बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरमा मैनबत्तीको आगो सल्कँदा दुई परिवारका तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी धीरजबहादुर शाहीका अनुसार भरत चन्दको घरभित्र आगो सल्कँदा उनका ७ वर्षीय छोरी कृष चन्द र १८ महिने छोरा कार्तिक चन्दको मृत्यु भएको छ।
भरत चन्दकी बहिनी ३२ वर्षीया राधा बुढा र उनकी ११ वर्षीया छोरी मानसी बुढाको पनि आगलागीमा परी मृत्यु भएको छ।
एसपी शाहीका अनुसार चन्दको घरमा तीन दिनदेखि विद्युत आपूर्ति बिग्रिएका थियो। त्यसैले उनीहरूले उज्यालोका लागि मैन बत्ती बालेका थिए। घरधनी भरत चन्द पनि काम विशेषले बाँकेको कोहलपुरमा थिए।
मैनबत्ती बालेर एउटै कोठामा सुतेका उनीहरू राति १० बजे आगलागीमा परेको एसपी शाहीले जानकारी दिए।
‘कोठाभित्र फ्रिजमाथि मैन बालेर सुत्नुभएको रहेछ। नजिकै अरू मैनबत्तीहरू र लुगा पनि रहेछ, बलिरहेको मैनबत्तीले त्यसैलाई टिपेर आगलागी हुन पुगेछ, अरू हामी अनुसन्धान गर्दैछौं,’ उनले भने।
मैनबत्तीको आगाले विद्युतको तार टिपेको र त्यसको आवाज आएपछि २८ वर्षीया करिष्मा चन्दले आगलागी थाहा पाएकी थिइन्।
‘त्यसपछि उहाँले छिमेकीलाई खबर गर्न थाल्नु भएछ। छिमेकी जम्मा हुँदा ४ जना आगोमा परिसक्नु भएको थियो। केटाकेटीहरूले भाग्ने कोसिस पनि गरेका रहेछन्। तर, भाग्न सकेनछन्,’ एसपी शाहीले भने।
आगलागीमा करिष्मा चन्द घाइते भएकी छिन्। उनी खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ।
शवहरूलाई पोष्टमार्टका लागि जिल्ला अस्पताल लगिएको एसपी शाहीले जानकारी दिए।