बुटवल धागो कारखानाबाट एक करोड रुपैयाँभन्दा बढीका सामान चोरी भएको डेढ वर्ष बितिसक्दा पनि चोरी गर्ने व्यक्ति र त्यहाँका सामानबारे पत्ता लाग्न सकेको छैन।
धागो कारखानाबाट महत्त्वपूर्ण उपकरणहरू, विद्युतीय फिडर वायर चोरी भएपछि २०७८ चैतमा प्रहरीमा उजुरी परेको थियो।
विद्युत सब-स्टेसनबाट कारखानाको मेसिनसम्म जडान गर्न टनेलभित्र बिच्छ्याइएका तामाका मोटा तार काटेर चोरी भएको पाइएपछि कारखानाका सम्बन्धित व्यक्तिहरूले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए।
त्यो उजुरीबारे अहिलेसम्म प्रहरीले अनुसन्धान गरी चोरी गर्ने व्यक्ति खोज्न सकेको छैन। १७ वर्षदेखि बन्द रहेको धागो कारखानाको संरचनामा ०७६ अन्तिमदेखि ०७८ को अन्त्यसम्म लुम्बिनी प्रादेशिक अस्पतालले कोभिड अस्पताल सञ्चालन गरेको थियो।
आफ्नै भवनमा आइसियू कक्ष निर्माण भएपछि ०७८ असारमा धागो कारखानाबाट प्रादेशिक अस्पतालमै कोभिड अस्पताल सारिएको थियो। तर चैतसम्म धागो कारखानाको उक्त भवनमा अस्पतालले ताला लगाएको थियो।
अहिले पनि अस्पतालका कतिपय सामानहरु धागो कारखाना भित्रै छ। धागो कारखानाका प्रमुख डोलराज शर्माका अनुसार अस्पतालका महत्वपूर्ण उपकरण र सामान त्यहाँबाट बाहिर निकालेसँगै भवनभित्र रहेका कारखानाका विद्युतिय फिडर वायर चोरी भएको थियो।
चोरी भएका तामाका तारको मूल्य एक करोड रुपैयाँभन्दा बढी पर्ने शर्माले बताए। यति धेरै सम्पत्ति चोरी हुँदा पनि सम्बन्धित निकायले संलग्नको खोजीमा तदारूकता नदेखाएको उनको आरोप छ।
काखानाभित्रै प्रहरीको दंगा नियन्त्रण गण छ। धागो कारखानाबाट अस्पतालले सामान लैजाने बेला आफूहरूलाई जानकारी नगराएको शर्माले बताए।
‘महिनौंसम्म कारखानामा अस्पतालले नै ताला लगाएर राखेको थियो, पछि हेर्दा कारखानाका तार काटेर चोरी गरेको भेटेपछि प्रहरीमा जाहेरी दिएका थियौं, अहिलेसम्म चोरी भएका सामान र चोरीमा संलग्नबारे कुनै जानकारी हुन सकेको छैन,’ उनले भने।
कारखानाका प्रशासन सहायक सुदर्शन यादवले कोभिड अस्पताल संचालन गरिएको दुई वर्षसम्म आफूहरु उक्त भवनमा जान नपाएको र पछि हेर्दा सामानहरु चोरी भएको भेटिएको बताए। ‘संकटको बेला राज्यले प्रयोग गरेको संरचनाबाटै सामान चोरी हुन्छन् भने कस्लाई के भन्न सकिन्छ र?,’ यादवले भने।
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुदर्शन थापाले त्यतिबेला आफू नेतृत्वमा नरहेको बताउँदै घटनाबारे जानकारी मात्र पाएको बताए।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले पनि उक्त घटना आफूहरु नआउँदै भएकोले त्यसबारे त्यति धेरै जानकारी नभएको बताए। उजुरीबारे भएका कारबाहीबारे बुझ्दा त्यतिबेलै एक जनालाई बोलाएर सोधपुछ गरिएको उनको भनाइ छ।
‘धागो कारखानाबाट चोरी भएकोबारे उजुरी परेपछि शंकास्पद एक जनालाई तत्काल बोलाएर सोधपुछ पनि गरिएको रहेछ, एक जना शंकास्पद व्यक्ति भारततर्फ भागेको भनिएकोले त्यता पनि खोजी भइरहेको छ,’ प्रहरी निरीक्षक बानियाँले भने।
लुम्बिनी प्रादेशिक अस्पतालले कोभिड नियन्त्रणका लागि डेढ वर्ष आश्रय दिएको धागो कारखानालाई अस्तव्यस्त बनाएर छोडिदिएको भन्दै त्यतिबेलै आलोचना भएको थियो।
लुम्बिनी प्रादेशिक अस्पताल हाताभित्रै भवन निर्माण पूरा भएपछि सोही भवनमा कोरोना विशेष अस्पताल स्थानान्तरण हुँदा धागो कारखानाका बेड, भेन्टिलेटर, एसीलगायत अस्पतालमा चाहिने उपकरण फिर्ता लगेपछि लैजान नमिल्ने अन्य संरचना भने भत्काएर त्यसै छोडिएको थियो।
कोभिड अस्पताल बनाउँदा भत्काइएका संरचना छाड्ने बेलामा बनाइदिने सहमति भए पनि झ्याल फोडेर ढोका बनाइएका स्थान जस्ताको तस्तै छाडिएको छ।
आइसियू र एचडियू निर्माण गर्दा छानोमुनि राखिएको जिप्सन, शौचालयका लागि बनाइएको बारसमेत भत्काएर छाडिएको छ।
अस्पतालले बनाएका संरचना भत्काएर छाडे पनि फोहोर भने भित्रै थुपारिएको छ। बिरामी र मृतकका लत्ताकपडा, जुत्ता चप्पल, अस्पतालजन्य फोहोर समेत अहिले पनि भवन भित्रै रहेको शर्माले बताए।