नेपालकै अग्लो भवनको रूपमा दाबी गरिएको दमक भ्यूटावरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
दमक नगरपालिका-३ ढुकुरपानीमा निर्माण भइरहेको टावरको भौतिक प्रगति ९१ प्रतिशत सकिएको उल्लेख गर्दै यही महिनाभित्र निर्माण कार्य सपन्न गर्ने तयारी रहेको आयोजना प्रबन्धक सजल बिडारीले जानकारी दिए।
'अहिले टावर फिनिसिङको काम भइरहेको छ। विद्युतीय, फल्स सिलिङ, टायल, मार्बलको काम सकिएको छ। अब बाहिर बगैंचामा बिरूवा र घाँस रोप्ने काम बाँकी छ,' बिडारीले भने।
कुल पाँच बिघा जमिनमा फैलिएको टावर १८ तलाको रहने छ। टावरको भुइँ तलामा पार्किङ रहने छ। भुइँ तलादेखि तेस्रो तलासम्म पसलहरूका लागि छुट्याइको छ।
यस्तै, चौथोदेखि नवौं तलासम्म कर्पोरेट कार्यालय रहने र दशौंदेखि तेह्र तलासम्म ग्यालरी र प्रदर्शनी हल रहने छ।
टावरको १४ औं र १५ औं तलामा रेस्टुरेन्ट र क्याफे रहँदा १६ औं र १७ औं तला भने दृश्य अवलोकनको लागि छुट्याइएको छ। त्योभन्दा माथि २८ मिटरको टावर रहने छ। तर उक्त टावरमा मानिस जान मिल्ने छैन। मानिसहरू टावरको १७ तलासम्म मात्र जान सक्ने छन्।
टावर निर्माणको काम आगामी महिना सकिए पनि सर्वसाधारणका लागि भने तत्काल खुला गरिने छैन। किनकि टावर निर्माणको काम सकिएपछि सरसफाइ, सिसा पुछ्ने र अन्य विविध कामका लागि अर्को एक महिना समय लाग्नेछ।
अर्कोतर्फ टावर सम्पन्न गर्नका लागि आवश्यक थप बजेट निकासा नहुँदा समय लम्बिन सक्ने आयोजना प्रमुख सुदिप पौडेल बताउँछन्।
'टावर निर्माण अन्तिम चरणमा पुगेको छ। तर बजेट नहुँदा अप्ठ्यारो भएको छ। पहिले आएको सबै बजेट खर्च भइसक्यो। अब फाइनल गर्ने बेलामा बजेट नहुँदा काम लम्बिन सक्ने देखिन्छ,' उनले भने।
पौडेलका अनुसार अब टावरको बाँकी काम सम्पन्न गर्न थप २३ करोड बजेट आवश्यक पर्छ। जबकि ५ करोडको फाइल मात्र अगाडि बढेको छ। बाँकी रकमको सुनिश्चितता नहुँदा टावरको काम डेढ महिना लम्बिन सक्ने र सर्वसाधारणका लागि खुला गर्न पनि समय लाग्ने उनको भनाइ छ।
डेढ अर्बभन्दा बढी लागतमा बनिरहेको यो टावरको सञ्चालनको जिम्मा दमक नगरपालिकाले गर्नेछ। सोही अन्तर्गत नगरपालिकाले टावर नजिकै स्मार्ट सिटी बनाउनका लागि एकीकृत जग्गा व्यवस्थापन प्रक्रिया सुरू गरेको छ।
'नयाँ दमक' नाम दिइएको यो परियोजना नगरपालिका र स्थानीयको सहकार्यमा बन्ने भनिएको छ। जसमा स्थानीयले जग्गा उपलब्ध गराउने र नगरपालिकाले सडक, खानेपानी, ढल, बगैंचा, स्वास्थ्य चौकीलगायत पूर्वाधार निर्माण गर्नेछ।
२०७६ असारबाट सुरू गरिएको र ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने भनिए पनि कोरोना महामारीका कारण बीचमा डेढ वर्ष समय थपिएको थियो।