मान्छे घर घरै थुनिएको बेला थियो। कोरोनाले कसलाई टपक्क टिप्ने हो टुंगो थिएन। मान्छेसित मान्छे डराउँथे।
'सामाजिक दुरी' कायम गर्नुपर्ने स्वास्थ्य प्रोटोकलले मान्छे-मान्छेबीच दुरी बढाएका बेला विराटनगरकी एलिना प्रसाईं भने 'भुस्याहा' भनिने सडक कुकुरसित नजिकिएकी थिइन्। उनी ती कुकुरहरूलाई प्रेमले 'नेपाली कुकुर' भन्छिन्।
भोकले कुइँकुइँ कराइरहेका कुकुरको चिच्याहटले उनलाई घरभित्र बस्न दिएन। पकाएको खाना बोकेर उनी विराटनगरका सडकमा निस्कन थालिन्।
घरनजिकै ट्राफिक चोक र महेन्द्र चोक छेउछाउतिरका कुकुरलाई उनले खाना दिन सुरू गरिन्।
त्यही बेला उनले एउटा यस्तो कुकुर देखिन्, जो मान्छेको छेउ पर्न डराउँथ्यो। दिएको खानाछेउ आउन पनि नसक्ने हालतको त्यो कुकुर एकोहोरो रोइरहेको जस्तो लाग्थ्यो। पहिलो दिन जुन ठाउँमा र जे हालतमा थियो, अर्को दिन पनि त्यहाँबाट हलचल गरेको थिएन।
जथाभाबी दौडिहिँड्ने स्वभावभन्दा फरक मूर्तिवत् त्यसको अवस्थाले एलिनालाई त्यतै डोर्यायो।
हातमा खानेकुरा देखाउँदै उनी त्यसको नजिक पुगिन्। भाग्न खोज्यो तर सकेन। शरीरको पछाडिको भाग कक्रक्क परेको थियो। चल्दै नचल्ने अवस्थामा थियो।
'नजिकै गएर हेरेपछि थाहा भयो, त्यसको प्राइभेट पार्टमा ठूलो घाउ भएको रहेछ, पछाडिको भाग चलाउनै नसक्ने अवस्थामा रहेछ,' एलिनाले त्यस बेलाको घटना सम्झिइन्, 'त्यसलाई त्यत्तिकै छाडेर हिँड्न मन मानेन। घरमा फोन गरेर दाइलाई बोलाएँ र उसलाई घरमै ल्याएँ।'
बिरामी कुकुर घरमा त लगिन् तर के गर्ने, कसो गर्ने, केही थाहा थिएन। केही दिन घरैमा राखेर सरसफाइ गरिदिइन्। खाना दिइन्।
खान थाले पनि कुकुरको स्वास्थ्यमा सुधार आएको थिएन।
पूर्वाञ्चल विश्वविद्यालयमा पढाउने उनका बुबाले एक दिन बिरामी कुकुरलाई पशु अस्पताल लैजान सुझाए।
एलिना र दाइ साहिलले अस्पताल लगे।
कुकुरको घाउ देख्नेबित्तिकै चिकित्सकले भने, 'यसको प्राइभेट पार्टमा क्यान्सर छ, अपरेसन गर्नुपर्छ।'
दाजुबहिनीले अनुमति दिए।
कुकुरको शल्यक्रिया भयो।
अस्पतालमा शुल्क थोरै लाग्ने भए पनि औषधि महँगो थियो। दाजुबहिनीले आमाबुबासित मागेर खर्च जोहो गरे।
'अपरेसन गरेर घर लगेपछि राम्ररी स्याहार गर्यौँ,' एलिनाले भनिन्, 'एक महिनाजति बितेपछि कुकुर एक्टिभ भयो। फलोअपमा लैजाँदा क्यान्सरमुक्त भएको थाहा भयो।'
त्यो कुकुरको उपचारमा आठ हजार रुपैयाँ खर्च लाग्यो। त्यो खर्च उनीहरूका अभिभावकले व्यहोरिदिए।
'त्यसपछि त बाटोमा घाइते कुकुर देख्यो कि उठाएर लैजान मन लाग्न थाल्यो,' २५ वर्षीया एलिनाले भनिन्, 'सडकमा बेहाल अवस्थाको कुकुर देख्दा मन पिरोलिन थाल्यो। एकदमै माया लाग्न थाल्यो। जति घाइते कुकुर देख्यो, सबैलाई उठाउँदै उपचार गर्न थाल्यौं।'
कुकुरप्रति जागेको त्यही मायाकै कारण एलिनाले गत जेठमा 'एलिना एनिमल्स प्रिजर्भेसन नेपाल' नामक संस्था स्थापना गरिन्। उनका साथमा दाइ साहिल पनि सक्रिय छन्।
सडकमा अलपत्र सबैखाले जनावर उद्धार गर्ने, घाइतेको उपचार गर्ने र तिनलाई सकेसम्म सुरक्षित बासस्थानमा जिम्मा लगाइदिने संस्थाको उद्देश्य छ। हाल संस्थाको संरक्षणमा ५० वटाभन्दा बढी सडक कुकुर छन्।
संस्था स्थापना भएपछि उनीहरूले सडकमा अलपत्र बाछाबाछी र गधाको पनि उपचार गरेका छन्।
प्रसाईं दाजुबहिनीको यो कामलाई नजिकबाट नियालेका विराटनगरस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. अजयकुमार शाह उनीहरूको काम उदाहरणीय रहेको बताउँछन्।
उनी भन्छन्, 'घरमा पालेका पशुको स्याहार पशुधनीले नै गर्छन्, तर उहाँहरूले सडकका अलपत्र कुकुरको जसरी स्याहारमा आफूलाई समर्पित गर्नुभएको छ, त्यो प्रशंसनीय छ।'
उनका अनुसार सडकमा गाडीले हिर्काएर वा आपसमा लडेर रक्ताम्य बनेका कुकुर अस्पतालमा ल्याउँछन्।
'गाडीले हिर्काएर प्यारालाइज्ड (पक्षघात) भएका कुकुरलाई उहाँहरू आफैंले स्याहार्ने गर्नुभएको छ,' उनी भन्छन्, 'यो तहको पशुप्रेम निकै गज्जबको हो।'
लकडाउन बेला उनीहरूकै मायाले क्यान्सरमुक्त बनेको कुकुर विराटनगरकै एक जना घरधनीले 'एडप्ट' गरेका छन्। एलिनाका अनुसार त्यो कुकुर स्वस्थ र सक्रिय छ।
हालसम्म उनीहरूले कम्तीमा तीन सयवटा सडक कुकुरको उद्धार र उपचार गरेका छन्। उपचार गरेर निको पारेका अनि सडकबाट उठाएर ल्याएका दुई सयभन्दा बढी संख्याका कुकुर व्यक्तिहरूले 'एडप्ट' गरेर लगेका छन्।
केही समयअघि विराटनगरमा सम्पन्न ट्रेड एक्स्पोमा ५३ वटा कुकुरका छाउरा मेला अवलोकन गर्न आएकाहरूले निःशुल्क लगे। एक्स्पो स्थलमा कुकुरका छाउरा लैजान खोज्नेहरूले सोध्थे, 'एउटाको कति हो?'
एलिना भन्थिन्, 'मुटुभरिको माया हो, पैसा पर्दैन।'
आफूहरूले हुर्काएका ती बच्चा लैजान चाहनेलाई प्रेमपूर्वक पाल्न आग्रह गर्ने गरेको एलिनाले बताइन्।
विराटनगरमा कुकुरका बच्चा देख्नेहरूले एलिनालाई खबर गर्ने गरेका छन्। खबर दिनेको संख्या बढ्दो छ। सेल्टर हाउसमा कुकुरको संख्या पनि बढ्दो छ। सुरूमा सडकमै पुगेर कुकुरको उपचार गर्ने यी दाजुबहिनीको धेरै समय अहिले सेल्टर हाउसमा बित्छ।
'यहाँ (सेल्टर हाउस) आएपछि समय बितेको पत्तै हुँदैन,' साहिल भन्छन्, 'पप्पीहरूसित खेल्दाखेल्दै रमाइलोसँग समय कट्छ।'
कुकुरसित एलिनाको माया बसेको सन् २०१७ बाट हो, जब उनी भारतको दिल्लीमा पढ्न गएकी थिइन्। उनका दाइ उतै पढ्दै थिए। अभिभावकले एलिनालाई पनि दाइकै साथमा पठाए।
'इन्फर्मेसन टेक्नोलोजी एन्ड ह्युमन रिसोर्स (आइटिएचआर)' पढ्न दिल्ली पुगेको केही समयपछि उनले त्यहाँका केही मान्छेलाई सडकमा देखिन्, जो गाडीले हानेर घाइते बनेका कुकुरको स्याहार गर्थे र खाना दिन्थे।
दिल्लीमा आफू बसेको टोलका मानिसहरूको व्यवहारबाट पनि एलिना र साहिल प्रभावित भएका थिए।
'हामी बसेको टोलका घरधनीहरूले हरेक बिहान–बेलुका कुकुरका लागि खानाको प्रबन्ध गर्थे,' साहिलले सम्झिए, 'गर्मीमा घरबाहिर एउटा भाँडामा पानी राखिदिन्थे। जाडोमा घरबाहिर बाक्ला ब्ल्यांकेट ओछ्याइदिन्थे। त्यो देखेरै हामीमा कुकुरप्रेम जागृत भयो।'
टोलका मानिससँग मिलेर प्रसाईं दाजुबहिनी पनि कुकुरलाई सहयोग गर्न थाले।
'त्यहाँका टोलबासीहरू घरमा पालेको कुकुर त घरधनीले हेर्छन्, सडकका कुकुरलाई हामीले नहेरे कसले हेर्छ भन्थे। त्यो भनाइले हामीलाई छोयो,' एलिनाले भनिन्, 'हामी पनि फुर्सदमा कुकुरका छेउछाउ पुग्न थाल्यौं। अहिले गैरनाफामूलक संस्था बनाएर ढुक्कै काम गर्न थालेका छौं।'
साहिल बिबिए पढाइ पूरा गरेर दिल्लीमै काम गर्न थालेका थिए। एलिना पढाइसँगै जागिर गर्दै थिइन्। त्यही बेला कोरोना कहर सुरू भएपछि उनीहरू विराटनगर फर्के। त्यसलगत्तै उनीहरू सडकका कुकुरको स्याहारमा लागे।
एलिनाले स्नातकोत्तर पूरा गरेकी छन्। साहिल स्नातकोत्तर पढ्ने तयारीमा छन्। उनीहरू दुवै कुनै जागिरमा छैनन्। जागिर थाल्ने हो भने जनावर संरक्षणको काममा असर पर्ने एलिना बताउँछिन्। उनीहरू अब स्थायी कुकुर सेल्टर स्थापना गर्ने योजनामा छन्। त्यसका लागि जग्गाको खोजीमा छन्।
'हामीले विराटनगर महानगरलाई कुकुरको सेल्टर हाउस निर्माण गर्न जग्गा उपलब्ध गराइदिन माग गरिरहेका छौं,' एलिना भन्छिन्, 'अहिलेसम्म हामी सामाजिक सञ्जालमार्फत सहयोग गर्नेहरूको दानको भर र घरैबाट जुटेको खर्चले चलेका छौं। जग्गा उपलब्ध भए सुरक्षित सेल्टर बनाउन सकिन्थ्यो। भाडाको घर खोज्नुपर्ने थिएन।'
एलिना एनिमल्स प्रिजर्भेसनले एक महिनाअघि उद्धार गरिएका कुकुर राख्न विराटनगरमा मासिक २० हजार रुपैयाँ तिर्ने गरी दुई तलाको घर भाडामा लिएको छ।
'अमेरिकामा रहनुभएका हाम्रा दिदीभिनाजुले एकमुष्ठ ४० हजार रुपैयाँ पठाइदिनुभएको थियो। आँट गरेर सेल्टर हाउस चलाउन थाल्यौं,' एलिनाले भनिन्, 'पार्ट टाइमका लागि दुई जना पशु प्राविधिक र एक जना होलटाइमर केयर टेकर राखेका छौं।'
कुकुरको स्याहारमा खर्च बढ्न थालेपछि दाजुबहिनी मिलेर घरैमा एउटा होस्टल चलाउन थालेका छन्। होस्टलमा २२ जना विद्यार्थी छन्। त्यसबाट हुने आम्दानीले सहयोग भएको एलिनाको भनाइ छ।
उनीहरूको काम देखेर कतिपयले यस्तो काममा लाग्नुका पछाडि के स्वार्थ छ भनेर सोध्छन्।
यस्तो प्रश्नको उत्तर सबैलाई चित्त बुझ्ने खालको हुँदैन भन्ने एलिनालाई थाहा छ।
'हामीलाई नजिकबाट नियाल्नेहरूलाई वास्तविकता थाहा छ,' उनले भनिन्, 'हाम्रो अवस्था र औचित्य कसैलाई पुष्टि गर्नुपर्ने आवश्यकता नै देख्दिनँ। हामी दयालु भएका हौं भन्नुपरेको पनि छैन। जसले जे सोचे पनि हामीलाई आशीर्वाद लाग्छ।'
वास्तविक अवस्था थाहा पाएका कतिपयले सेल्टरमा दूध, चामल, मासु लगायत खानेकुरा ल्याइदिने गरेका छन्।
'अस्ति एक जना अंकलले एक बोरा धान ल्याइदिनुभयो,' उनले भनिन्, 'उहाँको घरछेउबाटै घाइते कुकुर निको पारेर पठाएको देखेपछि धान ल्याइदिनुभएको हो।'
प्रसाईं दाजुबहिनीको कुकुर प्रेमबारे विराटनगरका धेरै जना परिचित छन्। तिनैमध्ये एक हुन्, मुनालपथका कुमार भट्टराई। उनी एउटा निजी स्कुलका शिक्षक हुन्। एक साताअघि सेल्टर हाउस पुगेका थिए।
'मैले विदेशी जातका कुकुर धेरै पालेँ,' उनले भने, 'अब नेपाली कुकुर पालूँ भनेर लिन आएको हुँ।'
स्कुलका सहकर्मीहरूले जानकारी दिएपछि कुकुर एडप्ट गर्न एलिनालाई सम्पर्क गरेको उनले बताए।
प्रसाईं दाजुबहिनीका अनुभवमा नेपाली कुकुरहरू धेरै आक्रामक स्वभावका हुँदैनन्। मान्छेसित मिलिहाल्ने गुण हुन्छ।
एलिनाका अनुसार सडकमा नेपाली कुकुरको संख्या लगातार बढ्ने क्रममा छ। यसरी संख्या बढ्नु मान्छेका लागि जोखिम हो भन्ने उनको बुझाइ छ।
'कुकुरको संख्या धेरै भएपछि रेबिजको डर हुन्छ। सडक दुर्घटनाको जोखिम पनि धेरै हुन्छ,' उनी भन्छिन्, 'कुकुरको बन्ध्याकरण गर्न सरकारी बजेट छ तर तिनको उपचार र पालनपोषणका लागि छैन। यसले पनि चुनौती थपेको छ।'
सडकका कुकुरमा स्वास्थ्य समस्या पनि धेरै देखिने गरेको छ। दुर्घटनाका कारण हुने पक्षघात, लुतो आउने, ट्युमर हुने, क्यान्सर हुने, किर्ना र जुका पर्ने समस्या धेरै छ।
'नगरपालिकाले कुकुरको उपचार मात्रै गरिदिने हो भने पनि हामीलाई सजिलो हुने थियो,' उनी भन्छिन्, 'मान्छेलाई मायाको साँचो अर्थ सिकाउने जनावर कुकुर नै हो। उनीहरूको मायाका पछाडि न कुनै तर्क हुन्छ, न कुनै स्वार्थ।'