ध्वजा, पतकाले चिटिक्क बनाइएको सौराहाको सडकमा शृंगारिएका दुई वटा हात्तीहरू लमक-लमक अघि बढिरहेका थिए। हात्तीको पछाडि हिँड्दै नौमती बाजा बजाइरहेका युवतीहरूले धेरैको ध्यान तानिरहेका थिए।
२० देखि २५ वर्ष उमेरका युवतीहरू गाउँघरमा नौमती बाजा बजाउने अनुभवी समूहभन्दा कम थिएनन्। बरू उनीहरूमा थप जोश देखिन्थ्यो।
उनीहरू चितवने होइनन्। तर चितवनका सबै झाँकीहरूभन्दा अगाडि थिए। उनीहरूको क्षमतालाई सम्मान गरेर फुड फेस्टिबलको आयोजकले त्यो स्थान दिएको थियो सायद।
उनीहरूलाई सिन्धुलीबाट यहाँ बोलाइएको थियो। कलाघर सिन्धुलीका युवतीहरूको यो समूहलाई अचेल मेला, महोत्सव, सभा, सम्मेलनहरूमा पुग्न भ्याइनभ्याई छ।
कलाघरका संस्थापक सुमन थापा मगर यो समूहको कार्यक्रम व्यवस्थापन गर्छन्।
सिन्धुलीगढी नजिकै छ कलाघर सिन्धुली। यहाँ पाँच रोपनी क्षेत्रफलमा नेपाल चिनाउने नमूना संग्रहालय बनिरहेको छ। देशलाई प्रतिनिधित्व गर्ने विभिन्न स्थान, कला, संस्कृति, परम्परागत सामग्रीलाई विभिन्न रूपमा प्रस्तुत गरिँदैछ। साथै कलाघरमार्फत् नेपाली मौलिक गीत, संगीत, जातजातिका संस्कृति, वेशभूषा, बाजाहरूको संरक्षण तथा प्रवर्द्धन गरिँदैछ। सडक तथा गीति नाटकमार्फत् समसामयिक विषयमा समाजमा सचेतना फैलाउन पनि कलाघरले काम गरिरहेको छ। यसका परिकल्पनाकार सुमन नै हुन्।
‘नेपाल आक्रमण गर्न आएका अंग्रेजलाई भगाएको ठाउँ हो सिन्धुलीगढी। यहीँ नजिकै रहेको संग्रहालयमार्फत् हामी नेपाल चिनाउन चाहन्छौं,’ उनले भने, ‘यसका लागि मेरो नेतृत्वमा युवाहरूको ठूलो समूह लागेको छ।’
सुमनका अनुसार पहिले कलाघरका प्रायः कलाकार पुरूष थिए। पछि महिलाहरूले पनि यसमा चासो बढाउँदै गए। जब उनीहरू यसमा पोक्त हुन थाले पुरूषकोभन्दा बढी माग हुन थाल्यो।
‘कलाघरमा सिकेका सीप हामीले देशका सबैजसो जिल्ला र विभिन्न देशहरूमा पुगेर प्रदर्शन गरेका छौं,’ ६ वर्षदेखि कलाघरमा आबद्ध कमलामाई–२ तारुखोलाकी रिता थिङले भनिन्, ‘हामीले नेपाली मौलिक कला, संस्कृतिको संरक्षणमात्रै गरेका छैनौं, विदेशीलाई पनि देखाइरहेका छौं।’
उनी नौमती बाजामा ट्याम्को बजाउँछिन्। आइपर्दा सनाई पनि बजाउँछिन्। कौडा, मारुनी, हुर्रा, तामाङ सेलो, लाखे नाचमा पनि उनी पोक्त भइसकेकी छन्। अहिले चितवनको थारू नाच पनि सिकिरहेकी छन्।
‘यहाँबाट नौमती बाजाका लागि बोलाउनुभयो। अन्यत्रबाट विभिन्न कला, संस्कृति प्रदर्शन गर्न भनेर बोलाउनुहुन्छ। जेका लागि बोलाए पनि प्रदर्शन गर्न सक्ने हुँदैछौं,’ उनले भनिन्, ‘थारूका विभिन्न नाचहरू अहिले सिकिरहेका छौं। बिस्तारै अन्य जातजातिका पनि सिक्छौं।’
सो समूहले अहिले १२ जातिका नाच र झाँकी प्रदर्शन गर्ने गरेको छ।
‘विभिन्न कार्यक्रमहरूमा पुगेर प्रदर्शन गरेबापत भएको आम्दानी संग्रहालय निर्माणमा प्रयोग गर्ने गरेका छौं। आफूलाई चाहिने अतिआवश्यक खर्चको जोहो पनि यही आम्दानीबाट हुन्छ,’ उनले भनिन्, ‘हामी साँस्कृतिक अभियानमा लागेका छौं। कलाघरलाई साँस्कृतिक पाठशाला र उत्कृष्ट संग्रहालय बनाउने लक्ष्य छ। हराउँदै गएको सद्भाव, हराएका संस्कृति, बाजाको जगेर्ना गर्ने र देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने हाम्रो उद्देश्य हो।’
उनकाअनुसार महिलालाई घर बाहिर निस्किएपछि नराम्रो मान्ने चलन समाजमा अझै पनि छ। कला क्षेत्रमा लागेका लागि अझै पनि नराम्रो नजरले हेर्ने चलन छ।
‘हाम्रो अभियान समाजको यो प्रवृत्तिविरूद्ध साइलेन्स स्ल्याब हो। हामीले चाह्यौं भने जे सुकै काम गर्न सक्छौं भनेर समाजलाई देखाउन पनि खोजेका हौं,’ रिता भन्छिन्, ‘हाम्रो कार्यमा अहिले परिवार, आफन्तले पनि सहयोग गरेका छन्।’
कमलामाई नगरपालिका–११ ठूलोतेर्सेकी सृजना गोले तामाङ सन् २०२३ मा भएको मिस तामाङ ब्युटी कन्टेस्टमा सेकेण्ड रनर अप भएकी थिइन्। उनी कलाघर सिन्धुलीको नौमती बाजा समूहमा कर्नाल फुक्छिन्। समाजशास्त्रमा स्नातक तह उत्तीर्ण उनी पढाइसँगै कलाघरमा आबद्ध छिन्।
‘समय मिलाएर पढ्छु। परीक्षा दिन्छु। तर धेरै समय मैले कलाघरका लागि दिएकी छु,’ उनले भनिन्, ‘अहिलेका लागि हाम्रो अभियान भनेकै संग्रहालय निर्माण गर्ने हो।’
कलाघरका अध्यक्ष सुमन थापा मगरले समूहलाई एकै ठाउँमा राखेर नियमित अभ्यास गर्ने व्यवस्था मिलाएको बताए।
‘गरेको जस्तोमात्रै गरेर त सिकिँदैन। त्यसैले हामीले यही क्षेत्रलाई भविष्य बनाउन चाहने युवाहरूलाई नियमित सिकाइरहेका छौं,’ उनले भने, ‘कला संस्कृतिमा पनि युवाको भविष्य छ भन्ने देखाउन चाहन्छौं। मैले अहिले अरु विकल्प सोचेकै छैन। यहीमात्रै सोचेको भएर राम्रै भएको छ।’
उनी अहिले नेपाली विषयमा स्नातकोत्तर गर्दैछन्। समूहमा आबद्ध कोही प्लस टू, कोही स्नातक तह पढ्दैछन्।
‘हामीले लिएको शिक्षा प्रयोगमा आउनुपर्छ। तर अहिले घोकाउने विधि बढी प्रयोग भइरहेको छ, योभन्दा आफू लागेकै क्षेत्रको अध्ययन गर्न पाए प्रगति अझै बढी हुन्छ। त्यसैले हामी औपचारिक रूपमा क्याम्पस जान छाडेका छौं,’ स्नातक तहमा अध्ययनरत रिता भन्छिन्, ‘शैक्षिक योग्यता पनि चाहिन्छ भनेर स्वअध्ययन गरेर परीक्षा दिन्छौं। कोही साथी ललितकला क्याम्पसमा भर्ना हुनुभएको छ।’