६० वर्षीया शारदा न्यौपानेले हार्मोनियमको धुन पहिलो पटक सुनेको टेलिभिजनमा हो। त्यो बेला उनलाई लाग्थ्यो- बाकसजस्तो भाँडोमा यताउता औंला नचाएर त्यति मीठो धुन निस्किने कसरी रहेछ?
भजन बज्न थालेपछि उनी पकाउँदा पकाउँदैको खाना छोडेर टिभीमा झुण्डिन्थिन्।
टिभीमात्र कहाँ हो र? गाउँघरमा हुने मेला महोत्सवमा उनलाई गीत गाउने र नाच्नेहरूमा भन्दा मञ्चको छेउमा बसेर बजाइरहने मान्छे र वाद्यवादन हेर्न मजा हुन्थ्यो।
हार्मोनियम बजाएको देख्दा उनलाई पनि बजाउने रहर जाग्थ्यो। सानो उमेरदेखि जागेको त्यो रहर उनले आफ्नो मनको कुनामा सजाएर मात्रै राखेकी थिइन्।
रूपन्देहीको तिलोत्तमा नगरपालिका- ६ बाह्र नम्बरकी शारदाले ६० वर्ष पुगेपछि आफूले मनभित्र सजाएर राखेको रहर फुकाउन पाइन्।
डेढ महिनादेखि उनले हार्मोनियम सिकिरहेकी छन्।
तिलोत्तमा ६ कै सीता चापागाईं भण्डारी कतै हार्मोनियम बज्यो कि त्यसैको धुनमा मन्त्रमुग्ध हुन्थिन्। बाटोमा हिँडिरहँदा हार्मोनियमको धुन सुने एकैछिन रोकिन्थिन्। एकछिन सुन्थिन् र अघि बढ्थिन्।
वाद्यवादनमा हार्मोनियम नै उनको सबभन्दा मनपर्ने बाजा थियो। नजिकबाट देखे पनि हार्मोनियम छुन कहिल्यै पाइनन्। ४२ वर्षको उमेरमा अहिले उनी हार्मोनियम सिकिरहेकी छन्।
तिलोत्तमा ६ गोरकट्टाकी लालु राना गाउँघरमा तीजका गीत र रत्यौलीमा मादल बजाउन अघि सर्थिन्। जति कस्सिए पनि सुर र ताल भने मिल्दैनथ्यो।
अहिले उनले सुर र ताल समातेर मादल बजाउन सक्ने भएकी छन्।
वाद्यवादन बजाउने चाहना भए पनि कहिल्यै सिक्ने अवसर नपाएका शारदा, सीता र लालुजस्तै तिलोत्तमा- ६ का महिलाहरू अहिले मादल र हार्मोनियम बजाउन सिकिरहेका छन्। तिलोत्तमा ६ ले वडाभित्र रहेका आमा समूहमा आबद्ध महिलाहरूलाई वाद्यवादन तालिम दिन सुरू गरेको छ। उनीहरू वडाले दिने त्यही तालिम लिन पाएर खुसी भएको बताउँछन्।
वडा कार्यालयले वडाभरीका २२ वटा आमा समूहका महिलाहरूलाई वाद्यवादन तालिम दिन २ लाख रूपैयाँ बजेट छुट्याएको छ। वडा सदस्य गीता गन्धर्वले आमा समूहको मागमा आधारित रहेर वाद्यवादन तालिम आयोजना गरिएको बताइन्।
‘बजेट बनाउँदा आमा समूहमा आबद्ध महिलाहरूको लागि सीपमूलक तालिम राखिएको थियो, कस्तो तालिम आवश्यक छ भनेर माग गर्न आह्वान गर्दा अधिकांश महिलाहरूले वाद्यवादन तालिमको माग गर्नुभयो। त्यसैको आधारमा हरेक समूहबाट सिफारिस गरिएका दुई दुई जनालाई तालिम दिइएको हो,’ वडा सदस्य गन्धर्वले भनिन्।
महिलाहरू भजनकीर्तन, तीज गीत र रत्यौली गाउन अग्रसर हुने गरे पनि मादल र हार्मोनियम बजाउन नजान्दा पुरूषहरूको भर पर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
‘मन्दिरमा भजन कीर्तन गाउँदा होस् वा तीज गीत र रत्यौलीमा होस् सबभन्दा धेरै मादल बजाउने व्यक्तिको अभाव खट्किने गर्थ्यो, महिलाहरू आफैंले बजाउन जान्ने भएपछि कसैको भर पर्नुपरेन,’ उनले भनिन्।
नेपाली संस्कृतिमा वाद्यवादनको प्रयोग धेरै हुने भएकाले तालिम फलदायी हुने उनीहरूको विश्वास छ।
कहिल्यै मादल र हार्मोनियम नसमाएका महिलाहरू तालिम सुरू भएपछि मादल र हार्मोनियम समाउने तरिका सिक्दै गीतमा बजाउन सक्ने भएका छन्।
यसैवर्ष तिलोत्तमा नगरपालिकाले तीज गीत प्रतियोगिता आयोजना गर्यो। प्रतियोगितामा गीत गाउने र नाच्ने सबै महिलाहरू थिए। मादल बजाउने सीप नहुँदा अधिकांश प्रतियोगी समूहले पुरूष खोजेर मादल बजाउन लैजानुपर्यो।
प्रतियोगितामा सहभागी लालु रानालाई त्यतिबेला मादल बजाउने सीपको अभाव खड्किएको थियो।
‘गाउँघरमा दिदिबहिनीहरू जम्मा भएर गीत गाउँदा अलिअलि त बजाउँथे तर, राम्रोसँग हात चल्दैनथ्यो, मादलका सूर र ताल पनि थाहा थिएन त्यो बेला मादल बजाउन सिक्नुपर्छ भन्ने लागेको थियो, अहिले सिक्ने मौका पाएकी छु,’ लालुले भनिन्।
वडा कार्यालयको दुई लाखको बजेटमा २२ वटा आमा समूहका ४४ जना महिलाहरूले मादल र हार्मोनियम बजाउन सिकिरहेका छन्। हरेक आमा समूहबाट एक जनालाई मादल र एक जनालाई हार्मोनियम तालिममा सहभागी बनाइएको वडा अध्यक्ष गणेश पाठकले बताए।
६० वर्षीया शारदा हार्मोनियम बजाउने सानैदेखिको रहरलाई वडा कार्यालयले पूरा गरिदिएकोमा खुसी छन्।
‘हार्मोनियम बजेको जहिलेदेखि देखे त्यतिबेलादेखि नै एकपटक बजाउन पाए कस्तो हुन्थ्यो भन्ने लागेको थियो तर, कहिल्यै अवसर मिलेन। बुढेसकालमा भए पनि रहर मेट्दै छु,’ शारदाले भनिन्।
मठमन्दिरमा हुने भजनकीर्तनका लागि आफैंले सिक्न थालेको उनले बताइन्।
‘घरपरिवार र मठमन्दिरमा हुने भजन कीर्तनमा दुई चार वटा भजनमा धुन निकाल्न सक्ने भएँ भने त्यही मेरो लागि ठूलो कुरा हुन्थ्यो,’ उनले भनिन्।
तालिम सुरू भएको डेढ महिनामै हार्मोनियमको आधारभूत कुराहरू स्वर र तालको अभ्यास सिकेर उनले भजनको धुनतिर लागेकी छन्।
‘कहिल्यै नछोएको भाँडो यो उमेरमा छोएर भए पनि सा रे ग म प ध नि सा सिकेर तीन वटा भजनका धुन निकाल्न सक्ने भएकी छु, उमेरमै सिक्न पाएको भए अलि छिटो टिप्न सक्थें होला। अरूको भन्दा ढिलो हात चलेको छ,’ उनले भनिन्, ‘गीत अनुसार हात चलाउनुपर्दो रहेछ, ढिलोलाई ढिलो र चाँडो गीतलाई चाँडोचाँडो बजाउनुपर्ने रहेछ।’
आध्यात्ममा राख्ने तिलोत्तमा ६ कुञ्जलापुरकी सरस्वती खरेल नियमित जस्तो मठमन्दिरमा भजन कीर्तन गाउन र नाच्न पुग्छिन्।
सानैदेखि हार्मोनियम बजाउने रहर पालेकी सरस्वतीलाई भजन कीर्तनमा सहयोग पुग्छ भनेपछि तालिम लिने प्रेरणा जाग्यो।
‘म त आध्यात्मिक क्षेत्र मनपर्ने मान्छे मठमन्दिरमा भजन कीर्तनमा रमाउने गर्छु, हार्मोनियमको धुनले दिमागलाई एकाग्र बनाउँछ। गीत संगीतले मनमा आनन्द दिन्छ। यसका त फाइदैफाइदा रहेछन्,’ सरस्वतीले भनिन्।
समृद्धि आमा समूहकी सदस्य सीता थापा वडाभरीका आमा समूहका महिलाहरूसँगै वाद्यवादन तालिम लिन पाउँदा सीपसँगै मनोरञ्जन समेत भइरहेको बताइन्।
रेवती घिमिरे मणिग्रामस्थित गीता मन्दिरमा साँझ बिहान बत्ती जलाउने र मन्दिर सरसफाइ गर्छिन्। हरेक एकादशी तथा विभिन्न चाडपर्वहरूमा मन्दिरमा भजनकीर्तन हुने गर्छ। मन्दिरमा भइरहने भजनकीर्तनमा नाचगान गर्ने रेवती मन्दिर परिसरमै वाद्यवादन तालिम सुरू भएपछि तालिममा सहभागी भएकी छन्।
‘म जस्तै दिदीबहिनीहरू मादल र हार्मोनियम बोकेर तालिममा आएको देखेपछि मलाई पनि सिक्न पाए हुन्थ्यो भन्ने रहर जाग्यो, साँझ बिहान मन्दिरको काम गरेर दिउँसो तालिममा बस्ने गरेकी छु,’ रेवतीले भनिन्।
मादल र हार्मोनियम बजाउन सिकाइरहेका संगीतकार सुरेश सेन्चुरी पाको उमेरका महिलाहरूमा वाद्यवादनप्रतिको मोह देख्दा खुसी लागेको बताउँछन्।
‘कतिपय त स्कुल समेत जान नपाएका दिदीबहिनी हुनुहुन्छ। डेढ महिनामै हार्मोनियमको बेसिक कुराहरू सिकेर तीनचार वटा भजन सिक्नु भनेको राम्रो कुरा हो,’ उनले भने।
मादल र हार्मोनियमको तीन महिनाको कोर्षमा भजनकीर्तन, तीज र रत्यौलीमा गीत गाउँदा अरूको भर पर्न नपर्ने गरी सिकाउने उनको लक्ष्य छ।
‘बालबालिकाहरूले सिकाएको अलि छिटो टिप्ने गर्छन्, पाको उमेरको लागि टिप्न अलि समय लाग्छ तर उहाँहरूले टिपेको बिर्सिनुहुँदैन। पाको उमेरका दिदीबहिनीहरूलाई सिकाउँदै जाँदा मलाई पनि ज्ञान बढिरहेको छ,’ सेन्चुरी भन्छन्।
बिनाताल र सुर मादल बजाउने लालुले मादलका ताल र सुरहरू चिन्दै आठ ताल र ६ तालको मादल बजाउन सिकिसकेको बताइन्।
‘पहिले त ताल र सुर के हो केही थाहा थिएन, अहिले ६ ताल र आठ तालमा बजाउन जान्ने भएँ, अबको केही दिनमै तीन तालको मादल बजाउन सिक्छु,’ उनले भनिन्।
तालिमले आधारभूत कुरा सिकेको उनले बताइन्।
‘नाच्न र गाउन त आउँथ्यो तर मादल बजाउन नजानेपछि, अधुरो हुँदोरहेछ’ लालुले भनिन्।