अमेरिकी समाचार संस्था न्युयोर्क टाइम्सले ओपन एआई र माइक्रोसफ्टविरूद्ध मुद्दा दायर गरेको छ।
प्रतिलिपि अधिकारको उल्लंघन गरेको भन्दै न्युयोर्क टाइम्सले बुधबार संघीय जिल्ला अदालत म्यानह्याटनमा मुद्दा दायर गरेको हो।
प्रतिलिपि अधिकारको उल्लंघन गरेको भन्दै एआई कम्पनीविरूद्ध मुद्दा हाल्ने पहिलो समाचार संस्था न्युयोर्क टाइम्स भएको पनि दाबी गरिएको छ।
टाइम्सका अनुसार यसका लाखौं लेखहरूको प्रयोग गरी ‘अटोमेटेड च्याटबट्स’लाई प्रशिक्षण दिइएको थियो। अहिले त्यसैको प्रयोग गरी विश्वासिलो समाचार आउटलेटको रूपमा एआई कम्पनीहरू समाचार संस्थाका प्रतिस्पर्धी बनेको टाइम्सले बताएको छ।
टाइम्सले यस मुद्दामा यकिन बिगो मागदाबी गरेको छैन। तर टाइम्सले गरेका कामहरूको गैरकानुनी तरिकाले ‘कपी’ गरेको भन्दै अर्बौं डलरको क्षतिपूर्ति भराउनुपर्ने जनाएको छ।
यस्तै टाइम्सबाट लिइएका सामग्रीमार्फत् बनेका च्याटबट मोडल र ट्रेनिङ डाटाहरू समेत नष्ट गर्नुपर्ने माग गरेको छ।
टाइम्सले यसबारे चिन्ता व्यक्त गर्दै माइक्रोसफ्ट र ओपनएआईसँग छलफलका लागि प्रस्ताव समेत गरेको मुद्दामा उल्लेख छ। यसबारे सौहार्दपूर्ण समाधान र व्यापारिक सम्झौता समेत गर्न खोजे पनि त्यसबाट कुनै निकास ननिस्किएको उसले बताएको छ।
ओपन एआईकी प्रवक्ता लिन्ड्से हेल्डले एक विज्ञप्ति जारी गर्दै टाइम्सले हालेको मुद्दाप्रति निराशा व्यक्त गरेकी छन्।
‘हामी कन्टेन्ट क्रिएटर र त्यसका मालिकहरूको अधिकारको सम्मान गर्छौं र एआई प्रविधिको लाभ सुनिश्चित गर्न उनीहरूसँग काम गर्न तयार छौं,’ हेल्डले भनेकी छन्, ‘हामी दुबै पक्षलाई पारस्परिक रूपमा फाइदा हुने गरी काम गर्नेमा आशावादी छौं, जसरी हामीले थुप्रै प्रशासकहरूसँग काम गरिरहेका छौं।’
यसबारे माइक्रोसफ्टले न्युयोर्क टाइम्सलाई प्रतिक्रिया दिएको छैन।