ललितपुर जिल्ला अदालतले सोमबार एक सेवाग्राहीलाई अदालतको गेटबाहिर पाइन्ट फुकाल्न लगाएको छ। अंश मुद्दाका लागि अदालत पुगेका धरानका अनिश श्रेष्ठले भित्र ट्राउजर र बाहिर थोरै ग्रन्च भएको जिन्स पाइन्ट लगाएका थिए।
अदालतको गेटमा खटिएका सुरक्षाकर्मीले च्यातिएको पाइन्ट लगाएर भित्र जान नपाइने भन्दै उनलाई रोके।
सुरक्षाकर्मीले अनिशलाई रोकेपछि उनका वकिल अधिवक्ता दिनेशराज सत्यालले भित्र गएर स्रेस्तेदार दुर्गाप्रसाद भट्टराई समक्ष गुनासो सुनाए।
आफ्ना सेवाग्राहीलाई ग्रन्च पाइन्ट लगाएका कारण प्रहरीले रोकेकोले भित्र आउन अनुमति दिन आग्रह गरे।
तर भट्टराईले उनको आग्रह सुनेनन्। उल्टै कपडा फेरेर आउन भने।
'... उनले(भट्टराईले) घर गएर कपडा चेन्ज गरेर आउन सल्लाह दिए। मैले भनेँ, 'श्रीमान घर धरान हो, घर गएर अर्को कपडा लगाएर आउन त सम्भव नै छैन,' सत्यालले फेसबुकमा लेखेका छन्, 'उनले अपमान गर्दै भने- 'तपाईं नेपाली पोशाक यति राम्रो लगाएर आउनु भएको छ। उहाँले चै मर्यादित पोशाक लगाउनु पर्दैन? कपडा छैन भने के गर्ने। एकजोर मात्र लुगामा धरानदेखि काठमाडौं कोही आउँदैन।'
स्रेस्तेदार भट्टराईको यो जवाफ अपमानजनक रहेको वकिल सत्यालले बताएका छन्।
त्यसपछि सत्यालले अनिशलाई नयाँ पाइन्ट किन्नु भनेको उल्लेख गरेका छन्।
तर उनले आफूसँग पाइन्ट किन्न पुग्ने पैसा नभएको बताए।
सेतोपाटीले अनिशलाई पनि घटनाबारे सोधेको थियो।
धरानका लागि रात्रि बसमा चढिसकेका उनले भने, 'यो घटना आज दिउँसो भएको हो। मलाई 'ग्रन्च' पाइन्ट लगाएर भित्र छिर्न पाइँदैन भन्ने थाहा थिएन। मैले टेप लगाएर जान मिल्छ भनेर सोध्दा पनि हुँदैन भने।'
झण्डै दश मिनेटको बहसपछि आफूलाई पाइन्ट खोल्न लगाएर जाडो छल्न लगाइएको ट्राउजरमा मात्र भित्र छिर्न दिइएको अनिशले बताए।
'मेरो पाइन्ट अलिकति च्यातिएको ग्रन्च डिजाइनको थियो,' माथिबाट टेप टाल्दा हुँदैन भनेर सोधेको। हुँदैन भने। किन्ने अवस्था पनि थिएन,' अनिशले भने, 'भित्र थर्मकोटको ट्राउजर थियो। त्यही लगाएर भित्र गएँ। भित्र कागजहरू गर्नुपर्ने थियो। त्यही गरेँ।'
सेवाग्राहीलाई लुगा फुकाल्न लगाउने काम अदालतको मर्यादित काम हो त? भन्ने प्रश्न अधिवक्ता सत्यालले गरेका छन्।
'भित्री ट्राउजर लगाएर अदालत छिर्दा अमर्यादित पोशाक भएन। के यो सही हो?,' अधिवक्ता सत्यालले फेसबुकमा लेखेका छन्, 'हामी, हाम्रो अदालत मर्यादित भएको हेर्न चाहन्छौं। हाम्रा तर्फबाट अदालतको मर्यादामा आँच आउन पनि दिँदैनौं। अदालत मर्यादित संस्था हो, मर्यादित रहनुपर्छ।'
सेतोपाटीले घटनाबारे बुझ्न सेस्त्रेदार भट्टराईलाई टेलिफोन सम्पर्क गरे पनि उनले जवाफ दिएनन्।
ललितपुर जिल्ला अदालतका प्रवक्ता राम सजिवन महतोले भने च्यातिएको पाइन्ट, वान पिस ड्रेस लगाएर भित्र छिर्न नदिने गरिएको बताए।
'कानुन त छैन', महतोले भने, 'सामान्य हिसाबले मर्यादित तरिकाले अदालत भित्र प्रवेश होस् भन्ने हो।'
सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले पनि अदालतमा आउँदा मर्यादित पोसाक लगाउनुपर्ने चलन भएको बताए।
'अदालतको आफ्नै डेकोरम हुन्छ। संसारभरीका अदालतमा हुन्छ यस्तो नियम। यस्तो नियम कानुनमा नलेखे पनि अदालतमा आउँदा मर्यादित पोसाक लगाउनुपर्छ भन्ने चलन हाम्रो अदालतमा पनि मानिँदै आएको कुरा हो,' उनले भने।
सेवाग्राहीलाई गेटबाहिर लुगा फुकाल्न लगाउनु अदालतको 'मर्यादित' काम हो त? भन्ने सेतोपाटीको प्रश्नमा उनले भने, 'अदालतका कर्मचारीले डेकोरम कायम गराउनु एउटा कुरा हो। अदालत बाहिर प्रहरीले लुगा फुकाल्न लगाउनु त कमजोरी हो।'