बुटवल उपमहानगरपालिक-८ सुख्खानगरका युवाहरु सडक किनारका पोलहरूमा विद्युत र टेलिफोनका अस्तव्यस्त तारहरुको व्यवस्थापनमा जुटेका छन्।
घरै अगाडिको सडक किनारका विद्युत र टेलिफोनका पोलहरुमा लथालिंग रुपमा टांगिएका तारहरुका कारण दुर्घटनाको जोखिम सँगै सडक किनार नै कुरुप बनेपछि युवाहरु आफै सक्रिय भएर तार व्यवस्थापनमा लागेका हुन्।
बुटवलको सुख्खानगरमा रहेको लखन ब्रदर्श युथ क्लबको अगुवाईमा अहिले वडाभित्रका विभिन्न टोलहरुका अव्यवस्थित तारहरु व्यवस्थापन गरिएको छ। क्लबका सदस्यहरु निरन्तर २२ दिनसम्म खटिएर तारको व्यवस्थापन गरेका हुन्।
क्लबका अध्यक्ष सुदिप खत्रीले एउटै पोलमा दर्जनौ सेवा प्रदायक संस्थाका तारहरु अव्यवस्थीत रुपमा टांग्दा पोलमै आगलागीको जोखिम बढेपछि आफै व्यवस्थापनमा जुटेको बताए।
‘विद्युत, टेलिफोन, केबल, ईन्टरनेट लगायतका तारहरु एकआपसमा गुजुल्टाएर राख्दा पोलहरुमा आगलागीको जोखिम बढिरह्यो, एउटै पोलमा जथाभावी तार टांग्ने, बढि भएको तार त्यहि पोलमा गुजुल्टाएर राख्दा पोल भाँच्चिएर दुर्घटना हुने जोखिमका कारण आफै व्यवस्थापनमा लाग्यौं,’ उनले भने।
अध्यक्ष खत्रीले मंसिर २५ गतेदेखि सुरु गरिएको तार व्यवस्थापन अभियान २२ दिनसम्म निरन्तर संचालन गरिएको बताए। खत्रीका अनुसार तार व्यवस्थापन गर्दा केहि ईन्टरनेट सेवा प्रदायकले एकजना प्राविधिक खटाईदिने गरेको भएपनि अरु सबै काममा क्लबका सदस्यहरु नै खटिएका थिए।
यो अभियानमा क्लबका सदस्यहरुको श्रमदान सँगै एकलाख ५० हजार रुपैयाँ खर्च भएको खत्रीले बताए। उक्त रकम समेत क्लव आफैले गरेको हो। श्रमदान बाहेकको खर्च रकम बुटवल उपमहानगरपालिका र वडा कार्यालयसँग माग गरेपनि उपलब्ध नभएको खत्रीले बताए।
‘श्रमदान हामी गर्छौं, खर्च भएको रकम उपलब्ध गराउनुस् भनेर उपमहानगरपालिका र वडा कार्यालयमा माग गरेका थियौं तर, कतैबाट पनि सहयोग उपलब्ध भएन,’ खत्रीले भने।
उपमहानगरपालिका र वडा कार्यालयले आर्थिक सहयोग गर्नु त टाढाको कुरा तार व्यवस्थापनको क्रममा कुनै दुर्घटना हुन गएमा त्यसको जवाफदेही समेत आफु नहुने भन्दै पन्छिएको उनले बताए।
‘हामी तार व्यवस्थापनका लागि सहयोग माग्न गएका थियौं, सहयोग गर्नुको सट्टातार व्यवस्थापनको क्रममा दुर्घटना हुन गए त्यसको जवाफदेही समेत आफै हुनुपर्ने भन्दै व्यवस्थापनको लागि अनुमतीपत्र दिनुभयो,’ खत्रीले भने।
सडक किनारका पोलहरुको तार व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी सम्बन्धित सेवा प्रदायक कम्पनीको भएपनि ति कम्पनीहरुलाई जवाफदेही बनाउने दायित्व भने सम्बन्धित स्थानीय तहको हो। तर सेवा प्रदायक कम्पनी र स्थानीय तह दुबैले आ आफ्नो जिम्मेवारी पुरा नगर्दा पोलहरुमा आगलागीका घटना बढिरहेका छन्।
उपमहानगरपालिका र वडा कार्यालय जिम्मेवारीबाट पन्छिएपनि सम्बन्धित टोल विकास संस्था र स्थानीय मनकारी सहयोगीको सहयोगले काम गरेको खत्रीले बताए।
बुटवल उपमहानगरपालिका वडा नं ८ अन्तरगत सुख्खानगरका १९ वटा टोलमा रहेका सबै भित्रि सडक र गल्लीमा गाडिएका बिद्युत पोलहरुमा माकुराको जालो जस्तो बनाईएका तारहरु व्यवस्थापन गरिएको उनले बताए।
क्लबले तार व्यवस्थापनको लागि दुईवटा सिँढी खरिद गरेको छ।
कतिपय टोलमा बिद्युतका नयाँ पोल गाडिएकाले तार सिफ्टको काम बाँकी रहेको र ती टोलहरुमा तार सिफ्ट भएपछि व्यवस्थापनको काम गर्ने अध्यक्ष खत्रीले बताए। लखन ब्रदर्श युथ क्लब स्थानीय युवाहरुलाई विभिन्न खेलकुदमा आवद्ध बनाउने उद्देश्यले २५ वर्ष पहिले स्थापना भएको थियो।
स्थापनाकालमा फुटबलमा सक्रिय रहेपनि पछिल्ला केहि वर्ष भने क्लबका अध्यक्ष तथा कतिपय सदस्यहरु समेत रोजगारीको लागि विदेश गएपछि निस्क्रिय जस्तै बनेको थियो।
यसअघि दर्ता नगरी संचालन गरिएको भएपनि गतवर्ष क्लब दर्ता गरेर फेरी सक्रिय बनाइएको अध्यक्ष खत्रीले बताए।
क्लबमा हाल ६८ जना युवाहरु सदस्य छन्। अहिले क्बलमा आवद्ध युवाहरु खेलकुदसँगै सामाजिक गतिविधिमा सक्रिय हुँदै आएका छन्।