महोत्सव भारतमा हुँदै थियो तर झट्ट हेर्दा नेपालकै झल्को दिन्थ्यो। बोलीचालीको भाषामात्रै नभएर गीत, संगीत, खाना, वेशभूषा, संस्कृति सबै नेपाली।
भारतको सिक्किम राज्यस्थित पेलिङमा सोमबारदेखि सुरू भएको कञ्चनजंघा पर्यटन उत्सवमा नेपाली संस्कृतिले विशेष स्थान पाएको छ।
महोत्सवमा नेवार, राई, लिम्बू, तामाङ, गुरूङ लगायतका जातजातिको संस्कृति प्रदर्शन गरिएको छ। यी जातिका खाना, पहिचानका वस्तु स्टलहरूमा प्रदर्शनका लागि राखिएको छ।
महोत्सव उद्घाटनका लागि आएका सिक्किम सरकारका आवास योजना मन्त्री सञ्जित खरेललाई नौमती बाजा, नेवारी बाजा, राई, लिम्बू समुदायका बाजाहरूले स्वागत गरिएको थियो। मञ्चमा नेवार समुदायको लाखे नाच देखाइएको थियो। युवायुवतीहरूले नेपाली गीतमा नृत्य गरेका थिए।
पेलिङ सिक्किम प्रान्तको ग्याल्जिङ जिल्लामा पर्छ। यो पश्चिम सिक्किमको प्रमुख पर्यटकीय गन्तव्य हो। पेलिङ सिक्किमको दोस्रो राजधानी पनि हो। यहाँ सन् १६७० देखि १८१४ सम्म राजधानी थियो। पेलिङ बजार नजिकै राप्देन्सीमा तत्कालीन राजाको दरबारको भग्नावशेष अहिले पनि छ। यो दरबार नेपाली सेनाले आक्रमण गरेर ध्वस्त पारेपछि सिक्किमका राजाले राजधानी तुम्लोङमा सारेको थिए। सिक्किमको राजधानी सबभन्दा पहिले योक्सोममा थियो। तुम्लोङबाट राजधानी सन् १८९४ पछि गान्तोकमा सरेको हो।
कञ्चनजंघा हिमालको नजिकै रहेको पेलिङमा सन् २००० बाट कञ्चनजंघा पर्यटन महोत्सव गर्न थालिएको थियो। उक्त महोत्सवको २३ औं संस्करण सोमबारदेखि सुरू भएको हो।
पेलिङ पर्यटन विकास एसोसिएसनले हरेक वर्ष पर्यटन महोत्सव गर्ने गरेको छ। एसोसिएसनका अध्यक्ष नारायण खतिवडाले कोरोना महामारीपछि केही वर्ष रोकिएको पर्यटन महोत्सव यस वर्षदेखि पुनः सुरू गरिएको जानकारी दिए। महोत्सव डिसेम्बर ३१ तारिखसम्म चल्नेछ।
कञ्चनजंघा हिमाल नेपालको ताप्लेजुङ जिल्ला र भारतको सिक्किम राज्यको सिमानामा पर्छ। कञ्चनजंघा हिमश्रृंखलाको सुन्दर दृष्य हेर्न यहाँ धेरै पर्यटक पुग्ने गर्छन्। जाडोको समयमा हिमश्रृंखला थप सुन्दर देखिने भएकाले यही समयमा महोत्सव गर्ने गरिएको अध्यक्ष खतिवडाले बताए।
महोत्सवलाई लक्षित गरेर होटलको शुल्कदेखि, यातायात भाडामा समेत छुटको व्यवस्था मिलाइएको उनले बताए।
‘सन् २००० मा हामीले महोत्सव सुरू गर्दा पर्यटक खासै हुन्थेनन्। तर अहिले सबै होटलका कोठाहरू भरिएका छन्। यातायातका साधन व्यस्त छन्। हामी महोत्सवमार्फत् यहाँका विशेषताहरू सबैतिर फैलाउँछौं,’ खतिवडाले भने।
पेलिङ क्षेत्रमा २५० वटा होटल छन्। १५० वटा होमस्टे छन्। होटल र होमस्टेमा गरेर ३ हजार पर्यटकलाई राख्न सक्ने क्षमता छ।
यहाँ आउने पर्यटकलाई महाभारतसँग इतिहास जोडिएको खिचपेरी लेक, १६ औं शताब्दीका गुम्बाहरू, कञ्चनजंघा झरनाले ध्यान तान्ने गरेको छ। पेलिङमा सिसाले बनेको स्काई वाक, प्याराग्लाइडिङले पनि पर्यटकलाई आकर्षित पार्छ। यहाँ अहिले रोप वे पनि बन्दैछ।
‘यहाँ आइसकेपछि प्रायः पर्यटक दुई–तीन रात बिताउन चाहनुहुन्छ। हामीले त्यहीअनुसार प्याकेज बनाएर अवलोकनको व्यवस्था मिलाएका छौं,’ खतिवडाले भने।
सिक्किम राज्यका भवन तथा आवास मन्त्री सञ्जित खरेलले कोरोना महामारी र हिम पहिरोले निम्त्याएको विपत्तिले सिक्किमको पर्यटनमा परेको असरलाई चिर्न सरकार सफल हुन थालेको बताए।
‘कोरोनाले थला परेको पर्यटन बिस्तारै उठ्दै गर्दा हिम पहिरो र बाढीले पर्यटकीय पूर्वाधारमा ठूलो असर पुर्यायो। हामी अहिले पूर्वाधारहरूलाई पहिलेको अवस्थामा फर्काउन प्रयास गरिरहेका छौं,’ उनले भने, ‘बिस्तारै यहाँको पर्यटन कोरोना महामारीभन्दा अघिको अवस्थामा फर्कंदैछ।’
सीप विकास मन्त्री भिमहाङ लिम्बूले सरकारले पेलिङको पर्यटन विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा मेहनत गरिरहेको बताए।
उनले यस क्षेत्रको भ्रमण गर्न आउने पर्यटकहरूलाई धेरैभन्दा धेरै सेवा, सुविधा उपलब्ध गराउन सरकारले प्रयास गर्ने बताए।
लिम्बूले धेरै युवाहरूलाई पर्यटन व्यवसायसँग जोड्न प्रयास गरेको बताए।
पेलिङ पर्यटन विकास एसोसिएसनका अध्यक्ष खतिवडा नेपाल र सिक्किमका बीचमा भाषा, संस्कृतिलगायत धेरै समानता रहेकाले एक आपसमा सहयोग गर्दै पर्यटनलाई विकास गर्नुपर्ने बताउँछन्।
‘नेपाल र सिक्किमका पर्यटकीय क्षेत्रहरूले एकअर्काको प्रचार गरी दुबै क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्नेगरी काम गर्न सकिन्छ,’ उनी भन्छन्।