मुग्लिन–नारायणगढ सडक दैनिक चार घण्टा बन्द गरेर पहरो फुटाउन २१ दिन समय थप भएको छ।
यो सडकखण्डको तुइन खोलामा नयाँ पुल निर्माणका लागि पहरो फुटाउन निर्माण व्यवसायीले थप एक महिना समय माग गरेको थियो। चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले एक महिनाको समय माग गरेपनि अहिलेका लागि २१ दिनमात्रै थप गरिएको जानकारी दिए।
यसअघि पहरो फुटाउन दिइएको २१ दिनको समय शनिबार सकिँदैछ।
तुइन खोलामा पुल तथा पहुँचमार्ग निर्माणका लागि पुस ७ गतेदेखि दिउँसो १२ बजेबाट ४ घण्टा सडक नै बन्द गरेर काम गरिँदै आएको छ। नारायणगढ–मुग्लिन सडक परियोजनाका प्रमुख इन्जिनियर केदारप्रसाद नेपालले पहिलो चरणमा पहरो काटेर करिब १५ मिटर घटाउन सफल भएको बताए।
यहाँ सडकभन्दा ६० मिटर माथिबाट पहरो काट्न थालिएको थियो। गत वर्ष साढे २ महिना लगाएर २५ मिटर पहरो फुटाएपछि ३५ मिटर बाँकी थियो।
‘२० दिनमा करिब १५ मिटर कडा चट्टान फुटाउन सफल भएका छौं। यो प्रगतिलाई सन्तोषजनक मान्न सकिन्छ,’ नेपालले भने, ‘निर्माण व्यवसायीले अब थप एक महिना समय मागेको छ।’ उक्त कार्यालयले निर्माण व्यवसायीको मागअनुसारको पत्र जिल्ला प्रशासन कार्यालयलाई पठाएको छ।
यस पटक यहाँको पहरो फुटाउनका लागि नेपालमा उपलब्धमध्ये सबैभन्दा बढी क्षमता भएको रक ब्रेकर प्रयोग गरिएको छ। ३८ टनको पिसी ३८० रक ब्रेकर प्रयोग गर्दा चट्टान फुटाउने काममा प्रगति भइरहेको नेपालले बताए। गतवर्ष यहाँ २२ टनको पिसी २२० रक ब्रेकर प्रयोग गरिएको थियो। यसपालि यो मेसिन पनि २ वटा प्रयोग भइरहेका छन्।
जिल्ला प्रशासन कार्यालयबाट अनुमति पाएको अवधिमा अहिलेकै तरिकाले थप काम गर्ने नेपालले बताए।
गत वर्ष पहरो फोर्ने क्रममा कडा चट्टान आएपछि विष्फोटक पदार्थको प्रयोग गर्नुपर्ने निष्कर्षसहित काम रोकिएको थियो। तर विष्फोटक पदार्थ प्राप्तीका लागि लामो प्रकृया पुरा गर्न समय लागेपछि पुनः रक ब्रेकर प्रयोग गरेर काम थालिएको हो।
इन्जिनियर नेपालले विष्फोटक पदार्थको प्रयोग गर्नुपर्ने अवस्था अझै पनि आउनसक्ने बताए।
‘प्राप्तीको प्रकृया लामो भयो, अर्कोतिर विष्फोटक पदार्थको प्रयोग गर्दा हाल प्रयोगमा रहेको जीर्ण पुल भत्कनसक्ने, पहाड कमजोर भएर पहिरोको जोखिम हुनसक्ने पनि देखियो। त्यसैले सकेसम्म त्यो विकल्पमा नगइएको हो,’ उनले भने, ‘अझै पनि अन्तिम अवस्थामा विष्फोटक पदार्थ प्रयोग गर्ने विकल्प प्रयोग गर्न सकिन्छ।’
प्रमुख जिल्ला अधिकारी थापाले पहरो फुटाउने काम पहिलो चरणमा सन्तोषजनक देखिएकाले समय थप गरिएको बताए। उनले यही गतिमा काम भए थपिएको समयपछि सडक बन्द नगरी काम गर्न मिल्ने दाबी गरे।
माथिबाट चट्टान काट्दै आउँदा सडक भएको उचाई नजिकै आइपुगेपछि यातायात बन्द नगरी काम गर्न सकिने परियोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले बताए। अब करिब १५ मिटर पहरो घटाएपछि सडकलाई सुरक्षित बनाएर नियमित काम गर्न सकिने उनले बताए।
उनले दैनिक चार घण्टा सडक बन्द गरेर काम गर्ने भनिएपनि एम्बुलेन्स, भिआइपी सवारीलगायतका अतिआवश्यक सवारीसाधनका लागि बेला–बेलामा काम रोक्नुपर्दा औषतमा दैनिक ३ घण्टाभन्दा बढी काम गर्न नसकिएको बताए।
‘निर्माण व्यवसायीले पहरो फुटाउने काम सकिएको तीन महिनाभित्रमा पुल निर्माण गरिसक्ने प्रतिबद्धता गरेको छ,’ आचार्यले भने, ‘हामी त्यहीअनुसार जतिसक्दो छिटो पहरो फुटाउने काम सक्नेगरी लागेका छौं।’
नारायणगढ–मुग्लिन सडकमा रहेका १९ मध्ये अब निर्माण सुरु हुनै बाँकी तुइन खोलाको पुलमात्रै हो। १९ मध्ये ४ वटा पुल पहिल्यै बनिसकेका छन्। बाँकी १५ वटा पुलहरु निर्माण गर्न दुईवटा प्याकेजमा ठेक्का लागेको थियो। तीमध्ये तुइन र चिसेन्जी पुल निर्माणका लागि पहरो फुटाल्नुपर्दा समस्या भएको थियो। चिसेन्जीमा पहरो फुटालेर पुल निर्माण सकिने क्रममा छ।
ठेक्का लागेका १५ मध्ये ५ वटा पुलहरु सञ्चालनमा आइसकेका छन्। ३ वटा पुल निर्माणको अन्तिम चरणमा पुगेका छन्। ती पुलहरु अबको १५ दिनभित्रमा सञ्चालनमा आउने ईन्जिनियर विजय दराईले जानकारी दिए। अबको बर्खाअघि तुइन खोलाबाहेकका सबै पुलको निर्माण सकिने दाबी परियोजनाको छ।
नारायणगढ–मुग्लिन सडक खण्डका पुलहरु निर्माणको अन्तिम म्याद २०८१ सालको कात्तिक मसान्तसम्म निर्धारण गरिएको छ।
सबै तस्बिरः राजेश घिमिरे/सेतोपाटी