उनले ६ कक्षासम्म गाउँकै स्कुलमा पढिन्। त्यसभन्दा माथि पढ्न घरबाट दुुई घण्टा हिँडेर जानुपर्थ्यो। त्यति टाढा भए पनि उनी स्कुल जान खुसी हुन्थिन्। गाउँबाट टाढाको त्यो स्कुल जाने उनी एक्ली थिइनन्, गाउँका अरू साथीहरू पनि थिए।
स्कुल छुट्टी भएर घर आइपुग्दा झमक्क साँझ पर्थ्यो। स्कुल आउन–जानमै चार घन्टा लाग्ने भएपछि उनी आमालाई काम सघाउन भ्याउँदिन थिइन्। बिदाको दिन भने घरको सबै काममा आमालाई सहयोग गर्थिन्।
उनको दिनचर्या यसरी नै चल्दै थियो। चार वर्षअघिको कुरा हो। उनी आठ कक्षामा पढ्दै थिइन्। मंसिर महिना थियो। बिदाको दिन बाख्रा चराउन नजिकैको जंगलमा गएकी थिइन्। बेलुकीपख बाख्रा लिएर एक्लै घर फर्कंदै थिइन्।
त्यही बेला एक जना पुरुषले उनीमाथि जबर्जस्ती गर्यो। उनी चिच्याइन्। त्यो पुरुषको क्रूर पञ्जाबाट भाग्न खोजिन् तर सफल भइनन्। जंगलको बाटोमा उनी चिच्याएको कसैले सुनेन।
त्यो पुरुषले एक्ली बालिकालाई बलात्कार गर्यो। घटनाबारे कसैलाई नसुनाउनू, सुनाइस् भने तेरै बेइज्जत हुन्छ भनेर त्यो पुरुष त्यहाँबाट भाग्यो।
केही बेरमा उनी रुँदै बाख्रा लिएर घर पुगिन्। आमालाई सबै घटना भन्छु भन्ने सोचिन्। घर पुगेपछि उनी अलमलमा परिन्। आमालाई सुनाउने आँटै आएन।
त्यो दिन सम्झँदै उनले भनिन्, ‘आमालाई सुनाउन डर लाग्यो। उल्टै मलाई नै गाली गर्नुहुन्छ होला जस्तो लाग्यो। आफ्नो पीडा मनमै राखेँ।’
दिन बित्दै जाँदा उनको पीडा कम हुँदै गयो। स्कुल जाने क्रम चलेकै थियो। घटनाको करिब ६ महिनापछि उनी बिरामी परिन्। परिवारजनले उनलाई अस्पताल पुर्याए। जाँच गरेपछि डाक्टरले पेटमा ६ महिनाको गर्भ छ भने।
डाक्टरको कुराले परिवारमा खैलाबैला भयो। उनी पनि छाँगाबाट खसिन्। सुदूरपश्चिम अछामको त्यो दुर्गम ग्रामीण समाजमा १४ वर्षकी अविवाहित छोरीमा ६ महिनाको गर्भ रहेको घटना परिवारका लागि सामान्य थिएन। बलात्कार भएर पेटमा गर्भ बसेको कुरा थाहा पाएपछि उनलाई आफ्नै आमाबुबाले अस्वीकार गरे।
समाजमा बेइज्जत हुन्छ भनेर आमाबुबाले घर नलैजाने सल्लाह गरे।
उनी अस्पतालबाट घर जान पाइनन्। एकातिर बलात्कारबाट पेटमा गर्भ, अर्कातिर घर जान नपाउनु, उनका लागि ठूलो संकट आइलाग्यो। उनी गम्भीर मानसिक तनावमा परिन्।
परिवारकै सदस्यले उनलाई धनगढीमा रहेको एक आश्रममा पुुर्याए। घटनापछि सोही आश्रमको सहयोगमा प्रहरीमा उजुरी पुग्यो। ती पुरुषविरूद्ध मुद्दा पनि दर्ता भएको छ तर ती पुरुष अझै पक्राउ परेका छैनन्।
यसरी उनी आमाबुबाबाट टाढा भएको साढे तीन वर्ष भयो। अहिले उनको उमेर १८ वर्ष भएको छ।
उनले आश्रममै शिशु जन्माइन्। किशोरावस्थामै आमा बनेर पनि उनले आश्रमबाटै कक्षा ९ र १० को पढाइ पूरा गरिन्। विद्यालय शिक्षा परीक्षा (एसइई) उत्तीर्ण भइन्।
एसइईपछि उनले इन्जिनियरिङ विषय पढ्ने अठोट गरिन्। आश्रमकै सहयोगमा उनी सिभिल इन्जिनियरिङमा भर्ना भएकी छन्। अहिले ११ कक्षामा पढ्दैछिन्।
आश्रम र जिल्ला प्रशासन कार्यालय कैलालीको सहयोगमा उनको शिशु एक दम्पतीले धर्मपुत्रका रूपमा अंगीकार गरेको छ।
उनी पढाइसँगै न्याय प्राप्तिको संघर्षमा छिन्। आफूमाथि बलात्कार गर्नेलाई कानूनी कठघरामा उभ्याउनमात्र होइन, आफ्नो भविष्य बनाउने बाटोबाट उनी कति पनि डगमगाएकी छैनन्।
बलात्कारी पुरुष पक्राउ नपरेकोमा उनी दुःखी छिन्। भन्छिन्, ‘प्रहरी खोजी भइरहेको छ भन्छ तर पक्राउ गर्न सकेको छैन। प्रहरीले भारततिर भागेको शंका गरेको छ।’
बालाकृत हुनुको पीडा छँदैछ। आफ्नै आमाबाबुबाट तिरस्कृत भएर घर छाड्नुको पीडा त्योभन्दा कम छैन। न्यायका लागि उनको संघर्ष जारी रहनेछ। आफूभित्रको पीडामा केही मलम लगाउन इन्जिनियर बन्ने अठोटका साथ पढाइमा लागेकी छन्।
उनी इन्जिनियर भएर आफ्नै नगरपालिकामा उच्च शिर बनाएर काम गर्न चाहन्छिन्। उनी आश्रममै बस्छिन् तर पढाइखर्चको समस्या छ। आश्रम दानदातव्यमा चलेको हुनाले उनको पढाइखर्चका लागि अलग्ग व्यवस्था छैन।
उनी अहिले सिभिल ओभरसियर विषयकी विद्यार्थी हुन्। पैसा नभएर सबै किताब किन्न सकेकी छैनन्। उनका अनुसार पाँच वटा किताब किन्न बाँकी छ। उनी आमाबुबालाई धेरै सम्झन्छिन्। उनलाई आफ्नो गाउँ जान र आमाबुबा भेट्न मन छ। आफ्ना साथीहरू पनि भेट्न चाहन्छिन् तर त्यस्तो मौका जुरेको छैन। उनी यस्तो भेटको प्रतीक्षामा छिन्।
उनका बुबा भारतमा काम गर्छन्। उता कमाएको पैसाले घर खर्च चलेको छ। कच्ची घरको छानोमा जस्तापाता लगाएका छन्। आमा घरमै छिन्। एक भाइ र तीन बहीनीमध्ये उनी जेठी हुन्। परिवारलाई खान पुग्ने जमिन छ। आमाले बाख्रा र गाई पालेकी छन्।
आफूलाई पीडा दिने र तिरस्कारको अवस्थामा पुर्याउने बलात्कारी व्यक्तिलाई कानूनी कठघरामा उभ्याउने उनको अठोट छ। छोरीप्रति आमाबुबाको मन फिर्ला भन्ने पनि उनको आशा छ।