केही महिनाअघि चितवन राष्ट्रिय निकुञ्जको अमृते पोष्टमा रहेको भाले हात्ती ‘कृष्णचन्द्र गज’ हरायो। हात्तीसारेहरू हात्ती दुई–चार दिन हराउनुलाई सामान्य मान्छन्। उनीहरूले सोचे यो हात्ती पनि फर्केर आइहाल्ला। तर ऊ फर्किएर आएन।
लामो समयसम्म नफर्किएपछि निकुञ्जका कर्मचारी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरू कृष्णचन्द्र गजलाई खोज्न लागिपरे। उसलाई खोज्न अन्य हात्तीहरू पनि परिचालन गरिएका थिए।
एक दिन कृष्णचन्द्र गजको खोजीमा हिँड्ने गरेको अर्को भाले हात्ती लक्की गज नै जनकपुर पोष्ट नजिकैबाट हरायो।
गत मंसिर १८ गते उक्त पोष्ट नजिकै जंगल सफारीको गाडीसँग जम्काभेट भएपछि तर्सिएर भागेको यो हात्ती अझै बेपत्ता छ।
चितवनको अमृते पोष्टबाट हराएको कृष्णचन्द्र गज करिब २ महिनापछि गत पुस ८ गते मकवानपुरको प्रतापपुरमा भेटियो। उसलाई अन्य हात्तीहरूले घेरिहाले। घेरा साँघुरो बनाउँदै लगेर झ्याप्पै ढाडमा चढेपछि ऊ नियन्त्रणमा आयो। डार्ट (बेहोस बनाउने प्रक्रिया) आवश्यक नै परेन।
अबको टाउको दुखाइको विषय थियो लक्की गज।
उसलाई खोज्न कृष्णचन्द्र गजलाई समेत खटाउन थालियो।
कृष्णचन्द्रलाई जस्तैगरी लक्कीलाई खोज्ने नियमित प्रक्रिया चलिरहेको थियो। मंगलबार बिहान राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेरिनरी प्राविधिक किरण रिजाललाई आएको फोनमा जनकपुर पोष्ट नजिकै लक्की गज देखिएको जानकारी थियो। उनी वन्यजन्तुको उपचारदेखि संकटग्रस्त वन्यजन्तुको उद्धारमा काम गर्छन्। उनले यो कुरा कार्यालयमा जानकारी गराए। डार्ट गर्ने प्राविधिकहरूलाई पनि खबर गरे। उनीहरू तत्काल उपलब्ध नहुने भएपछि रिजालले आफैंले डार्ट गर्ने निधो गरे।
चितवन निकुञ्जको सौराहा सेक्टर हेर्ने संरक्षण अधिकृत शान्त मगर, रिजालसहितको समूह जनकपुर पोष्ट पुग्दा हात्ती पोष्टबाट भित्र जंगलतिर अघि बढिसकेको थियो। पोष्टका कर्मचारीहरूले हात्ती जंगल पसिसकेको जानकारी गराएपछि उनीहरू पनि उसलाई खोज्न भनेर जंगल पसे। हात्तीसारेहरू पनि उनीहरूसँगै जंगल छिरे।
‘लक्की जग नै हो भनेपछि त गौंडा–गौंडामा छेकेर भने पनि समात्नुपर्छ भन्ने भयो। भएका जनशक्ति विभाजन भएर सम्भावित गौंडामा कुर्न बस्यौं। बाहिर निस्कन नदिने, हल्ला गर्दिएपछि फर्किहाल्छ, जसरी पनि आज डार्ट गरेर समात्ने भन्ने कुरा भयो। उपलब्ध भएका जति सबै हात्तीलाई ठाउँ–ठाउँमा राख्यौं,’ रिजालले भने।
रिजालसहित निकुञ्जका गेम स्काउट हेमलाल सुवेदी, हात्तीसारका कर्मचारी सञ्जय परियार तीन जना राप्ती नदी नजिकैको गौंडा कुर्न थाले। केहीबेरमा नजिकैको बाँसघारीमा हात्ती देखापर्यो। तर पूरै देखिएको थिएन। पछाडिको केही भागमात्रै देखिएको थियो। तुरून्तै ऊ फर्किहाल्यो।
‘साथीहरूले बाँसघारीमा लुकेर डार्ट गर्न सकिन्छ कि भन्ने कुरा गरे। उनीहरूलाई लक्की गजले केही गर्दैन भन्ने विश्वास थियो। यसले केही गर्दैन डार्ट गरेपछि लठ्ठीहाल्छ। त्यसपछि हामी ढाडमा चढिहाल्छौं, नियन्त्रणमा आइहाल्छ भने,’ उनले भने, ‘मान्छेलाई नहान्ने, मान्छे देखेपछि तर्सेर भाग्ने यो हात्तीको स्वभाव त मलाई पनि थाहा थियो। यसलाई सानैदेखि मैले नै स्याहारेको थिएँ। लौ न त ल हुन्छ भनें।’
उनीहरू डार्टको तयारी गर्न थाले। केहीबेरमा परबाट हात्ती उनीहरूतिर आयो। तर झट्ट हेर्दा त्यो लक्की गजजस्तो थिएन। रिजालको मनमा चिसो पसिहाल्यो। उनले लक्की गजको दाह्रा त यत्रो छैन भन्दै हात्तीसारेलाई दाह्रा देखाए। यो लक्की गजभन्दा ठूलो थियो। जंगली हात्तीलाई यो अवस्थामा डार्ट गर्न नसक्ने निष्कर्षमा उनीहरू पुगे। डार्ट गर्यो भने सिधै जाइलाग्छ, बरू यहीँ चुप लागेर बस्यौं भने केही गर्दैन न कि भन्ने सल्लाह गरे। बस्दाबस्दै उनीहरूलाई हात्तीले देखिहाल्यो।
‘ऊ हामीतिर हेरेर कान ठाडो बनाउन थाल्यो। ऊभन्दा हामी करिब २० मिटरमात्रै पर छौं। काँसघारीमा भागिहाल्न पनि मिल्ने अवस्था थिएन। लौ मार्ने भयो आज हात्तीले, अब बाँचिएन, आज ठूलो दशा रहेछ भन्ने लाग्न थाल्यो। हात्ती थप आक्रामक अवतारका साथ हामीतिर अघि बढ्न थाल्यो। हामीले हल्ला गर्ने सल्लाह गर्यौं। कराए फर्किहाल्छ कि भन्ने लाग्यो। करायौं हैट, हैट, हैट, हैट’
हल्ला सुनेपछि करिब १५ मिटर अगाडि आइपुगेर हात्ती टक्क उभियो। उनीहरूले लामो सास फेरे। अब फर्किन्छ कि भन्ने झिनो आशा पलायो। तर ऊ फर्किएन।
सिधै उनीहरूलाई ताकेर हात्ती अघि बढ्यो।
‘अब भने यसले हामीलाई मार्ने नै भयो भन्ने भयो। भागौं, भागौं भनेर फर्किएर भाग्न खोजेको सम्म याद छ त्यसपछि के के भयो केही याद छैन,’ रिजालले भने, ‘हामी तीनै जना लडेर बेहोस भइएछ। होस खुल्दा मेरो खुट्टामा चोट थियो। त्यहाँ र गालामा दुखेको थियो। बाँचेछु क्या हो म त। हात्तीले केही गरेन। मलाई आज भगवानले बचाउनुभयो क्या हो जस्तो अनुभव भयो। सँगै सञ्जय लडिरहेको थियो। बोलाएको झस्यांग भएर उठिहाल्यो। हात दुखेको छ भन्यो। उता हेमलाल पनि पल्टिरहेका थिए। उनको शरीरमा रगतै रगत देखियो। यताउता हेर्यौं, नजिकै हात्ती थिएन। अरू मान्छेलाई खबर गर्न भनेर हामी दुई जना भागेर अल्ली पर गयौं,’ उनले घटना विवरण सुनाए।
केहीपर संरक्षण अधिकृत मगरसहितको टोली थियो। रिजालले उनलाई घटनाको बारेमा सुनाए। त्यतिखेरसम्म उनलाई हेमलाल जीवित छन् जस्तो लागेको थिएन। त्यही कुरा उनले सुनाए। तुरून्तै उठाएर अस्पताल लगियो। अहिले पनि उनी अस्पतालमै छन्।
रिजाललाई लाग्छ हात्ती कुँदेर उनीहरूतिर आयो। बाँसको झ्याङतिर भएकाले दुई जनालाई छोएन। डराएर लडे, बेहोस भए। हेमलाललाई चाहि छोएर भाग्यो, घाइते भए।
हेमलालको गर्धनको हड्डी भाँचिएको छ। कानमा चोट लागेको छ। उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। अन्य दुई जनाले पनि आवश्यक उपचार गराए।
‘धन्न हात्तीले धेरै आक्रमण गरेनछ। फर्केर आउने, किच्ने, मार्न प्रयास गर्ने गरेनछ। बेगमा आयो, बेगमै बाटो लाग्यो। दौडिँदा छोइएर यति चोट लागेछ जस्तो लाग्छ,’ उनी भन्छन्, ‘घना जंगल भएकाले अरू गौंडामा बस्नेले हामीले हल्ला गरेको अलिअलि सुनेछन्। अरू केही मेसो पाएनन्।’
उनलाई यो घटनामा बाँचौंला भन्ने आशै थिएन। अहिले सोच्दा लाग्छ ठूलो कालबाट बाँचियो। पुनर्जन्म पाइयो।
‘जंगली हात्तीसँग जम्काभेट भएर केही पनि नहुनु भनेको त ठूलो भाग्य हो,’ उनले भने।
निकुञ्जका संरक्षण अधिकृत मगर त्यो दिन रिजालकै टोलीमा बस्न खोजेका थिए। उनी हात्तीबाट ओर्लिसकेका थिए। रिजालले यहाँ हामी छँदैछौं तपाईं अर्कोतिर बस्नुस् भनेपछि अर्को गौंडा कुर्न गएको मगरले बताए।
‘मलाई पनि भाग्यले नै साथ दिएको रहेछ,’ उनी भन्छन्।
संरक्षण अधिकृत मगर घटना भएको क्षेत्रभन्दा पारि जंगली हात्तीको हुल नै ओहोरदोहोर गर्ने गरेको बताउँछन्। यो त्यही समूहबाट छुट्टिएको नयाँ जंगली हात्ती हुनसक्ने अनुमान उनको छ। अहिलेसम्म यस क्षेत्रमा समूहबाट छुट्टिएका जंगली हात्तीहरू रोनाल्डो, ध्रुबे र गोविन्दे देखिने गरेका छन्। केही दिनदेखि दाह्रा नभएको जंगली भाले हात्ती मकुना पनि चितवन राष्ट्रिय निकुञ्जमा दखिने गरेको छ।
‘कसैले अहिले पनि त्यो लक्की गज नै हो भन्छन्। कोही होइन जंगली हो भन्छन्। ठ्याक्कै भन्न सकिने अवस्था छैन,’ उनले भने।
उनकाअनुसार लक्की गज पटक–पटक विभिन्न ठाउँहरूमा देखिएको छ। तर उसलाई नियन्त्रणमा लिन सकिएको छैन।
‘पालेर राखिए पनि उनीहरूमा जंगली जनावरको जिन हुन्छ। ऊ भाग्न सक्छ। हराउन सक्छ। यो सामान्य हो। हराएका प्रायः केही दिनमा भेटिन्छन्, समातिन्छन्। तर केही हात्तीलाई समाउन निकै गाह्रो हुने गरेको छ,’ उनले भने, ‘लक्की गजलाई समाउन पनि त्यस्तै गाह्रो भइरहेको छ।’
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले हराएको दिनदेखि नै लक्की गजको खोजी भइरहेको बताए।
‘हामीसँग भएका हात्तीहरू गस्ती गर्ने, उद्धार तथा आइपरेका सबै गतिविधिमा खट्नुपर्छ। बाघलाई डार्ट गर्नु परे पनि हात्ती नै चाहिन्छ। हात्ती खोज्न परे पनि हात्ती नै चाहिन्छ,’ तिवारीले भने, ‘सीमित हात्ती भएकाले नियमित रूपमा खोजीमा पठाउन नसके पनि उपलब्ध हुँदा खटाउने गरेका छौं।’
केही वर्षअघि निकुञ्जको धिरेन्द्रकली नामको हात्ती हराएको ३ महिनामा भेटिएको थियो। ऊ आफैं हात्तीसार आइपुगेको थियो। पोथी हात्ती भालेको खोजीमा जंगलमा भौंतारिएको हुनसक्ने तिवारीले बताए। पछिल्लो समयमा हराएका भाले हात्तीहरू भने किन हराए अध्ययनको विषय भएको उनी बताउँछन्।
हाल खोजी भइरहेको हात्तीको नाम लक्की गज कसरी रहन गयो त?
यो हात्ती अहिले ८ वर्षको भयो। अहिले उसको दरबन्दी खगेन्द्रमल्ली पोष्टमा छ। जन्मिएको केही दिनमा ऊ पखालाले गम्भीर बिरामी परेको थियो रे। पशु चिकित्सक कमलप्रसाद गैरे, रिजालसहितको समूहले उसलाई स्लाइन चढायो, एन्टिबायोटिक्स दियो। तर औषधिले काम गरिरहेको थिएन।
लडेको छावाको शरीरमा स्लाइन पनि जान छाडेको थियो। उनीहरूले यो हात्तीलाई बचाउन सकिने भएन चिफ वार्डेनलाई खबर गरिसकेका थिए। किन मर्यो भनेर चिरफार गरेर हेर्ने सल्लाहसमेत भयो। सल्लाह गरेको केही मिनेटमा खाना खाएर हात्तीसारमा पुगिहेर्दा त छावा उठिरहेको थियो। उनीहरू खुसी भए। थप उपचार गरेपछि छावा तंग्रियो।
भाग्यले बाँचेको भनेर डा.गैरेकै सिफारिसमा उसको नाम ‘लक्की गज’ राखिएको रिजाल बताउँछन्।
‘अहिलेको घटनापछि मैले हामी पनि लक्की नै रहेछौं भन्ने सम्झिएँ। उसको नाम राख्दाको कहानी स्मरण भयो,’ उनले भने।
लक्की गजलाई नारायणीकलीले हात्ती प्रजनन् केन्द्र खोरसोरमा जन्माएकी थिई। नारायणीकली अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छे।