चितवनमा शुक्रबारदेखि ‘गोही संरक्षण मेला’ सुरु भएको छ। केयर फर नेचरले गोहीमा आधारित पर्यटन विकासको उद्देश्यले नेपाल गोही संरक्षण मेला–२०८० आयोजना गरेको हो।
गत वर्ष मेघौलीमा गरिएको मेला यस वर्ष सौराहाको चित्रसारी पुल नजिकैको चौरमा गर्न लागिएको छ।
मेलाअन्तर्गत् शुक्रबार बिहान गोहीको बासस्थान क्षेत्रमा सरसफाइ गरिएको छ। दिउँसो रत्ननगर र खैरहनी नगरपालिकाका ८ वटा विद्यालयहरुमा संरक्षण शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ केयर फर नेचरकी अध्यक्ष रन्जना भट्टले जानकारी दिइन्। नदी, खोलामा निर्भर रहने समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयलाई लक्षित गरेर संरक्षण शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताइन्।
‘विद्यार्थीमार्फत अभिभावकमा गोही संरक्षणसम्बन्धी चेतनाको विकास गर्ने प्रयास हामीले गरिरहेका छौं। गत वर्ष मेघौलीमा धेरै विद्यालय तथा कलेजका विद्यार्थीहरूलाई उपस्थित गराएर मेला गर्यौं। यसले समुदायलाई संरक्षणमा प्रेरित गरेको थियो,’ उनले भनिन्, ‘यसपाली सौराहा आसपासको समुदायलाई लक्षित गरेर मेला गरेका छौं,’ उनले विद्यार्थीहरुलाई रोचक तरिकाबाट गोही सम्बन्धी ज्ञान दिन प्रयास गर्ने बताइन्।
गोहीको विषयमा अनुसन्धान गरेका राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका विज्ञ तथा अनुसन्धानकर्ता र विश्वविद्यालयका विद्यार्थीहरु पनि मेलामा उपस्थित हुने आयोजक संस्थाले जनाएको छ।
नेपालमा घडियाल र मगर गोही पाइन्छन्। अति संकटापन्न अवस्थाको घडियाल गोही नेपाल र भारतमामात्रै पाइन्छन्। चितवनको राप्ती र नारायणी नदी घडियाल गोहीको प्रमुख वासस्थान हो। भट्टले गोही र नदी प्रणालीको सुरक्षाका लागि समुदायको ऐकबद्धता खोज्न मेला आयोजना गरिएको बताइन्।
घडियाल गोहीको वासस्थान बगेको सफा पानी हो। उसको आहारा माछा हो। घडियालको उपस्थितिले पानीको शुद्धतालाई संकेत गर्छ। नदीमा बढ्दो प्रदूषण, उत्खनन्, बढ्दोक्रममा रहेको मानवीय चहलपहल, मान्छेले माछा माछा मारेर खाने प्रवृत्तीलगायतका कारण घडियाल गोहीहरू संकटमा पर्दै गएका छन्।
मगर गोही जोखिम अवस्थामा सूचीकृत छ। यसको गणना गरिएको छैन।
२०७९ सालको पुसमा गरिएको सर्भेक्षणअनुसार राप्तीमा १३३ र नारायणी नदीमा १०६ वटा घडियाल गोहीहरू छन्। त्यतिखेर राप्तीमा एउटा र नारायणीमा दुइटामात्रै भाले गोही भेटिएका थिए। जबकी चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन् केन्द्रले सन् १९८१ यता १८ सय ५२ वटा गोहीहरू हुर्काएर विभिन्न नदीहरूमा छाडेको छ। तीमध्ये धेरै राप्ती र नारायणीमै छाडिएका थिए। गोहीहरू नदीमा आउने बाढीसँगै बगेर भारत पुग्ने गरेका पनि छन्।
हाल नदीमा रहेका गोहीलाई संरक्षण गर्न समुदायलाई जागरुक गराउने उद्देश्यले मेला आयोजना गरिएको भट्टले बताइन्। तियारी जालको प्रयोग गरेर माछा मार्नेलाई रोक्ने, संरक्षण गर्नुपर्छ भन्ने मानसिकताको विकास गर्न सघाउने, संरक्षण संस्कृतिको विकास गर्ने उद्देश्य मेलाको छ। बेरिएर गोहीको मृत्युसम्म हुने भएकाले तियारी जाललाई हानिकारक मानिन्छ।
‘गोहीलाई प्रजनन् केन्द्रमा भन्दा पनि प्राकृतिकरूपमै जोगाउन लाग्नुपर्छ। नेपालमा लामो समयदेखि प्रजनन् केन्द्रमा हुर्काउँदै नदीमा छाड्ने गरे पनि थोरैमात्र यहाँ बाँचिरहेका छन्। त्यसैले अब हामीले प्राकृतिक बासस्थानलाई कसरी सुरक्षित बनाउने भन्नेतर्फ सोच्नुपर्नेछ,’ उनले भनिन्।
मेलामा शनिबार गोही सम्बन्धी सूचनामूलक सामग्रीहरूको प्रदर्शनी, गोही संरक्षणमा प्रेरित गर्ने नाटक, गीत, नृत्य, चित्रकला प्रस्तुत गर्ने र सरसफाई गर्ने भट्टले बताइन्। स्थानीय कला, संस्कृति, खानाका परिकारको प्रदर्शनी पनि मेलामा गरिनेछ।
बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङले बिगतमा दुई ठूला नदीमामात्रै देखिने गोहीहरू संरक्षणका गतिविधि बढेपछि अन्य साना खोलाहरूमा पनि देखिन थालेको बताए। मेलाले माछा मार्ने र गोहीलाई हानी हुने अन्य गतिविधि कम गर्न सघाउने र संरक्षणमा सहयोग गर्ने विश्वास उनको छ।
‘सौराहामा वन्यजन्तु हेर्न भनेर पर्यटक आउँछन्। उनीहरु गोही देख्दा असाध्यै खुसी हुन्छन्। तर गोहीको संख्या घट्दोक्रममा छ। प्राकृतिक बासस्थानमा गोही निकै कम देखिन्छन्,’ तामाङले भने, ‘मान्छेको आनीबानी, आचरणमा सुधार भयो भने गोही जोगाउन सहज हुन्छ। मेलाले यसमा सहयोग गर्छ भन्ने विश्वास छ।’