मुग्लिन–नारायणगढ सडक दैनिक चार घण्टा बन्द गरेर पहरो फुटाउन फेरि २१ दिन समय थप भएको छ।
यस सडक खण्डमा अन्तिम पटक भनेर फेरि २१ दिन म्याद थप गरिएको नारायणगढ–मुग्लिन सडक परियोजनाका इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए। उक्त सडकखण्डको तुइन खोलामा नयाँ पुल निर्माणका लागि पहरो फुटाउन निर्माण व्यवसायीले थप समय माग गरेका थिए।
यसअघि पहरो फुटाउन दुई पटक २१ दिन समय थप गरिसकेको छ।
तुइन खोलामा पुल तथा पहुँचमार्ग निर्माणका लागि पुस ७ गतेदेखि दिउँसो १२ बजेबाट ४ घण्टा सडक नै बन्द गरेर काम गरिँदै आएको छ।
इन्जिनियर आचार्यले यस अवधिमा पहरो काटेर करिब २२ मिटर घटाउन सफल भएको बताए।
यहाँ सडकभन्दा ६० मिटर माथिबाट पहरो काट्न थालिएको थियो। गत वर्ष साढे २ महिना लगाएर २५ मिटर पहरो फुटाएपछि ३५ मिटर बाँकी थियो।
इन्जिनियर आचार्यका अनुसार पहिलो पटक २१ दिनमा १४ मिटर र दोस्रो पटकको २१ दिनमा ८ मिटर चट्टान फोरिएको थियो। अब बाँकी अवधिमा बाँकी चट्टान फुटाउने उनले बताए।