कञ्चनपुरको कृष्णपुर नगरपालिका घर भएकी जानकी चौधरी गत साताको बिहीबार धनगढी उपमहानगरपालिकाको कार्यालय पुगिन्।
जानकीको माइती धनगढी उपमहानगरपालिका–३, विशालनगर हो। माइत आएकी उनी बुबाको कुनै कामका लागि पाँच वर्षपछि उपमहानगरपालिका कार्यालय पुगेकी थिइन्। कार्यालय परिसरमा प्रवेश गरेपछि उनले केही नयाँ र फरक अनुभव गरिन्।
उनी मेयर गोपाल हमालसँग भेट गर्ने उद्देश्यले मुख्य कार्यालय भवनको मूल ढोकाअगाडि उभिएकी थिइन्। उनको नजर सामुन्नेको सानो चिटिक्क भवनमा पर्यो। त्यसमा ‘सेवाग्राही प्रतीक्षालय’ लेखिएको देखिन्।
त्यही बेला उनलाई एक कर्मचारीले प्रतीक्षालय देखाउँदै त्यहीँ बस्न आग्रह गरे। जानकीका साथमा उनकी बहिनी पनि थिइन्। दुबै जना प्रतीक्षालयभित्र पसे।
त्यहाँ सोफा राखिएका थिए जहाँ लहरै मानिसहरू बसेका थिए। कोही टेलिभिजन हेरिरहेका थिए त कोही सेलफोन (मोबाइल) मा त कोही ल्यापटपमा व्यस्त थिए। कोही आपसमा गफ गदै थिए।
केही बेरमा मेयर, प्रमुख प्रशासकीय अधिकृत र केही कर्मचारीको टोली प्रतीक्षालयमा पस्यो। मेयरले प्रतीक्षारत सेवाग्राहीहरूसँग पालैपालो कुरा गरे। जानकीले पनि आफ्नो कामको कुरो मेयरसमक्ष राख्न पाइन्।
मेयरले सबैलाई केही न केही भने। कसैलाई आफूसँगै आएका कर्मचारीतर्फ देखाए। केही काम प्रशासकीय प्रमुखलाई जिम्मा लगाए।
नगरप्रमुख हमाल हरेक दिन निश्चित समयमा प्रतीक्षालयमा सामूहिक रूपमा सेवाग्राहीहरूलाई भेट्छन्। उनीहरूका कुरा सुन्छन्, कामका बारेमा बताउँछन्। समस्या समाधानका उपाय सुझाउँछन्। मेयरलाई भेट्न चाहने सेवाग्राहीहरूको कामबारे मेयर र कर्मचारीलाई एकसाथ जानकारी हुन्छ।
सामान्यजस्तो देखिए पनि व्यवस्थित प्रतीक्षालय र मेयरसँगको भेटको व्यवस्था सेवाग्राहीहरूलाई राम्रो लागेको छ। उपमेयरसँग पनि प्रतीक्षालयमै भेट हुन्छ।
‘बस्ने ठाउँ राम्रो लाग्यो। हाम्रो नगरपालिका (कृष्णपुर) मा त यस्तो ठाउँ छैन, जति बेर पर्खिनुपरे पनि उभिनुपर्छ,’ जानकीले भनिन्, ‘काम लिएर आउने मान्छे यसरी प्रतीक्षालयमा बस्न पाउनु राम्रो हो। यहीँ बसेर मेयरलाई आफ्नो कुरा भन्न पाएँ। मलाई राम्रो लाग्यो।’
धनगढी उपमहानगरपालिका–२, सन्तोषी टोलका ९७ वर्षीय हरिलाल ओली पनि प्रतीक्षालयमा थिए। लौरोको सहारमा हिँडडुल गर्ने उनी आफूले लेखेको किताब प्रकाशन गर्न आर्थिक सहयोगका लागि मेयरसँग आग्रह गर्न आएका रहेछन्।
उनी पनि पहिलोपटक उपमहानगरपालिको प्रतीक्षालयमा पसेका रहेछन्। ‘पहिला यस्तो सजिलो बस्ने ठाउँ थिएन। मेयरलाई भेट्न पनि गाह्रो थियो,’ उनले भने, ‘म बुढो मान्छे उभिन सक्दिनँ। अहिले सजिलो भयो।’
कामको सिलसिलामा धनगढी उपमहानगर कार्यालयमा पहिलोपटक पुगेकी कुन्ता चन्दले पनि नयाँ अनुभव गरिन्। उनका साथमा काखे शिशु पनि थियो। उनलाई पनि केही बेर पर्खिन सजिलो भयो।
‘बच्चा बोकेर बाहिर बस्न गाह्रो हुन्थ्यो। अहिले सजिलो भएछ,’ उनले भनिन्, ‘मेयरलाई भेट्न पनि गाह्रो भएन। हाम्रो कुरा सुन्न मेयर यहीँ (प्रतीक्षालयमा) आउनुभयो। पालैपालो सबैसँग कुरा गर्नुभयो। सबैको गुनासो सुन्नुहुँदोरहेछ। धेरै खुसी लाग्यो।’
उनले सरकारी कार्यालयमा अन्यत्र यति राम्रो प्रतीक्षालय नदेखेको पनि बताइन्।
वडा नम्बर १५ का शिवु चौधरी कामका लागि उपमहानगरपालिका कार्यालयमा आउँदा रूखमुनिको चौतारोमा बसेर पालो कुर्थे। यसपटक प्रतीक्षालयको आरामदायी सोफामा बस्न पाए।
प्रतीक्षालयमा एसी (एअर कन्डिस्नर) पनि राखिएको छ। टेलिभिजन हेर्ने सुविधा छ। इन्टरनेटका लागि वाइफाइको सुविधा छ। पिउने पानीको पनि छ। प्रतीक्षालयमै छ डिजिटल बडापत्र।
बडापत्रले उपमहानगरपालिकाले दिने सेवाबारे जानकारी दिन्छ।
उपमहानगर कार्यालयले यस्तो सुविधायुक्त प्रतीक्षालय कुल २२ लाख ५१ हजार रुपैयाँको लागतमा निर्माण गरेको हो। फर्निचर लगायतमा थप ६ लाख रुपैयाँ खर्च भएको उपमहानगर कार्यालयले जनाएको छ।
सेवाग्राहीको सम्मान र सुविधाका लागि प्रतीक्षालय बनाएको मेयर हमालको भनाइ छ।
‘कमसेकम सेवाग्राहीले सम्मान महसुस गरून्। सुविधाजनक तरिकारले आफ्नो पालो कुर्न पाऊन्। जनप्रतिनिधिहरू भेट्न पाऊन्,’ हमालले भने, ‘यही उद्देश्यले प्रतीक्षालय बनाएका हौँ। बिस्तारै सुविधा पनि थप्दै जान्छौं।’
प्रतीक्षालयमा सिसिटिभी क्यामेरा पनि जडान गरिएको छ। त्यहाँको गतिविध मेयरले आफ्नो कार्यकक्षबाट कम्युटरमा हेर्न पाउँछन्।
‘सेवाग्राहीलाई ढोका अगाडि उभ्याएर पर्खाउनु राम्रो होइन। सेवाग्राहीका समस्या सुन्ने व्यवस्थित परिपाटी हुनुपर्छ,’ उनी भन्छन्, ‘मेयर, उपमेयर, प्रशासकीय प्रमुख र अन्य कर्मचारीहरूले प्रतीक्षालयमै सेवाग्राहीसँग भेटून्, उनीहरूका कुरा सुनून् भनेर सुविधायुक्त प्रतीक्षालय बनाएका हौं।’
उपप्रमुख कन्दकला कुमारी रानाले जति धेरै समय लागे पनि सेवाग्राहीहरू घामपानीमा बाहिरै उभिएर पालो कुर्नुपर्छ भन्ने प्रवृत्ति अन्त्यका लागि पनि प्रतीक्षालय बनाइएको बताइन्। उनका अनुसार यसबाट सेवाग्राहीले सम्मान अनुभव गरेका छन्।
उनले भनिन्, ‘सेवाग्राहीले सास्ती भोग्नु परेको थियो। प्रतीक्षालयमा आरामले बस्न पाएपछि पालो पर्खिन सजिलो भयो।’
धनगढी उपमहानगरपालिकाले अन्य स्थानीय तहहरूलाई पनि सेवाग्राहीको सम्मान र सुविधाको सन्देश दिन चाहेको उनले बताइन्।