केएमसी अस्पतालका सञ्चालक समेत रहेका नेपाली कांग्रेसका सांसद सुनिल शर्माले आवासीय चिकित्सक विशद दाहालमाथि लगाइएको निलम्बन फिर्ता नहुने बताएका छन्।
सांसद शर्माले आवासीय चिकित्सक दाहालमाथि लगाइएको निलम्बन जायज रहेको जिकिर गर्दै काठमाडौं विश्वविद्यालयले भन्दैमा निलम्बन फिर्ता नहुने बताए।
'अब ऊ केएमसीमा पढ्दैन। हामी काठमाडौं विश्वविद्यालयलाई तिम्रो विद्यार्थी लैजाऊ भनेर चिठी लेख्दिन्छौं। अनि गएपछि त सकिहाल्यो,' शर्माले भने।
गत बिहीबार केएमसी अस्पतालले आवासीय चिकित्सक विशद दाहाललाई स्वास्थ्य शिविरमा सहभागी नभएको कारण देखाउँदै एक महिनाको लागि निलम्बन गरेको थियो। तर दाहाल भने आफूले पाठ्यक्रममै समावेश नभएको कार्यक्रममा अस्पतालले पढाइमै असर पुग्ने गरी आवासीय चिकित्सकलाई खटाएकोप्रति विरोध गरेपछि प्रतिशोध साँध्न आफूलाई निलम्बन गरिएको बताउँछन्।
डाक्टर दाहालमाथि लगाइएको निलम्बन नियमसंगत नभएको ठहर गर्दै काठमाडौं विश्वविद्यालयले अस्पताललाई निलम्बन फिर्ता गर्न पत्राचार समेत गरेको थियो। तर अस्पतालले उक्त निर्देशनलाई अटेर गर्दै बुधबार पनि दाहाललाई अस्पताल छिर्न दिएन। उनलाई प्रवेशमा रोक लगाउनका लागि अस्पतालले गेटमै 'बाउन्सर'हरू तैनाथ गरेको थियो।
दाहाललाई निलम्बन गर्नुअघि अस्पतालले उनीसँग न मौखिक स्पष्टीकरण सोध्यो, न त लिखित स्पष्टीकरण नै माग्यो। अस्पतालले विश्वविद्यालयसँग पनि कुनै सल्लाह नगरी दाहाललाई निलम्बन गर्यो। सांसद शर्मा भने विश्वविद्यालयकै सहमतिमा दाहाललाई निलम्बन गरिएको दाबी गर्छन्।
'डिनसँग सल्लाह भएरै कारबाही भएको हो। अहिले आएर डिनले झुट बोल्नुभयो,' शर्मा भन्छन्, 'डिनसँग प्रिन्सिपलले कुरा गर्दा दाहाललाई कारबाही गर्दा हुन्छ, हामी केही भन्दैनौं भनेपछि कारबाही गरेको हो तर अहिले आएर केही थाहा छैन भनेर भन्नुभएको छ।'
काठमाडौं विश्वविद्यालयका डिन मनोज हुमागाईंले भने अस्पतालका प्रिन्सिपलले अघिल्लो दिन दाहाललाई निलम्बन गर्नेबारे जानकारी गराए पनि आफूले निलम्बन नगर्न सुझाएको बताउँछन्।
हुमागाईं भन्छन्, 'यो कुरा सरासर गलत हो। उहाँले अघिल्लो दिन विशद दाहाललाई निलम्बन गर्छौं भनेर भन्नुभएको थियो तर मैले निलम्बन नगर्नु र आन्तरिक कुरा छलफल गरेर मिलाउनुस् भनेर भनेको हो।'
अस्पतालले दाहाललाई फिर्ता पठाउनेबारे भने हुमागाईंले उक्त कुरा नियमले नमिल्ने जनाए।
'विशदलाई मात्रै हैन, सबै विद्यार्थी फिर्ता गरिदिए हुन्छ। तर फिर्ता गर्ने कुरा नियमले मिल्दैन,' हुमागाईं भन्छन्, 'यो कुरालाई चिकित्सा शिक्षा आयोगले पनि विचार गर्ला तर यसपालि फिर्ता गर्ने कुरा भयो भने आगामी वर्षदेखि उहाँको अस्पतालमा पोस्ट ग्र्याजुएट (पिजी) कार्यक्रम चल्दैन।'
सांसद शर्माले दाहालले भनेजस्तो आवासीय चिकित्सकलाई स्वास्थ्य शिविरमा पढाइ नै असर पुग्ने गरी नखटाइएको दाबी गरे। उनले दाहाललाई केएमसीमा आएदेखि आफू कतिचोटी हेल्थ क्याम्पमा सहभागी भएको लिखित रेकर्ड प्रस्तुत गर्न पनि आग्रह गरेका छन्।
'काठमाडौं मेडिकल कजेल आएदेखि कतिपल्ट, कुन-कुन मितिमा कहाँ क्याम्प गयो भन्ने हामीसँग पनि रेकर्ड हुन्छ। उनले पनि लिखित रेकर्ड दियोस्, हामी पनि लिखित जवाफ दिन्छौं,' शर्माले भने।
सम्बन्धित समाचार:
गेटमा 'बाउन्सर' राखेर केएमसीले आज पनि दिएन डा. दाहाललाई अस्पताल छिर्न
विश्वविद्यालयको निर्णय अवज्ञा गर्दै डा. दाहाललाई अस्पताल छिर्न दिएन केएमसीले
डाक्टर दाहालमाथि केएमसीको प्रतिशोध