२०७० सालको असोजमा श्रीमान ज्याकसँग पोखरा घुम्न आएकी अष्ट्रेलियन नर्स डेलमेन राइनलाई हरेउ (पिट भाइपर) सर्पले टोक्यो। उनलाई तुरुन्तै अस्पताल लगियो। तर अस्पतालमा सर्पको विषको असरलाई नियन्त्रण गर्ने प्रतिविष (एन्टी स्नेक भेनम) थिएन।
एन्टी भेनम नभएपछि स्वास्थ्यकर्मीले विष बाहिर फ्याँक्न भनेर घाउबाट रक्तश्राव हुन दिए। तर बढी रक्तश्राव हुँदा उनको ज्यान नै खतरामा पर्न थाल्यो। तीन दिनसम्म नेपालको अस्पतालमा रहेकी उनको खुट्टा सुन्निएको थियो। दुखाई बढिरहेको थियो। यहाँ निको नहुने देखेपछि ज्याक डेलमेनलाई लिएर अष्ट्रेलिया उडे।
त्यतिखेर अष्ट्रेलियाको मेलवर्नमा एन्टी भेनमको अध्ययन भइरहेको थियो। ब्रेसबर्न अस्पतालका चिकित्सकले डेलमेनको उपचारमा त्यही एन्टी स्नेक भेनमको प्रयोग गरे। केही दिनमा उनी निको भइन्।
यो घटना भएको दस वर्षभन्दा बढी भयो। सर्प सम्बन्धी विज्ञ डा.देवप्रसाद पाण्डेकाअनुसार यो अवधिमा विकसित देशहरुले रगतको परीक्षणमार्फत कुन सर्पले डसेको हो पत्ता लगाउनेदेखि सबैजसो सर्पको विषको असरलाई निष्कृय पार्न प्रतिविष उत्पादन गरेका छन्।
तर नेपालमा भने सर्पले टोकेपछि प्रतिविषकै अभावमा मर्नुपर्ने अवस्था कायमै छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको भेटेरिनरी, माइक्रोवायोलजी तथा पारासिटोलजी विभागका सहायक प्राध्यापक डा.पाण्डे नेपालका अस्पतालहरूमा अहिले पनि अनुमानका आधारमा एन्टी स्नेक भेनमको प्रयोग गर्ने गरिएको बताउँछन्।
‘कुन सर्पले टोेकेको हो पत्ता नलगाई अनुमानको आधारमा जुनसुकै एन्टी भेनम प्रयोग गर्ने गरिएको छ। यसो गर्दा कहिलेकाहीँ बिरामीलाई निको हुन सक्छ तर सबैलाई त्यसले काम गर्दैन। काम गरिहाले पनि त्यसको अन्य असर हुन सक्छ,’ उनी भन्छन्, ‘बिना अध्ययन उपचार गर्दा घातक प्रतिकृया हुन्छ।’
जर्मनीमा ‘नेपालमा विषालु सर्पसँग सम्बन्धित उपचार सान्दर्भिकताः प्रजातिको अध्ययन, सर्पको टोकाईको महामारी, विषाक्तता र मृत्युको जोखिमको कारकको मूल्यांकन’ विषयमा विद्यावारिधी गरेका पाण्डेले एन्टी भेनमका लागि भारतकोमात्रै भर पर्दा समस्या भइरहेको बताए।
पाण्डेले पछिल्लो पटक गरेको एक अध्ययनले नेपालका ५० भन्दा बढी जिल्लामा सर्पदंशको असर रहेको देखाएको छ। तीमध्ये ४३ वटा जिल्लामा सर्पदंशबाट मान्छेको मृत्यु भएको उनको अध्ययनमा उल्लेख छ। तराईदेखि हिमाली जिल्लाहरूमासमेत सर्पदंशको असर देखिएको उनले बताए।
उनले प्रकाशन गरेको ‘नेपालमा सर्पदंशको विषाक्तताबारे समाचार तथा मिडिया रिपोर्टको विश्लेषण’ले १२ वर्षको अवधिमा नेपालमा ४३ हजार ४८२ जनालाई सर्पदंश भएको उल्लेख छ। उनीहरूमध्ये ६९५(१५ प्रतिशत) विषालु सर्पको डसाईबाट मरेको उक्त प्रतिवेदनमा उल्लेख छ।
‘हिमालको काखमा रहेको जिल्ला ताप्लेजुङमासमेत सर्पदंशको असर बढ्दो छ। अन्य हिमाली तथा पहाडी जिल्लामा पनि सर्पदंशको प्रभाव छ। तराईमा त यसैपनि छँदै छ,’ पाण्डेले भने।
उनले यो अध्ययन गर्न विभिन्न सन् २०१० देखि २०२२ सम्म प्रकाशन भएका पत्रिका तथा समाचार अनलाइनमा प्रकाशित समाचारहरुलाई आधार बनाएका थिए। सर्पदंशको विषयमा प्रकाशन भएका १०७ वटा सञ्चारसंस्थाका २९६ वटा समाचार, मिडिया रिपोर्टलाई आधार बनाएर उनले अध्ययन गरेका थिए।
उनको अध्ययनमा सर्पदंशको सबैभन्दा बढी असर सप्तरी जिल्लामा देखिन्छ। हिमाली जिल्ला ताप्लेजुङ, हुम्ला, पहाडी जिल्लाहरू उदयपुर, सिन्धुली, ईलाम, डोटी, बैतडी, अछाम, धादिङ, सल्यान, रोल्पा, लमजुङ, गोरखालगायतका जिल्लामा पनि सर्पदंशको असर बढ्दो छ।
नेपाल सरकारको तथ्यांकले यो अवधिमा एक लाख ६ हजार २८० जनालाई सर्पदंश भएकोमा ५०१ जनाको मृत्यु भएको उल्लेख गरेको छ। ९५ हजार ४५७ जनालाई अविषालु र १० हजार ८२३ जनालाई विषालु सर्पले डसेको नेपाल सरकारको तथ्यांकमा उल्लेख छ।
‘नेपाल सरकारको तथ्यांकमा अस्पताल नपुग्दै मरेकाको समावेश नभएको हुन सक्छ। पुरै रेकर्ड नभएको पनि हुनसक्छ,’ पाण्डे भन्छन्, ‘सरकारले जति ठाउँमा सर्पदंशको असर रहेको भनेको छ त्यो बढेर धेरैतिर पुगेको देखिन्छ।’
हरियो रंगको हरेउ(ग्रीन पिट भाइपर)को प्रभाव तराईदेखि उच्च पहाडी जिल्लाहरूमा बढेको पाण्डे बताउँछन्। शरीरमा बाघको जस्तो धब्बा हुने बाघे सर्प पनि भाइपरकै उप-परिवार हो। यसको असर तराईमा बढी छ। यसले स्वाँ स्वाँ आवाज निकाल्छ। नेपालगञ्ज, दाङ, त्रिवेणी, पर्सा, चितवनको माडीलगायतका क्षेत्रमा यो सर्पको असर देखिएको छ। करिब ३ सय मिटर उचाईको चुरे रेञ्जमा पनि यो सर्प देखिएको पाण्डे बताउँछन्।
भाइपरकै अर्को उप-परिवार माउण्टेन पिट भाइपर झट्ट हेर्दा बाघे सर्पजस्तै देखिन्छ। तर उसको शरीरको धब्बा बाघेको जस्तो गोलो हुँदैन। फरक आकारको धब्बा भएको यो सर्प काठमाडौं आसपासका पहाडी जिल्लाहरूमा धेरै देखिएको छ। यसको असर पहाडी जिल्लामा बढ्दै गएको पाण्डेले बताए।
पिट भाइपर प्रजातिका ग्रीन पिट भाइपर र माउण्टेन पिट भाइपरको आँखा र नाकको बीचमा खाल्डो हुन्छ। यो ताप संवेदनशील खाल्डोको माध्यमले यी सर्पले आसपासका गतिविधिहरू थाहा पाउँछन्। परैबाट आफ्नो सिकार पत्ता लगाएर त्यता जाने नजाने निर्णय गर्छन्। बाघे सर्पमा भने त्यस्तो क्षमता हुँदैन।
पिट भाइपरका धेरै जातिमध्ये नेपालमा यी तीन जातिका सर्पको प्रभाव बढी रहेको पाण्डेले बताए। तीमध्ये नेपालमा बाघे सर्पको विषलाई निष्कृय गर्नसक्ने एन्टी स्नेक भेनममात्रै उपलब्ध छ।
‘कुनै अस्पतालमा त हरेउले टोक्यो भनेर आउने सबैलाई त्यही एन्टी भेनमको प्रयोग गर्ने गरिएको छ। अन्य जातिका सर्पको विषका लागि काम गर्ने एन्टी भेनम अन्य देशमा उपलब्ध छन् तर नेपाल सरकारले भारतबाटमात्रै ल्याउँदा बाघेकोमात्रै यहाँ उपलब्ध छ,’ उनले भने।
भरतपुर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डाक्टर प्रमोद पौडेलले पनि सबै प्रजातिका सर्पको विषलाई नियन्त्रण गर्ने एन्टी स्नेक भेनम उपलब्ध नरहेको बताउँछन्।
‘भरतपुर अस्पतालमा पहाडी जिल्लाहरूबाट हरियो सर्प हरेउले टोकेका बिरामी धेरै आउँछन्। तर उनीहरूको उपचारका लागि एन्टी स्नेक भेनम हामीसँग छैन,’ पौडेल भन्छन्, ‘यो सर्पले टोक्दा रगत पातलो हुने समस्या हुन्छ। रगतलाई पुरानो अवस्थामा फर्काउन सहयोगी उपचार गर्नेबाहेकको विकल्प हामीसँग छैन।’
गोमन र कमन करेटले टोकेका बिरामीका लागि भने एन्टी स्नेक भेनम उपलब्ध रहेको उनले बताए।
‘उनीहरूलाई लक्षणका आधारमा उपचार गरिन्छ,’ पौडेलले भने, ‘टोकेको सर्प नै लिएर आएपनि तत्कालै एन्टी स्नेक भेनम दिइँदैन। लक्षण हेरेर आवश्यक परे दिने गरिएको छ।’
सबै विषालु सर्पको विष विरूद्ध प्रयोग गर्ने एन्टी स्नेक भेनम नहुँदा कहिलेकाहीँ बिरामीको ज्यान जान पनि सक्ने उनले बताए।
नेपालमा ९० प्रजातिका सर्प पाइन्छन्। तीमध्ये १८ प्रजाति विषालु छन्। १८ मध्ये पनि १० प्रजातिको असर बढी देखिएको छ।
करेट प्रजातिका ६ मध्ये एक जातकोमात्रै एन्टी भेनम यहाँ उपलब्ध छ। गोमन प्रजातिका ३ मध्ये १ जातको विषलाई निष्प्रभावी बनाउने एन्टी भेनम नेपालमा उपलब्ध छ। नेपालमा यी दुबै प्रजातिका सर्पले टोकेका बिरामीहरू पनि बढिरहेका छन्।
करेट सर्प समुद्र सतहदेखि १५ सय मिटर उचाईसम्म देखिएको छ। सानो कालो करेट तराईमा, ठूलो कालो करेट पहाडमा पाइन्छन्। पहाडमा पहेंलो र कालो पाटा भएका व्याण्डेड करेट, साधु साँप भनिने लक्ष्मी करेट, हिल करेट तथा पूर्वी तराईमा बुंगरस वाली(बैरी करेट) जातको करेट सर्पको असर छ।
राज गोमन(किङ कोब्रा) सबैभन्दा बढी हिँडडुल गर्ने सर्प हो। यो तराईदेखि तिब्बतको रेञ्जसम्म पनि भेटिन्छ। गोमनका अन्य दुई जातिमध्ये एकको घिच्रोमा चस्माको आकार र अर्कोको अण्डाको आकार हुन्छ। यी ३२ सय मिटर उचाईसम्म भेटिएका छन्।
अन्य दुई जातीभन्दा राज गोमन ठूलो आकारको हुन्छ। ठूलै आवाजले सुसाउँछ। यसको टाउकोको अन्तिम भागमा कत्ला हुन्छ। गोमन सर्पहरु शान्तप्रिय हुन्छन्। झाडीमा बस्छन्। अपरिपक्क र बासस्थान नपाएको अवस्थामामात्रै गोमन सर्प घर, गोठहरुमा पुग्ने गरेको पाण्डे बताउँछन्।
यी बाहेक टाउकोमा सेतो अन्यत्र रातो भएको मुगा सर्प(कर्कट नाग भनेर चिनिने) नेपालको तराई र पहाडमा हुन्छ। यो पनि विषालु सर्प हो। अविषालु परिवारसँग बस्ने रेड नेक्ड केल ब्याक नामको सर्पले डस्दा पनि हरेउले डस्दा जस्तै रगत बिग्रन्छ। यो चितवन राष्ट्रिय निकुञ्जभित्र भेटिएको छ। यसको एन्टी भेनम जापानमा बनिसकेको छ।
अविषालु सर्पले पनि मान्छेलाई टोक्छन्। तर त्यसको असर पर्दैन। ती सर्पहरुले मुसालगायतको सिकार गर्ने भएकाले मान्छेको आसपासमा बढी भेटिन्छन्।
नेपालको तराई क्षेत्रमा बाढीको समयमा सर्पदंशको समस्या बढ्ने गरेको छ। पहाडी क्षेत्रमा पहिरोका कारण दुलोमा लुकेका सर्पहरू, जंगलमा रहेका सर्पहरू बाढीमा बगेर तराईतिर पुग्ने गर्छन्। तराईको समथर भूभागमा पुगेपछि पानीका सर्पहरू जमिनमा निस्कने र मान्छेलाई डस्ने समस्या बढी देखिएको सर्प विज्ञ डाक्टर पाण्डे बताउँछन्।
सर्पदंशको उपचारका लागि आधुनिक प्रविधि भित्र्याउन, विषालु सबै सर्पको विषलाई निष्प्रभावी बनाउने एन्टी भेनम उपलब्ध गराउन, सर्प र सर्पदंशको विषयमा सचेतना तथा उपचारका कार्यक्रमहरू सबैतिर पुर्याउन सरकारलाई उनको सुझाव छ।
चितवनमा भरतपुर अस्पतालमा सर्पदंशको उपचार हुन्छ। यहाँ चितवन बाहेक बारा, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, नवलपरासीलगायतका जिल्लाबाट सर्पदंशका बिरामी उपचारका लागि आउँछन्। धेरै बिरामीहरू नवलपरासी क्षेत्रबाट आउने गरेका छन्। यहाँ कुनै वर्ष ६ सय जनासम्म सर्पदंशका बिरामी आएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए। विषालु सर्पहर गोमन, करेट, पिट भाइपरले डसेका बिरामीहरू यहाँ आउने गरेको पौडेलले बताए।
गत वर्षको भदौदेखि यस वर्षको भदौसम्म यहाँ ११७ जना सर्पदंशका बिरामी उपचारका लागि आएका थिए। उनीहरुमध्ये ८४ जनालाई आइसियुमा राखेर उपचार गर्नुपरेको र ३५ जनालाई एन्टी स्नेक भेनम दिनुपरेको पौडेलले बताए। यहाँ सर्पदंशका बिरामीको नि:शुल्क उपचार हुन्छ।
सर्पले डसेको भागमा सर्पको दाँतको चिन्ह देखिनसक्छ। तर कहिलेकाहीँ यो नदेखिन पनि सक्छ। डसेको भाग दुख्ने र सुन्निने, घाउ हुने, रगत बग्ने, फोका उठ्ने, नीलडाम बस्ने, लिम्फ ग्रन्थी सुन्निने, गाँठागुठी बढ्ने लक्षण सर्पले टोकेका मान्छेमा देखिन्छ। भाइपर र गोमनले डसेको ठाउँमा संक्रमण हुने, पाक्ने, अंग नै कुहिने संभावना पनि रहन्छ।