विशेष अदालतले घुस रकमसहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन उपसचिव प्रमोद नेपाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले आज उक्त प्रकरणमा रंगेहात पक्राउ परेका नेपाललाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको हो।
अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार इजलासले नेपाललाई एक वर्ष कैद सजाय र ६ लाख रूपैयाँ जरिवाना हुने फैसला सुनाएको हो।
नेपालसँगै प्रतिवादी बनाइएका बिबी एयरवेजका तत्कालीन कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठले भने सफाइ पाएका छन्।
बिबी एयरवेजको इजाजतपत्र नवीकरणका लागि नेपालले १६ लाख रूपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धानको ठहर थियो। बिबी एयरवेजका कार्यकारी अधिकृत श्रेष्ठले भने नेपाललाई घुस नभई सापटी दिएको बयान दिएका थिए।
उपसचिव नेपाल २०७९ साउन १७ गते नागपोखरीस्थित होटलको परिसरबाट साढे २२ लाख रूपैयाँ घुस रकमसहित पक्राउ परेका थिए।