चितवन राष्ट्रिय निकुञ्जलाई प्लास्टिकमुक्त घोषणा गरिएको पाँच वर्ष भयो। देशकै पहिलो प्लास्टिकमुक्त संरक्षण क्षेत्रको रूपमा घोषणासँगै निकुञ्जका ठाउँ–ठाउँमा सचेतनामूलक बोर्डहरू राखिएको थियो।
तर चितवन निकुञ्ज हुँदै बग्ने नदी र आसपासका क्षेत्रहरूको अवस्था हेर्दा यो घोषणा कागजमामात्रै सीमित भएजस्तो देखिन्छ।
माघको पहिलो हप्ता निकुञ्जभित्रबाट बग्ने दुई ठूला नदीहरूमा जलपंक्षीको गणना गरिएको थियो। राप्ती र रिउ नदीमा गरिएको गणनामा प्रदूषणको असर उल्लेख्य देखिएको पंक्षी विज्ञहरू बताउँछन्।
यी दुबै नदी र आसपासमा प्लास्टिकजन्य फोहोरको मात्रा बढ्दो क्रममा देखिन्छ। प्रदूषण लगायतका कारण जलपंक्षीको संख्या घट्दो क्रममा रहेको नेपाल पंक्षी विज्ञ संघका अध्यक्ष हठन चौधरीले बताए।
‘राप्ती नदीमा गिटी, ढुंगा उत्खननको समस्या पनि बढी देखियो। जब हिउँदे चरा आउने बेला हुन्छ, यहाँ उत्खनन् सुरू हुने गरेको छ। प्रायः चराको आहारा नदीका ढुंगा, बालुवामा पाइन्छ। तर त्यही उत्खनन् हुँदा असर परेको छ। नदीमा भेटिने प्लास्टिकजन्य फोहोर, त्यसमा हुने केमिकलको असर चराहरूमा पर्छ,’ चौधरी भन्छन्।
उनले मानव बस्ती नजिकै भएका केही ठाउँमा स्थानीयबासीको अग्रसरतामा सरसफाइ भएको पाइए पनि निकुञ्जको कोर क्षेत्रमा फोहोरको असर बढी देखिएको बताए।
‘होटलहरूले फोहोर सिधै नदीमा फाल्ने, स्थानीय तहले पूरै क्षेत्रको फोहोर नदी किनारमै थुपोर्ने गरेकाले प्रदूषण बढ्दो छ। निकुञ्ज क्षेत्रमा सरसफाइ नहुँदा धेरै प्लास्टिकजन्य फोहोर त्यतै देखिए,’ उनले भने।
रिउको माडी प्रवेश गर्ने पुलदेखि तल्लाको क्षेत्र चितवन निकुञ्जको कोर क्षेत्र हो। यो क्षेत्रमा चराको संख्या असाध्यै कम देखिएको चौधरी बताउँछन्। माडीको बस्ती आसपासबाट बग्ने नदीमा भन्दा निकुञ्जको कोर क्षेत्रमा फोहोरको मात्रा बढी देखिएको उनले बताए।
नदी लगायतका सिमसार क्षेत्रमा पानीको मात्रा घट्दा पनि कतिपय चराहरूको बासस्थान गुम्ने गरेको उनी बताउँछन्।
राप्ती नदीको केही क्षेत्रमा स्थानीय बासिन्दाको अग्रसरतामा बेला–बेलामा सरसफाइका गतिविधिहरू हुन्छन्। तर यो नदीको अन्य क्षेत्र र रिउको अधिकांश क्षेत्रमा प्लास्टिकजन्य फोहोर बढिरहेको नेचर गाइड एसोसिएसन मेघौली–घडगाईं उपसमितिका संयोजक मनेष लिम्बूले बताए।
नदीमा बगेर आएको फोहोरलाई बर्खाको समयमा बाढीले जंगलभित्र पुर्याउने गरेको छ। वन्यजन्तुको आहारामा फोहोर मिसिँदा समस्या बढ्दै गएको विभिन्न अध्ययनहरूले देखाएका छन्। केही समयअघि गरिएको एक अध्ययनले एक सिंगे गैंडाको गोबरमा प्लास्टिकको मात्रा बढेको देखाएको थियो। यस्तो असर अन्य वन्यजन्तु तथा चराहरूमा पनि परेको लिम्बू बताउँछन्।
भरतपुर महानगरपालिका, माडी नगरपालिका र चितवन निकुञ्ज क्षेत्रका सिमसार क्षेत्रको पंक्षी गणनाका संयोजक रहेका लिम्बूकाअनुसार रिउको बगही पोष्टदेखि राप्तीसँगको दोभानसम्म गरिएको गणनामा यसपालि ४५ प्रजातिका चराहरू देखिएका थिए। सोक्रममा १ हजार ११६ वटा जलपंक्षी रेकर्ड भएको उनले बताए।
निकुञ्ज र माडी नगरपालिकासँग जोडिएको रिउमा विगतका गणनामा नदेखिएका डन्लिन (ठूलो जलरंक), ग्रेटर पेन्टेड स्निप (चित्रांगद), नर्देन ल्यापविङ(जुरे हुटिट्याउँ) यसपालि देखिएको थियो। ठूलो जलरंक एउटा, चित्रांगद दुइटा र जुरे हुटिट्याउँ एउटा रेकर्ड भएका थिए। यी सबै रिउको माडीतर्फ जाने पुलदखि रतनीसम्मको क्षेत्रमा भेटिएका थिए।
राप्तीमा ४८ प्रजातिका चरा भेटिँदा पनि यी तीन प्रजाति देखिएका थिएनन्। राप्तीमा जुरे हुटिट्याउँ सन् २०१३ को जलपंक्षी गणनामा रेकर्ड भएको थियो। चित्रांगद यसपालि पूर्वी चितवन क्षेत्रमा पनि रेकर्ड भएको थियो।
ठूलो जलरंक र जुरे हुटिट्याउँ हिउँदको समयमा बसाइ सरेर आउने प्रजाति हुन्। यी चरा नेपालका लागि दुर्लभ हुन्। तराईका विभिन्न क्षेत्रमा फाट्टफुट्टमात्रै देखिने गरेको चरा विज्ञ चौधरीले बताए।
‘विश्वव्यापी तथ्यांकका आधारमा त यी चरालाई दुर्लभ भन्न मिल्दैन। नेपालमा कहिलेकाहीँ, कता कतैमात्रै भेटिन्छन्,’ उनी भन्छन्, ‘खोजेको बेलामा देख्न गाह्रो भएको पनि हुनसक्छ।’
चित्रांगद झाडी र दलदलमा बस्ने चरा हो। यो ढुंगे बगरमा सितिमिति देखिँदैन। झाडीमा बस्ने भएकाले यसलाई देख्न गाह्रो हुन्छ। यो रैथाने पानीचरा हो।
पंक्षी गणनाका क्रममा रिउमा चखेवा चखेवी २१२ वटा, गडवाल ३ वटा, गुजेण्डर ८७ वटा, ग्रेट कर्मरेन्ट ८९, लिटिल कर्मरेन्ट १४, रिभर ल्यापविङ ७४ वटा, रेड–वेटलेड ल्यापविङ ६५, लिटिल रिङ्ड ल्पोभर ४१, ह्वाइट–ब्रोड वागटेल ६३ वटा देखिएका थिए।
चौधरीले नदीमा माछा मार्नेक्रम घटेको तर नदीजन्य पदार्थको उत्खनन्, चोरी सिकारी, प्रदूषण बढ्दा सिमसार क्षेत्रमा आश्रित प्राणीलाई असर परिरहेको बताए।
माडी नगरपालिकाका उपमेयर खेमप्रसाद महतोले आगामी दिनमा नदी सरसफाइमा ध्यान दिने बताए। उनले आगामी वर्षदेखि चरा संरक्षण कार्यक्रमलाई नियमित बजेटमै राख्नेगरी पहल गर्ने बताए।
‘हाम्रो क्षेत्रमा विदेशबाट चराहरू बसाइँ सरेर आउने रहेछन्। यो कुरा हामीलाई पनि राम्ररी थाहा थिएन। अब हामी यहाँका बासिन्दालाई चराको महत्वबारे बुझाउँछौं। यसमार्फत् पर्यटकलाई आकर्षित गर्ने गतिविधि गर्न प्रोत्साहन गर्छौं,’ उनले भने।
माडी नगरपालिकाको वडा नम्बर १ का वडाध्यक्ष अमित लामाले स्थानीयलाई माछा मार्न निरूत्साहित गरेर सरसफाइ तथा पर्यटकीय गतिविधिमा लाग्न प्रोत्साहन गर्ने बताए।