सिन्धुलीमा भएको सवारी दुर्घटनामा खोटाङका दुई जनाको मृत्यु भएको छ।
सोमबार सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारस्थित झाँगाझोली नजिकै विपरीत दिशाबाट आइरहेको बस र मोटरसाइकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २० वर्षीय सुसल राई र मोटरसाइकलको पछाडि बसेका खोटाङकै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी १८ वर्षकी मुनाकला राईको मृत्यु भएको हो।
मुनाकलाको घटनास्थलमै र सुसलको खाल्टेस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब निरीक्षक चिरन्जीवी दाहालले जानकारी दिए।
काठमाडौंबाट खोटाङ आउँदै गरेको बा६०प ३५४५ नम्बरको मोटरसाइकललाई विपरीत दिशा (रामेछाप)बाट आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नम्बरको बसले ठक्कर दिएको हो।
दुर्घटनापछि बसका चालक रामेछापको मन्थली नगरपालिका–१३ का २४ वर्षीय रूपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दा तथा यात्रुले बसमा आगजनी गरेर सडक अवरूद्ध पारेका थिए। स्थानीय बासिन्दा एवं अन्य सवारी साधनका यात्रुले बस चालकको लापरबाहीले दुर्घटना भएको भन्दै चालकलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन्।
यातायातका सवारी साधनको निकै चाप हुने उक्त राजमार्ग अवरुद्ध हुँदा काठमाडौं आवतजावत गर्ने सवारी साधनहरूको दुर्घटनास्थलमै लर्को लागेको थियो। दुर्घटनापछि आक्रोशित भीडले अवरूद्ध गरेको सडक करिब दुई घन्टापछि बिनासर्त खुलाइएको प्रहरीले जनाएको छ।
मृतकको शव परीक्षणका लागि सिन्धुलीको सदरमुकाम सिन्धुली माडी पुर्याएको डिकुवाका वडाध्यक्ष देवेन्द्र राईले जानकारी दिए।