अजित मिजारको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ।
सोमबार दिउँसो माइतीघर मण्डलमा केहीले प्रदर्शन गरेका हुन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको निषेधित क्षेत्र तोडेर प्रदर्शन भएको हो।
नेपाल राष्ट्रिय दलित केन्द्र नेपाल, एकीकृत दलित मुक्ति मोर्चा नेपाल, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल, संयुक्त दलित अधिकार मञ्च नेपालले संयुक्त रूपमा प्रदर्शन गरेका हुन्।
निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ।
कम्तीमा पनि १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
घटना के हो?
२०७३ साल असार २५ गते विवाह गरी काभ्रे ज्याम्दीकी कल्पना पराजुलीलाई अजितले घरमा ल्याएका थिए। अन्तरजातीय विवाह भएको भन्दै पराजुलीको परिवारले दबाब दिएपछि केटी पक्षले प्रहरीको सहयोगमा असार २७ गते केटीलाई फर्काएको थियो।
२९ गते दिउँसोतिर रिचार्ज लिन निस्केका अजित कहिले फर्किएनन्। उनी बेपत्ता भएको एकदिनपछि धादिङको गजुरी फुर्के खोलाको प्रतीक्षालयमा झुण्डिएको अवस्थामा तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो।
त्यसपश्चात परिवारको सदस्य धादिङ पुग्दा उनको शव गाडिसकिएको थियो। एक दुई दिन पनि नपर्खिकन परिवारको खोजतलास नगरी शव गाडिनु नै शंकास्पद भएको भन्दै मिजारको परिवारले हत्या गरेको आरोपमा मुद्दा दर्ता गराएको थियो।
जिल्ला अदालत धादिङ, उच्च अदालत ललितपुरले मिजारलाई न्याय दिलाउन नसकेपछि सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ।
सर्वोच्च अदालतले २०८० फागुन ८ गते पेशी तोकेको छ।
अन्तरजातीय प्रेमसम्बन्धका कारण अजितको हत्या गरिएको परिवारको दाबी छ। अजितको शव ८ वर्षदेखि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
तस्बिरहरू: