घटना गत असार १० गतेको हो। लागूऔषध मुद्दामा थुनामा रहेका २१ वर्षीय छोरा भेट्न ५० वर्ष उमेरकी आमा कैलाली जिल्ला कारागार पुगिन्। आमा थिइन् धनगढी उपमहानगरपालिका–३, मिलनचोक निवासी।
कारागारको सुरक्षा जाँचका क्रममा ती महिला लागुऔषध बोकेको अभियोगमा तत्कालै पक्राउ परिन्। प्रहरीका अनुसार उनले बिस्कुटको प्याकेटमा लुकाएर ५ ग्राम ४० मिलिग्राम ब्राउन सुगर ल्याएकी थिइन्।
यसअघि थुनामा रहेका ती युवककी श्रीमती पनि लागुऔषध बोकेको अभियोगमा पक्राउ परेकी थिइन्।
कैलाली जिल्ला कारागारमा लागुऔषध पुगेको उक्त घटना पहिलो थिएन तर नौलो थियो। प्रहरीका अनुसार छोरो भेट्न कारागार पुगेकी आमाले लागूऔषध बोकेको घटना नौलो थियो।
उक्त घटनापछि प्रहरीले कैलाली कारागारमा कैदीबन्दी भेट्ने अगन्तुकहरूमाथि निगरानी बढायो। त्यही असारको १५ गते धनगढी उपमहानगरपालिका–६, चटकपुरका २५ वर्षीय एक युवक पनि कारागारको सुरक्षा जाँचका क्रममा पक्राउ परेका थिए।
प्रहरीका अनुसार ती युवक जबर्जस्ती करणी मुद्दामा जेलमा रहेका ३१ वर्षीय आफन्तलाई भेट्न गएका थिए। उनले कैदीका ल्याइदिएको स्याम्पुको बट्टामा १३ ग्राम खैरो हेरोइन फेला परेको थियो।
यी दुई घटनाअघि कैलाली कारागारमै त्यही असारको ८ गते प्रहरीले जेलभित्र अनुगमन गर्दा कैदीबन्दीबाट १५ थान सेल (मोबाइल) फोन र ३३ थान चार्जर फेला पारेको थियो। त्यसअघि जेठ २३ गतेको अनुगमनमा २० थान सेल फोन बरामद भएको थियो।
यसरी सेल फोन फेला परेपछि कैदीबन्दीले कारोबारीबाट लागुऔषध मगाउने र सेवन गर्ने गरेको खुलासा भएको थियो। त्यही समयमा लागूऔषधकै कारण कारागारभित्र कैदीबन्दीबीच कुटाकुट भएको थियो।
कैदीबन्दीले लागूऔषध सेवन गरेर सुरक्षाका कर्मचारीमाथि पनि आक्रमण गरेका थिए।
यस्ता घटनाहरूबाट संवेदनशील सुरक्षा घेराभित्र पनि लागूऔषध कारोबार हुने गरेको प्रष्ट भएको थियो।
हरक्षण प्रहरीको सुरक्षाको घेरामा रहने कारागारमा समेत लागूऔषध पुगेको फेला परेपछि खुला ठाउँको अवस्था कस्तो होला भन्ने प्रश्न उठ्नु स्वाभाविक भएको छ।
सुदूरपश्चिम तराईका कैलाली र कञ्चनपुर जिल्लामा लागुऔषधको कारोबार धेरै हुने गरेको प्रहरी अधिकारीहरूको भनाइ छ। प्रहरीका अनुसार यी दुबै जिल्लामा भारतसँग आवतजावतका ठूला नाका रहनु नै लागुऔषध कारोबारको प्रमुख कारण हो।
भारतबाट नेपालतर्फ कति लागु औषध भित्रन्छ भन्ने कुरा सीमा नाकाहरूमा दैनिकजसो लागूऔषध ओसारपसारमा पक्राउ पर्ने संख्याबाट पनि सामान्य आकलन गर्न सकिन्छ।
पछिल्लो समय ओसारपसारमा महिला र किशोरीहरूको संलग्नता पनि बढेको छ। प्रहरीले सीमानाकाबाट गोप्य अंगमा लागूऔषध लुकाएर ल्याउने महिला र किशोरीहरू समातेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदीप चन्दका अनुसार छिटो पैसा कमाउने लोभले लागूऔषध ओसारपसार गर्ने व्यक्तिको संख्या बढेको हो। लागुऔषधका ओसारपसार र प्रयोगका पछिल्ला घटनालाई भयावह भविष्यको संकेतको रूपमा लिएको उनको भनाइ छ।
ओसारपसार र कारोबारमा संलग्नमध्ये करिब १० प्रतिशतमात्र पक्राउ पर्ने गरेको उनको अनुमान छ।
‘लागूऔषध नियन्त्रणमा भारतसँगको खुला सीमानाका नै मुख्य चुनौती हो। अहिले पक्राउ परेको संख्या अत्यन्त न्यून हो,’ डिएसपी चन्द भन्छन्, ‘प्रहरीको सूचनाबाहिर कारोबारीको संख्या निकै ठूलो छ भन्ने अनुमान छ।’
लागुऔषध कारोबार, ओसारपसार र दुर्व्यसनमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने र कानुनी प्रक्रियामा लैजाने काम प्रहरीको भए पनि प्रहरी एक्लैले नियन्त्रण गर्न नसक्ने उनको भनाइ छ। लागुऔषध सम्बन्धी अपराध नियन्त्रणका लागि संमुदायको सहयोग आवश्यक हुन्छ।
‘समुदायमा लागुऔषध अपराधमा संलग्नहरूको सूचना हुन्छ। त्यो सूचना प्रहरीले पाउन सक्यो भने नियन्त्रण गर्न सजिलो हुन्छ। समुदायको मुख्य काम प्रहरीलाई सूचना दिनु नै हो,’ उनले भने।
एक वर्षअघि कात्तिक ११ गते कैलालीको कैलारी गाउँपालिका–६, बनकटुवाबाट ३३ वर्षीय यादवकुमार चौधरी १३ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए। उक्त घटनामा कैलाली कारागारमा कार्यरत प्रहरी हवल्दार अपिल भाट र चौकीदार वसन्त बुढा पनि संलग्न रहेको पत्ता लागेको थियो।
गत वैशाख ८ गते कैलालीकै साडेपानी अस्थायी प्रहरी पोस्टमा कार्यरत प्रहरी जवान अंकित चौधरी ३३ ग्राम खैरो हेरोइनसहित पक्राउ परे।
त्यही वैशाखको २४ गते सशस्त्र प्रहरीको कैलालीस्थित ४३ रिजर्व गण हेडक्वार्टर, बनवेहडामा कार्यरत हवल्दार प्रेमसिंह सुनार सीमावर्ती भारतीय बजार तिकुनियाबाट ९१० मिलिग्राम खैरो हेरोइनसहित समातिएका थिए।
यही कात्तिक १ गते धनगढीमा चितुवाको छाला र चरेससहित तीन जना पक्राउ परेका थिए। तीमध्ये सुदूरपश्चिमका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार करनबहादुर चन्द पनि थिए।
उनको साथबाट सात फिट ६ इन्च लम्बाइ र एक फिट १० इन्च चौडाइको चितुवाको छाला र ६ किलो ७४० ग्राम चरेस बरामद भएको थियो।
सुदूरपश्चिममा सरकारी कर्मचारी पनि लागूऔषधसहित पक्राउ परेका घटना छन्। गत असार २९ गते कञ्चनपुरको पुनर्वास नगरपालिका–५, मदनटोलका २८ वर्षीय कृष्णप्रसाद पक्राउ परे। उनी वडा नम्बर १० को वडा कार्यालयका कर्मचारी थिए। उनको साथबाट ५४० मिलिग्राम लागुऔषध प्रहरीले फेला पारेको थियो।
सुदूरपश्चिममा ‘पत्रकार’ लेखिएको मोटरसाइलकमा ‘प्रेस’ लेखिएको ज्याकेट लगाएका व्यक्ति पनि लागुऔषध कारोबारमा पक्राउ परेका घटना छन्।
प्रहरीका अनुसार सुदूरपश्चिममा लागूऔषधसम्बन्धी अपराध नियन्त्रणमा प्रहरीले विभिन्न किसिमले प्रयास जारी राखेको छ। हाल सुदूरपश्चिम प्रदेश प्रहरीले ‘लागूऔषधविरुद्ध महाअभियान, २०८०’ चलाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी नायव महानिरीक्षक (डिआइजी) भरत बोहराका अनुसार यस अभियान अन्तर्गत प्रत्येक दिन विभिन्न ठाउँमा जनचेतना अभिवृद्धिको कार्यक्रम हुने गरेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अभिलेख अनुसार गत वर्षको चैत १६ गतेदेखि गत असोजसम्ममा लागुऔषधमा ५५० जना पुरुष र ३४ जना महिला पक्राउ परे। यीमध्ये पाँच जना भारतीय थिए।
सोही अवधिमा गाँजा एक किलो ८२० ग्राम, चरेस ५३ किलो ८२३ ग्राम, ब्राउन सुगर ७८९ ग्राम ९४५ मिलिग्राम बरामद भएको छ।
उनीहरूविरुद्ध प्रहरीले ३६५ वटा मुद्दा दर्ता गरेको छ।
(डिआइजी) बोहराले हालै कैलालीको लम्कीमा लागूऔषधको डिलर रहेका दुई जना भारतीय पक्राउ परेको बताए। उनीहरूका माध्यमबाट नेपालभित्रका कारोबारी खोजी गर्ने र पक्राउ गर्ने काम हुँदैछ।
उनका अनुसार लागूऔषध अपराधमा युवा र किशोरकिशोरीको संलग्नता बढ्दै गएको देखिएकोले विद्यार्थीहरूलाई सचेत गराउने कार्यक्रम चलाइएको छ। यस्तो कार्यक्रम इलाका र वडास्तरबाट चल्दैछ।
पहिलो चरणमा कक्षा ११ र १२ का विद्यार्थीका लागि चेतनामूलक कक्षा चलाएको छ। दोस्रो चरणमा कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई कक्षा चलाउने तयारी छ। दोस्रो चरणको कार्यक्रममा विद्यार्थीका साथ अभिभावकहरूलाई बोलाउने जनाइएको छ।
प्रहरीका अनुसार लागूऔषधका कारण अन्य अपराध बढ्दो क्रममा देखिएको छ। धेरै युवा जेलमा छन्। कतिपय युवा मानसिक रोगी छन्। कोही गम्भीर बिरामी छन्।
सुदूरपश्चिममा लागूऔषधको कारोबार र प्रयोग बढ्दै गएपछि केही स्थानीय तहहरू नियन्त्रणको प्रयासमा लागेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरीले धनगढी उपमहानगरपालिकाको सहयोगमा उपमहानगरकै फूलबारीमा ‘आसरा सुधारगृह’ सञ्चालनको तयारी गरेको छ।
सुधारगृहमा कैलाली र कञ्चनपुरका अन्य २२ वटा स्थानीय तहले पनि सहयोग गरेका छन्। सुदूरपश्चिम प्रदेश सरकारले पनि सहयोगको वचन दिएको जनाइएको छ।
प्रहरीले उक्त सुधारगृहमा पर्खाल लगाउने तथा आँगन र बगैँचा बनाउने काम गरिरहेको छ। धनगढी उपमहानगरका मेयर गोपाल हमालका अनुसार सुधारगृह चाँडै सञ्चालन हुनेछ।
सुधारगृहमा लागूऔषध दुव्र्यसनीहरूले प्रहरीको निगरानीमा स्वास्थ्य परीक्षण, उपचार र मनोपरामर्श सेवा पाउने छन्। दैनिक योग र स्वास्थ्यवर्द्धक नित्यकर्म पनि अभ्यास गराइने छ।
सुधारगृह सञ्चालनमा आएपछि लागुऔषध कारोबार र दुर्व्यसन नियन्त्रण गर्न मद्धत पुग्ने प्रहरीको अपेक्षा छ।