लागुऔषधको दुर्व्यसनमा फसेका विपन्न वर्गका युवाहरूको नि:शुल्क उपचार र समुदायमा पुनर्स्थापनाका लागि स्रोत जुटाउन चितवनमा महोत्सव आयोजना गरिएको छ।
लामो समयदेखि लागु औषध दुर्व्यसनमा फसेका व्यक्तिहरूको उपचार र समाजमा पुनर्स्थापनाका लागि काम गर्दै आएको रिकभरिङ युनाइटेड प्रालि मुख्य आयोजक र औद्योगिक शान्ति नेपाल संस्था आयोजक रहेको ‘चितवन नारायणी महोत्सव’ मंसिर १६ गतेसम्म नारायणी नदीको किनारमा सञ्चालन हुनेछ।
रिकभरिङ युनाइटेड प्रालिका संस्थापक मनोज घिमिरेले लागुऔषधको दुर्व्यसनबाट मुक्त हुन चाहँदाचाहँदै पनि कमजोर आर्थिक अवस्थाका कारण धेरै युवाहरू उपचारको पहुँचमा पुग्न नपाएको बताए।
‘पुनर्स्थापनाका लागि काम गर्न भनेर केही संस्थाहरू स्थापना भएका छन्। तर ती संस्थाहरूले निःशुल्क सेवा दिन सकिरहेका छैनन्। सरकारी निकायको यस विषयमा त्यतिधेरै चासो पुगेको छैन,’ घिमिरे भन्छन्, ‘कमजोर आर्थिक अवस्थाकै कारण उपचारबाट बञ्चित भएकाहरूलाई सेवा दिन स्रोतको आवश्यकता महसुस गरेर महोत्सव आयोजना गरेका छौं।’
घिमिरेकाअनुसार चितवनमा अहिले ११ हजार जनाभन्दा बढी सक्रिय लागुऔषध दुर्व्यसनीहरू छन्।
उनीहरू ब्राउन सुगर, हिरोइन तथा इन्जेक्सनमार्फत् विभिन्न लागुऔषधको प्रयोग गर्छन्।
यो तथ्यांक लागुऔषध प्रयोगकर्ताको पुनर्स्थापनाका लागि काम गर्ने संस्थाहरूको छाता संस्था रिकभरिङ नेपालले संकलन गरेको हो।
सामान्य रूपमा लागुऔषधको प्रयोग गर्नेको संख्या सक्रिय प्रयोगकर्ताको भन्दा बढी छ।
रिकभरिङ नेपाल चितवनका पूर्वअध्यक्ष घिमिरेले समयमै उपचार नपाउँदा दुर्व्यसनीहरू आपराधिक गतिविधिमा सक्रिय हुने गरेको बताए।
‘यसलाई रोक्न भूमिका खेल्न सकिन्छ कि भनेर स्रोत जुटाउन महोत्सव आयोजना गरेका हौं,’ उनले भने, ‘भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरेको छ। महोत्सवले यसलाई पनि टेवा पुर्याउँछ।’
महोत्सवका संयोजक पिंगलराज पन्तले महोत्सवबाट ३० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेको बताए। त्यो रकमले ३० जनाभन्दा बढीलाई उपचार गरेर समाजमा पुनर्स्थापना गर्न सकिने उनी बताउँछन्।
महोत्सवमार्फत् लागुऔषध प्रयोगकर्ता र तिनका परिवारलाई यसबाट हुने जोखिम, उपचार र समाजमा पुनर्स्थापनाको अवसरका विषयमा जानकारी दिइने संयोजक पन्तले बताए।
महोत्सव अवधिभरमा आउने दर्जनौं राष्ट्रिय कलाकारहरूले लागुऔषधको दुर्व्यसनमा नलाग्न युवाहरूलाई प्रोत्साहन पनि गर्ने उनले बताए।
‘हामी महोत्सवलगत्तै चितवनका विद्यालयहरूमा पुगेर लागुऔषध प्रयोगका जोखिम, यसले पार्ने प्रभावका विषयमा बालबालिका तथा किशोर, किशोरीहरूका लागि सचेतना अभियान सञ्चालन गर्दैछौं,’ पन्तले भने, ‘बालबालिकामार्फत् समाजमा सकारात्मक सन्देश प्रवाह गर्न चाहन्छौं।’
उनले महोत्सवका लागि स्थानीय तह, प्रशासन र राजनीतिक दलहरूले प्रोत्साहन तथा सहयोग गरेको बताए।
रिकभरिङ युनाइटेडका अध्यक्ष रविनकुमार श्रेष्ठले युवाहरू दुर्व्यसनमा लाग्दा पूरै परिवार डिप्रेसनको सिकार हुने गरेको बताए।
अरूभन्दा फकर देखिने चाहना, साथीभाइको लहैलहैमा लागेर, आर्थिक रूपमा सम्पन्न परिवारको सदस्य परिवारभन्दा टाढा रहँदा, जीवनमा लक्ष्य प्राप्त गर्न नसकेर, आफूले आफूलाई असफल ठानेर, निराशावादी सोच र चिन्तन, क्षणिक आनन्दका लागि मान्छेहरू लागुऔषधको दुर्व्यसनमा फस्ने गरेको उनले बताए। धेरै युवाहरू ख्यालख्यालैमा दुर्व्यसनमा फस्ने गरेको उनले बताए।
‘यो एक प्रकारको रोग हो। उपचार पायो भने यसलाई निको पार्न सकिन्छ। उपचारपछि उनीहरू फेरि पनि पुनर्स्थापित हुन सक्छन् भन्ने सन्देश हामी महोत्सवमार्फत् दिन चाहन्छौं,’ श्रेष्ठले भने, ‘हामीले उपचार गराएर समाजमा पुनर्स्थापना भएका व्यक्तिहरू अहिले जनप्रतिनिधि, डाक्टर, इन्जिनियर, सफल व्यवसायी बनेका छन्। ती उदाहरणहरु दुर्व्यसनमा फसेका व्यक्तिहरूलाई सुनाएर उपचारमा प्रोत्साहन गर्छौं।’
महोत्सवमा कृषिजन्य उत्पादन, पर्यटन, औद्योगिक, हस्तकला, संस्थाहरूका १९३ वटा स्टल छन्।
मनोरञ्जनका लागि बाल उद्यान पनि राखिएको छ। ६० लाख रुपैयाँभन्दा बढी खर्च गरेर महोत्सव गरिएको आयोजक संस्था औद्योगिक शान्ति नेपालका संस्थापक अध्यक्ष सन्दीप महतले जानकारी दिए।
१५ वर्षदेखि देशका विभिन्न स्थानहरूमा मेला महोत्सव गर्दै आएको यो संस्थाले पहिलो पटक लागुऔषध दुर्व्यसनीको सहयोगका लागि महोत्सव गरेको उनले बताए।
चितवनमा दुर्व्यसनीको पुनर्स्थापनाका लागि काम गर्ने २१ वटा संस्था छन्।
भरतपुर महानगरपालिकामा मात्रै १५ वटा संस्था छन्। १९ वर्षअघि मिराकल फाउण्डेसन नामबाट सञ्चालन भएको संस्था सरकारले पुनर्स्थापना केन्द्र सञ्चालनसम्बन्धी मापदण्ड परिमार्जन गरेपछि २०७५ सालबाट रिकभरिङ युनाइटेड प्रालि बनेको थियो।
भरतपुर–१ रामनगरमा १३ कट्ठा क्षेत्रफलमा सञ्चालन गरिएको रिकभरिङ युनाइटेडले मात्रै अहिलेसम्म १४ देखि ७५ वर्षसम्मका १५ सय जनालाई उपचार र समाजमा पुनर्स्थापना गरेको संस्थापक अध्यक्ष मनोज घिमिरेले बताए। यो पुनर्स्थापना केन्द्रको एक पटकमा ३५ जनालाई उपचार गर्ने क्षमता छ।
एक जना दुर्व्यसनीको उपचार गर्न करिब ६ महिना लाग्ने र खर्च एक लाख २० हजार रुपैयाँसम्म लाग्ने घिमिरे बताउँछन्।