सुदूरपश्चिम सरकारको एक वर्षे कार्यकालमा प्रदेश सरकार र प्रदेश सभाबाट एउटा पनि उपलब्धीमूलक काम नभएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आरोप लगाएको छ।
सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्न सोमबार प्रदेश सभा सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा एमालेका प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले एक वर्षमा उपलब्धीमूलक काम नभएको भन्दै प्रदेश सरकारको आलोचना गरेका हुन्।
सासंदले गत वर्षको पुस १५ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। आइतबार प्रदेश सभा सासंदको एक वर्षे कार्यकाल पुगेकाले नेकपा एमालेले सोमबार उक्त कार्यकालको समिक्षा गर्दै जानकारी पत्रकार सम्मेलन गरेको हो।
एमाले दलका नेता रावलले एक वर्षमा प्रदेश सभामा पहिलेनै बनेको विद्युतीय सवारी साधन सम्वन्धी बनेको ऐनलाई पुनरावलोकन गर्ने कामवाहेक अन्य नयाँ कानून निर्माण गर्ने काम नहुनु लजास्पद रहेको बताए।
गठबन्धनको सरकार बहुमतको धाकमा रहेको उनको भनाई छ। जनता बलियो बनाउने कामका लागि जनतालाईनै विकासको पार्टनर बनाएर काम गर्नुपर्नेमा सुदूरपश्चिम सरकारले त्यसो नगरेको उनको आरोप छ।
उनले सुदूरपश्चिम सरकारले योजना पद्धतीमा सबैभन्दा ठूलो भूल गरेको बताए।
सासंद विकास कोष अवधारणाका लागि रातीको १० बजे ओछ्यानमा सुतेका सांसद ल्याएर ससंदमा बसाल्ने काम भएकोप्रति उनले विरोध गरे।
आफ्नो स्वार्थका लागि जनताको अधिकारीलाई कुण्ठित पार्ने काम गर्ने व्यक्तिलाई विधिभन्दा माथि राख्ने काम सरकारले गरेको रावलले बताए।
‘हामी जनताका सेवक हौं, शासक होइनौं यो कुरामा सरकार चुक्यो,’ उनले भने।
उनले बजेट निर्माणमा संकलन भएका सुझावलाई समेत प्राथमिकता नदिइएको बताए। बजेट पारित गर्दापनि प्रदेश सरकार उल्टो बाटो हिँडेको उनको अरोप छ।
‘गठबन्धनमा नीतिअनुसार नेतृत्व भएन, गणतन्त्रका नाममा रजाई गर्ने काम भयो, हिजोकै दिनमा भष्टाचारमा लिप्त भएकाहरूसंग प्रदेश सरकारको भेट भयो, विचौलियामार्फत् बजेट पास गर्ने, कर्मचारीलाई त्रसित बनाए सर्वहाराको नाममा ‘एसमेन’हरूलाई स्थापित गर्ने काम भयो,’ उनले भने।
यतिका समयसम्म सुदूरपश्चिम प्रदेश सभाका समितिले सभापति पाउन नसक्नु दुःखद रहेको रावलले बताए। मिनि संसदको काम गर्ने समितिहरू नेतृत्वविहीन बन्नु सरकारको कमजोरी रहेको उनले बताए।
‘आश्वासन्का पोका बाँढेर सभाका समिति बढाउने काम अहिले पनि भइरहेको छ, जसकारण सभापति चयनको काममा ढिलाई भएको हो, सरकारले आजको दिनमा पनि सभापति बनाउन सकेको छैन,’ उनले भने।
सभापति छिटो चयन गर्न आफूहरू पटकपटक गरेको आग्रहलाई मुख्यमन्त्रीले नसुनेको उनले बताए।
‘हाम्रो सल्लाहको सुझाव आएन, इग्नोर गर्ने काम भयो, सरकारले संसदीय अभ्यास, ससंदीय मर्म बुझेन, लेखा समिति प्रतिपक्षसंग रहने कुरामा पनि यताउता गर्ने खेल भइरहेको छ,’ उनले भने।
उनले सुदूरपश्चिम सरकारका मुख्यमन्त्री, मन्त्री भम्रणको रमाइलोमा व्यस्त रहेको बताए।
उनले बाजुरा, डोटी, बझाङ लगायतका ठाउँमा भूकम्प प्रभावितहरूका लागि सुदूरपश्चिम सरकारले काम नगरेको आरोप लगाए। विद्यालयकै भवन बनाउने काममा समेत बजेट दुरूपयोग भएको उनले बताए।
पर्यटन विकासको लागि भीजन बनाउने काममा पनि सरकार चुकेको उनको भनाइ छ।
‘रामारोशन ताल, खप्तड जहाँ केन्द्र सरकारले पनि काम गर्दैछ। प्रदेश सरकार त्यसैमा लागेको छ, अन्य पर्यटकीय स्थलमा उसको ध्याननै छैन,’ उनले भने,।
मुख्य योजना, बुहवर्षीय योजनाका बारेमा के कसरी काम अगाडी बढिरहेको छ भन्ने कुरामा पनि सरकारले चाँसो नदिएको राववले बताए।
उनले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनका लागि विभिन्न मन्त्रालयबाट प्रदेश सरकारले लागू गरेका र गर्ने तयारीमा रहेका कार्यक्रमहरू देखावटी रूपमा मात्र प्रस्तुत भइरहेको बताए।
‘एक वर्षमा एक उपलव्धी देखिएन, नत संघ सरकारबाट आउने बजेटमा नै सरकारले पहुँच पु¥याउन सक्यो, संघ सरकारबाट आउने बजेट कटौती भयो, राष्ट्रिय योजना आयोग, वित्त आयोगमा सुदूरपश्चिमको पहुँच पुगेन‘ उनले भने।
सुदूरपश्चिम सरकारले एक वर्षमा गरेको राम्रो काम आर्थिक सर्वेक्षण निकाल्ने काम एमालेको मानेको छ।
‘गठबन्धनका नाममा चर्तिकला गर्ने काम भएको छ, सामाजिक, कषि, पर्यटन मन्त्रालयमा चोरढोकाबाट विचौलियालाई योजना विक्रि गर्ने काममा सरकार लागिपरिरहेको छ,’ रावलले भने।
रावलले एक वर्षको अवधिमा मुख्यमन्त्रीले आफ्नो निवास सजाउने र त्यसमा विभिन्न सेवा सुविधा बढाउने काम बाहेक अरू नगरेको आरोप लगाए।
‘बनिसकेको सडकमा बजेट हालेको छ, मन्त्रीहरूका पारिवारिक घरमा बजेट हालेको छ, मुख्यमन्त्रीको निवासमा एक वर्षमा सुख सुविधासयल हर किसिमका सेवा सुविधा उपलव्ध गर्ने कामबाहेक अरू काम भएन,’ रावलले भने।
यस्तै एमालेका सासंद धर्मराज पाठकले प्रदेश सरकारले भोटेताल्चा लगाएर प्रदेश सभाको ढोका बन्द गरेको बताए। सरकारले विजनेस नदिँदा सभा चलायमान हुन नसकेको पाठकको भनाइ छ। सत्तागठबन्धनले आफ्नो स्वार्थका लागि गाडी चढ्न पाउने प्रस्ताव चाहिँ प्रदेश सभामा ल्याएको उनले बताए।
‘सरकार कसरी भागवण्डा मिलाउने भन्ने विषयमा केन्द्रित हुँदा संसद बस्न सकेको छैन, कुहिरोमा हराएको कागजस्तै सरकार भएको छ। यसमा हाम्रो घोर विरोध र भर्त्सना छ,’ उनले भने।