दोलखाको बैतेश्वर गाउँपालिका-२ मूलाबारीका दीपेन्द्र घिसिङ पाइलट पढ्नका लागि भन्दै एक रुपैयाँ अभियानमार्फत् सहयोग संकलन गरिरहेका छन्।
अभियान सुरू गरेको चार महिनामै उनले ६१ लाख बढी रकम संकलन गरिसकेका छन्। परिवारको आर्थिक अवस्था कमजोर भएको उल्लेख गर्दै उनले सानैदेखिको पाइलट बन्ने सपना साकार गर्न एक रुपैयाँ अभियान सञ्चालन गरेको बताएका छन्।
'बाल्यकालदेखि नै पाइलट बन्ने सपना थियो। त्यही सपनालाई पछ्याउँदै एक रुपैयाँ अभियानसम्म पुगेँ। र जनताको यही एक-एक रुपैयाँ उठाएर पाइलट बन्न सक्छु भन्ने आत्मविश्वास छ,' घिसिङले सेतोपाटीसँग भने।
दोलखाको विकट गाउँ मूलाबारीमा जन्मेका दीपेन्द्र सानै छँदा उनका बुवाले दोस्रो बिहे गरे। त्यसपछि उनी आमासँगै मामाघरमा बस्न थाले। त्यहीँको बोर्डिङ पढ्न थाले। आफ्नो पढाइको लागि आमाले धेरै दुःख गरेको सम्झिँदै उनले भने, 'आमाले मेरो लागि धेरै दुःख गर्नुभएको छ। त्योबेला अरूको छोराछोरी बोर्डिङ पढेको देखेर मलाई पनि बोर्डिङ नै पढाउनुभयो। मलाई पढाउनका लागि उहाँ रक्सी बेच्नुहुन्थ्यो। रक्सी बेच्नका लागि उहाँ दुई तीन घण्टाको बाटो हिँड्नुहुन्थ्यो।'
आमाको दुःख बुझेका दीपेन्द्र सानैदेखि नै पढाइमा तेज थिए। आठ कक्षासम्म गाउँमै पढेका उनी त्यसपछि भने काठमाडौं आफन्तकहाँ बसेर पढ्न थाले। लुभुस्थित बालकुञ्ज माध्यमिक विद्यालयबाट २०७४ सालमा एसइई दिएका उनी ३.७५ जिपिए, 'ए प्लस' ल्याएर उत्तीर्ण भए।
एसइईमा राम्रो अंक आएपछि उनले विज्ञान विषय लिएर पढ्ने सोच बनाए। उनले यो कुरा आमालई सुनाए। तर आमाले उनलाई ठोस जवाफ दिन सकिनन्। किनभने त्यतिबेला आमा दोस्रो बिहे गरेर अर्काको घर गइसकेकी थिइन्। त्यसपछि उनले बुवासँग कुरा राखे।
बुवाले उनलाई आफूसँगै बसेर पढ्ने सल्लाह दिए। त्यसपछि उनी बुवा र कान्छी आमासँग बसेर पढ्न थाले। उनले बौद्धकै अरुणिमा कलेजमा भर्ना गरे। सुरूका केही दिन उनलाई बुवा र कान्छी आमा दुबैबाट राम्रो व्यवहार भयो। तर यो सिलसिला धेरै बेर लम्बिन सकेन। उनको विषयलाई लिएर बुवा र कान्छी आमाबीच खटपट सुरू हुन थाल्यो। यो कुरा उनले सुइँको पाइहाले। त्यसपछि त्यहाँबाट निस्किएर उनी ग्वार्कोमा एउटा कोठा भाडामा लिएर बस्न थाले।
कोठामा बस्न थालेपछि उनी एउटा स्कुलमा पढाउन थाले। जसले गर्दा कलेज जान पाएनन्। त्योबेला उनीसँग विकल्प पनि थिएन। किनकि कोठा भाडा तिर्न उनलाई काम गर्नैपर्ने थियो। तर काम गरेको पैसाले पनि उनलाई कोठा भाडामात्र तिर्न पुग्थ्यो। खानाका लागि भने आफू एक जना आफन्तको रेस्टुरेन्टमा काम गर्ने गरेको सुनाउँदै उनले भने, 'स्कुलबाट आएपछि रेस्टुरेन्टमा काम गर्थे। वेटर जस्तो पनि अनि यता-त्यता काम सघाउँथें र त्यति सघाएपछि खाना त्यहीँ खान्थेँ।'
यसरी नै दीपेन्द्रको दैनिकी बित्दै गयो। पछि कलेजबाट बोर्ड परीक्षाको फाराम भर्नका लागि फोन आयो। एक त उनी कलेज पनि गएका थिएनन्, त्यसमाथि शुल्क पनि तिरेको थिएनन्। त्यसैले उनले बोर्ड परीक्षा दिएनन्। यसरी नै १२ कक्षाको बोर्ड परीक्षाको फाराम भर्ने बेलामा पनि उनलाई कलेजबाट फोन आयो। त्यो बेला कलेजले उनलाई कक्षा ११ को पनि शुल्क बुझाए दुबै वर्षको परीक्षा दिन पाउने भन्यो। त्यसपछि उनले धेरै मान्छेहरूलाई हारगुहार गरेर पैसा जुटाए र एघार र बाह्र कक्षाकै परीक्षा दिए। उनको भाग्य भनौं, जसै उनले कलेजको शुल्क बुझाए, नेपालमा कोरोनाको कारण लकडाउन सुरू भयो। उनले पढ्ने मौका पाए। उनी दिनरात मेहनत गरेर परीक्षाको तयारीमा लागे। नभन्दै एकैवर्ष दुइटा परीक्षा दिएका उनले ३.२२ जिपिए ल्याएर १२ कक्षा उत्तीर्ण गरे।
बाह्र पास गरेपछि भने उनी पाइलट पढ्ने भनेर कस्सिए। सानैदेखि पाइलट बन्ने सपना देखेका उनी स्थानीय तहदेखि सबै निकायमा धाए। तर कतैबाट पनि पार लागेन।
'तीन तहकै सरकारमा धाएँ। स्थानीय तहमा पनि डाक्टर र इन्जिनियरका लागि मात्र छात्रवृत्तिको व्यवस्था हुने रैछ। पाइलटका लागि कुनै प्रावधान नहुने रैछ। अनि कतैबाट पार नलागेपछि 'एक रुपैयाँ अभियान' को कन्सेप्ट आयो,' उनले भने।
एक रुपैयाँ अभियानको सोचाइ दिमागमा आए पनि उनलाई सोबारे झट्ट घोषणा गर्ने आँट आएन। किनकि एक-एक रुपैयाँ उठाएर त्यत्रो पैसा उठाउन सकिँदैन कि भन्ने उनलाई लाग्यो। तर पनि मनभित्र एउटा आत्मविश्वास भने रहेको उनले सुनाए।
'जसरी पनि पाइलट बन्नुपर्छ भन्ने मनमा ज्वाला थियो। त्यसैले एक-एक रुपैयाँ उठाएर पनि ८० लाख उठाउन सक्छु भन्ने आत्मविश्वास थियो,' आफ्नो विगत सम्झिँदै उनले भने, 'कुनै समय मसँग ओढ्नलाई एउटा सिरक पनि थिएन। लगाउने लुगा थिएन। तर पनि मैले कहिल्यै दुःख व्यक्त गरिनँ। आफूलाई कमजोर हुन दिइनँ। आमाबुवाले गर्दा यो अवस्था भयो भनेर गुनासो गरिनँ। सधैं मेहनतले नै सबै कुरा पूरा गर्छ भने मनमा विश्वास लिएँ।'
नभन्दै उनले चार महिनाअघि फेसबुकमार्फत एक रुपैयाँ अभियान घोषणा गरे। आफ्नो अवस्था, योग्यता, सपना र योजनाबारे सबै खुलस्त पारेर लामो स्टाटस पोस्ट गरे। अहिले चार महिना नबिन्दै आफूलाई ६१ लाखभन्दा बढी रकम सहयोग आएको उल्लेख गर्दै सहयोग गर्न चाहनेहरूका लागि पहिले आफ्नो विचार सुनिदिन उनले आग्रह गरेका छन्।
'मैले मेरो कुनै पनि सामाजिक सञ्जालमा क्युआर कोडहरू राखेको छैन। किनकि सहयोग गर्नुअघि सबैले पहिले मेरो विचारहरू थाहा पाऊन् भन्ने लाग्छ। अनि मेरो योग्यता बुझेर मात्र सहयोग गर्नुहोस् भन्ने लाग्छ,' उनले भने।
छोटो समयमै रकम ठूलो संकलन भएपछि दीपेन्द्र आगामी नयाँ वर्षमा पाइलट पढ्नका लागि फिलिपिन्स जाने तयारी गर्दैछन्। पाइलट पढ्नका लागि जम्मा ८१ लाख रुपैयाँ लाग्ने र धेरै रकम उठिसकेको उल्लेख गर्दै उनले भने, 'पैसा अलिक कम लाग्ने भनेको दक्षिण अफ्रिका र फिलिपिन्स हो। सबथोक विचार गर्दा फिलिपन्स नै ठीक लाग्यो। त्यहाँको रोयल्स स्कुल अफ एभियसनबाट अफर लेटर पनि पाइसकेको छु। आगामी वैशाखमा जाँदैछु।'
हेर्नुस् उनै दीपेन्द्रसँग सेतोपाटीका विवेक राईले कुराकानी गरेको भिडिओः