च्याटजिपिटी बनाउने ओपनएआईका पूर्व-सिइओ शाम अल्टम्यान माइक्रोसफ्ट कम्पनीमा जाने भएका छन्।
आइतबार माइक्रोसफ्टका सिइओ सत्य नडेलाले सामाजिक सञ्जाल एक्स (ट्विटर)मा लेख्दै अल्टम्यान कम्पनीमा आउन लागेको बताएका हुन्।
उनले उक्त कम्पनीमा नयाँ एआई रिसर्च टिमको नेतृत्व सम्हाल्दैछन्।
ओपनएआइले भने भिडिओ लाइभ स्ट्रिमिङ प्लेटफर्म ट्विचका पूर्व प्रमुख एमेट शियरलाई प्रमुख बनाएको छ। उनलाई अहिले कार्यवाहक सिइओ बनाएको छ।
ओपनएआईले गत शुक्रबार अल्टम्यानलाई बर्खास्त गरेको थियो।
‘स्याम अल्टम्यान र ग्रेग ब्रकम्यानले माइक्रोसफ्टको नयाँ एड्भान्स एआई रिसर्च टिमको नेतृत्व गर्ने गरी आउन लागेको खबर सुनाउन पाउँदा एकदमै खुशी छु,’ नडेलाले एक्समा लेखेका छन्।
ग्रेस ब्रकम्यान पनि ओपनएआईका पूर्वअध्यक्ष हुन्। ओपनएआईले अल्टम्यान कम्पनी र बोर्डप्रति जवाफदेही र जिम्मेवार नभएको भन्दै बर्खास्त गरेको थियो। उनलाई बर्खास्त गरेपछि ग्रेग ब्रकम्यानले पनि अध्यक्ष पदबाट राजीनामा दिएका थिए।
ओपनएआइले गत वर्षको नोभेम्बरमा च्याटजिपिटी लञ्ज गरेको थियो। यसले वर्षदिनमै विश्वभर लोकप्रियता कमाएको छ।