धादिङको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। उक्त भिडिओ केही दिनअघि सम्पन्न राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा प्रस्तुत सामूहिक नृत्यको हो।
फेसबुक लगायत सामाजिक सञ्जालमा लाखौंले हेरिसकेको उक्त नृत्यको आखिरीमा यस्तो दृश्य देखिन्छ —
नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी लगाएका एक युवक ब्याट बोकेर मैदान छिर्छन्। उनी आफ्नो कुशल प्रदर्शनीबाट खेल जित्छन् र ट्रफी उठाउँछन्। विभिन्न व्यक्तिबाट उनको सम्मान गरिन्छ। आखिरीमा उनलाई प्रहरीले हतकडी लगाएर लैजान्छ।
नृत्य यतिमै सकिन्न।
राष्ट्रिय टिमका खेलाडी पक्राउ परेपछि विद्यार्थीहरू विरोधस्वरूप तीनवटा प्लाकार्ड प्रदर्शन गर्छन्। तीमध्ये एउटामा 'हाम्रो देशको न्यायमा किन खिया लागेको?' लेखिएको छ भने अर्कोमा 'खेलाडी देशका गहना हुन्' र 'पुरूष मात्र गलत हुँदैनन्' भनिएको छ।
यसरी स्थानीय स्कुलका विद्यार्थीले प्रदर्शन गरेको उक्त नृत्यले बलात्कार मुद्दामा दोषी ठहरिएका पूर्वक्रिकेटर सन्दीप लामिछानेको कथावस्तु देखाएको छ। उनी निर्दोष भएको सन्देश पनि दिन खोजिएको छ।
नृत्यमा सन्दीप लामिछानेको नाम किटान नगरिए पनि त्यसको भावले सन्दीपलाई नै संकेत गर्न खोजेको प्रस्टै बुझिन्छ।
बलात्कार मुद्दामा दोषी ठहरिएका व्यक्तिलाई उन्मुक्ति दिन वकालत गरिएको यस्तो दृश्यले कानुनी र सामाजिक रूपमा गलत सन्देश प्रवाह गरेको भन्दै सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेका छन्।
विद्यार्थीहरूलाई बलात्कार र यौनहिंसा के हो भनेर सिकाउनुपर्नेमा उल्टै बलात्कारी ठहर भएका व्यक्तिको पक्षमा बोल्न लगाइएको छ। बलात्कारबारे सचेत गराउनुको सट्टा 'बलात्कारीलाई सम्मान गर्नुपर्छ' भन्ने आशयको सन्देश दिन प्लाकार्ड बोकाइएको छ।
आफूविरूद्ध यौनहिंसा भए आवाज उठाउनुपर्छ भनेर सिकाउनुपर्नेमा 'पुरूष मात्र गलत हुँदैन' भन्ने नारा किशोरी विद्यार्थीहरूबाटै लगाइएको छ।
यति मात्र होइन, 'न्यायमा किन खिया लागेको' भन्दै बलात्कारीलाई जेल सजाय तोकेको न्यायालयमाथि नै प्रश्न उठाइएको छ।
पछिल्लो समय बालिकादेखि किशोरी विद्यार्थीहरूसमेत शिक्षकबाट यौन दुर्व्यवहारमा परेका घटना सार्वजनिक भइरहेका छन्। यस्तो घटनाविरूद्ध सचेतना जगाउन स्कुलहरूले सानो कक्षाबाटै बालबालिकाहरूलाई यौन दुर्व्यवहारबारे पढाउनुपर्ने र सचेत गराउनुपर्नेमा नीलकण्ठ माविले भने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामै बलात्कारको पक्षपोषण हुने खालको सन्देश दिने नृत्य प्रस्तुत गरेको छ।
माघ १४ को उक्त कार्यक्रममा बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मुक्तान प्रमुख अतिथि थिइन्। समारोहमा प्रदेशका सांसद र जिल्लाका जनप्रतिनिधिहरूको उपस्थिति थियो।
नृत्य कार्यक्रम स्थानीय नीलकण्ठ माध्यामिक विद्यालयले प्रदर्शन गरेको हो।
हामीले यसबारे विद्यालयका प्रिन्सिपल ध्रुवराज अधिकारीसँग कुरा गरेका थियौं। उनले राष्ट्रपति रनिङ सिल्डमा नीलकण्ठ माविले उक्त नृत्य प्रस्तुत गरेको पुष्टि गरे।
नृत्यमा आपत्तिजनक सन्देश नभएको दाबी गर्दै उनले खेलकुदसम्बन्धी कार्यक्रम भएकाले खेलाडीको सम्मान हुनुपर्छ भन्ने सन्देश मात्र दिन खोजेको बताए।
'हामीले खेलाडीको सम्मान हुनुपर्छ भन्ने सन्देश दिन खोजेका हौं। सन्दीप लामिछानेलाई नै भनेर इंगित गरेका छैनौं,' उनले भने, 'खेलकुद कार्यक्रम भएकाले नृत्यमार्फत् खेलाडीको विषय उठाउन खोजिएको हो।'
उनले आफ्नो स्कुलमा पनि बलात्कार र यौनहिंसाबारे विद्यार्थीहरूलाई पढाउँदै आएको दाबी गरे।
उक्त नृत्य नीलकण्ठ माविकै नृत्य प्रशिक्षक पूजा खानले संयोजन गरेकी थिइन्। यो नृत्यमार्फत् अपराध गरे कसैले छुट पाउन सक्दैन भन्ने सन्देश दिन खोजेको, तर बुझ्नेले गलत बुझेको उनले बताइन्।
'यसमा दुइटा कथा छ। एउटा आन्दोलनको विषय र अर्को खेलाडीको। कानुन र न्यायले लोकप्रिय मान्छेलाई पनि अपराध गरे छाड्दैन भन्ने सन्देश दिने गरी बनाएकी थिएँ,' उनले भनिन्।
नृत्यमा सन्दीप लामिछानेको विषय जोड्न नखोजेको उनले बताएकी छन्। तर नृत्यमा प्रयोग गरिएको साउन्ड इफेक्टमा सन्दीप लामिछानेको नामै लिएर क्रिकेट कमेन्ट्री बजाइएको सुनिन्छ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङले भने आफू राष्ट्रपति रनिङ सिल्डको व्यवस्थापनमा खटिनुपरेकाले नृत्यको विषयवस्तुमा ध्यान दिन नपाएको बताए। भिडिओ भाइरल भएपछि मात्र आफ्नो ध्यान त्यसतर्फ गएको उनको भनाइ छ।
'नीलकण्ठ मावि जिल्लाकै पहिलो नमूना विद्यालय हो। विद्यालयको नृत्य भनेपछि राम्रो र सकारात्मक सन्देशमूलक हुन्छ भन्ने विश्वास हुन्छ। त्यस कारण कस्तो किसिमको हो भनेर सोधेको थिइनँ,' उनले भने।
हामीले नीलकण्ठ नगरपालिका मेयर भीमप्रसाद ढुंगानासँग कुरा गर्दा उनले आफू जिल्लाबाहिर रहेकाले त्यसबारे थाहा नभएको बताए।
'म हिजो मात्रै धादिङ आएँ, त्यसबारे के भएको रहेछ बुझ्छु,' उनले भने।
नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रकाश भट्टले पनि उक्त नृत्यबारे जानकार नभएको बताए।
'अब बुझ्छु,' उनले भने, 'त्यसबारे हामी नगरपालिकामा छलफल गर्छौं।'