्छे बोकेर हिँड्दा माउतेलाई टेर्दैनन् नियन्त्रण गर्न खोज्दा घाउ हुन्छ। समयमै त्यसको उपचार भएन भने पछि ठूलोरूप लिन सक्छ,’ उनले भने, ‘पहिले सामान्य उपचार माउते नै गर्थे, अहिले धेरै नयाँ माउतेहरू छन् उनीहरूलाई कसरी उपचार गर्ने भन्ने थाहा छैन।’
अमेरिकाको कोलोराडोस्थित क्याटी एडम्सन कन्जरभेसन फण्डका फुट केयर स्पेसलिष्ट(खुट्टासम्बन्धी विशेषज्ञ) माइक म्याक्लरले नेपालका धेरै हात्तीहरूको खुट्टा र पैतालामा समस्या देखिएको बताए।
‘तर गत वर्षभन्दा यस वर्ष समस्या कम पायौं। यसको अर्थ हामीले गत वर्ष गरेको काम सफल भयो भन्न सकिन्छ,’ उनले भने, ‘हात्तीलाई जोउन उसको खुट्टा र खुट्टालाई राम्रो राखिराख्न नङहरूको हेरचाह र उपचार आवश्यक छ।’
उनले अमेरिकामा रहेका हात्तीहरूमा पनि यस्तै समस्या रहेको बताए।
‘उताको राम्रो कुराहरू यता र यता जानेका कुराहरू उता प्रयोग गरेर दुबैदेशका हात्तीहरूको स्वास्थ्यमा सुधार ल्याउने हाम्रो उद्देश्य छ,’ म्याक्लरले भने।
डा.षडौलाले पनि अर्को देशका प्राविधिकसँग काम गर्दा सिक्ने र सिकाउने दुबै अवसर प्राप्त हुने गरेको बताए।