बस्नका लागि सबैभन्दा महँगा १० सहरको सूची सार्वजनिक भएको छ।
इकोनोमिस्ट इन्टेलीजेन्स युनिट (इआइयु)ले एक महिना सर्वेक्षण गरी बस्नका लागि विश्वका १० मंहगा सहरहरूको सूची सार्वजनिक गरेको हो। इआइयुले प्रत्येक वर्ष महँगो सहरको सूची सार्वजनिक गर्दै आइरहेको छ।
यसपालि पनि सिंगापुर सबैभन्दा महँगो सहरको पहिलो नम्बरमा छ। सिंगापुर पछिल्लो ११ वर्षमा ९ पटक विश्वकै सबैभन्दा महँगो सहरको सूचीको पहिलो नम्बरमा परेको छ।
संयुक्त राज्य अमेरिकाको न्युयोर्क सिटीलाई पछि पार्दै स्विट्जरल्याण्डको ज्युरिच दोस्रो महँगो सहर बनेको छ।
इआइयुको सर्वेक्षणमा अघिल्लो वर्ष न्यूयोर्क सिटी दोस्रो महँगो सहर बनेको थियो। यसपालि एक स्थान तल झरेर तेस्रोमा पुगेको हो।
चौथो स्थानमा स्विट्जरल्याण्डकै जेनेभा छ। पाचौंमा हङकङ, छैटौंमा लस एन्जलस, सातौंमा पेरिस, आठौंमा कोपनहेगन, नवौंमा इसराइलको तेल अविभ र दसौंमा सान फ्रान्सिस्को छ।
इआइयुले अगस्ट १४ देखि सेप्टेम्बर ११ सम्म उक्त सर्वेक्षण गरेको थियो। इसराइल-हमास युद्धअघिको अवस्थामा तेल अविभ विश्वको महँगो दसमध्ये नवौं नम्बरमा रहेको इआइयुले प्रष्ट पारेको छ।
उसका अनसार झन्डै १ महिना लगाएर विश्वका १७३ सहरका दुई सयभन्दा बढी वस्तु तथा सेवाको मूल्यहरू तुलना गरिएको थियो। बस्नका लागि आवश्यक पर्ने सबै वस्तु तथा सेवाको मूल्यका आधारमा महँगा १० सहरको सूची सार्वजनिक गरिएको उसको दाबी छ।
सोही आधारमा इआइयुले बस्नका लागि संसारकै सस्तो १० सहरहरू पनि पत्ता लगाएको छ। इआइयुले सोही विधिबाट गरेको सर्वेक्षणमा सबैभन्दा सस्तो सहरको शीर्षस्थानमा सिरियाको दमास्कस छ। त्यसपछि क्रमशः इरानको तेहरान, लिवियाको त्रिपोली, पाकिस्तानको कराँची, उव्जेकिस्तानको तासकेन्त, ट्युनिसियाको ट्युनिस, जाम्बियाको लुकाशा, भारतको अहमदावाद, नाइजेरियाको लागोस र भारतकै चेन्नई छन्।
इआइयुले उक्त सर्वेक्षणबाट मुद्रास्फितीका कारण २ सयभन्दा बढी वस्तु तथा सेवाको मूल्यमा वार्षिक ७.४ प्रतिशत वृद्धि हुने पत्ता लगाएको छ।
इआइयुले अर्को वर्ष मुद्रास्फीति घट्ने सम्भावना रहेको तर इजरायल-हमास द्वन्द्व लगायत अन्य कारण उर्जाको मूल्य बढ्न सक्ने बताएको छ।